नेभिगेशन
दृष्टिकोण

एआई युगमा मानवीय अस्तित्वको चुनौती

प्रविधिको विकासले मानव जीवनलाई सहज बनाउँदै आएको छ । तर कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासले अवसरसँगै अभूतपूर्व चुनौती पनि ल्याएको छ । एआई मानव इतिहासकै सबैभन्दा ठूलो परिवर्तनकारी प्रविधिमध्ये एक हो । यसले विश्वलाई अझ समतामूलक बनाउन सक्छ, तर सही नीति र तयारीको अभावमा धनी र गरिबबीचको खाडल अझ गहिरो बनाउने खतरा पनि छ ।
एआईले मानिसको काम छिटो र प्रभावकारी रूपमा गर्न सक्छ भन्नेमा मात्र सीमित छैन । यसले मानिसको बौद्धिक क्षमतालाई समेत उछिन्न सक्ने भएकाले रोजगारी, शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, सामाजिक सम्बन्ध र मानवीय अस्तित्वबारे अहिलेसम्मका धारणामा पुनर्विचार गर्नुपर्ने देखिन्छ । एआईबाट हुने परिवर्तनलाई व्यवस्थापन गर्न विश्वले समयमै योजना बनाउन नसके यसको लाभ सीमित समूहमा केन्द्रित हुने र ठूलो जनसंख्या आर्थिक तथा सामाजिक संकटमा पर्ने सम्भावना छ ।

रोजगारीमा व्यापक परिवर्तन
एआई युगको सबैभन्दा ठूलो चुनौती रोजगारी हुनेछ । विगतका प्रविधिगत परिवर्तनले केही पेसा विस्थापित गरे पनि नयाँ काम सिर्जना गर्दै आएका थिए । कृषिमा निर्भर जनशक्ति क्रमशः उद्योग र कार्यालयका काममा प्रवेश गरेको उदाहरण त्यसको एउटा दृष्टान्त हो । तर यसपटकको परिवर्तन फरक छ । एआईले शारीरिक श्रम मात्र होइन, मानिसको ज्ञान, तर्क र निर्णय क्षमतामा निर्भर कामसमेत गर्न सक्छ ।
बैंकको ऋण आवेदन मूल्याङ्कन, तथ्याङ्क विश्लेषण, ग्राहक सेवा, कानुनी कागजातको अध्ययन, सफ्टवेयर विकास र बिरामीको प्रारम्भिक परीक्षणजस्ता काम एआईको प्रभावमा पर्न सक्छन् । सुरुमा मध्यम र प्रवेश तहका कार्यालयीय रोजगारी बढी प्रभावित हुने देखिए पनि यसको असर क्रमशः अन्य क्षेत्रमा फैलिनेछ । रोबोटको विकाससँगै निर्माण र आतिथ्य सेवाजस्ता क्षेत्रमा शारीरिक श्रम गर्ने मानिससमेत विस्थापित हुन सक्छन् ।
कम्पनीहरूले एआई र रोबोट प्रयोग गरेर उत्पादन लागत घटाउन र प्रतिस्पर्धीभन्दा सस्तो सेवा दिन सक्नेछन् । त्यसपछि अन्य कम्पनीलाई पनि प्रविधि अपनाउन दबाब पर्नेछ । यसले एआई प्रयोगलाई अझ तीव्र बनाउनेछ । केही नयाँ रोजगारी सिर्जना भए पनि पुराना काम गुमाउने सबै मानिसले नयाँ सीप सिकेर अर्को काम पाउन सक्ने छैनन् । विशेषगरी युवाका लागि प्रवेश तहका अवसर घट्नु गम्भीर समस्या बन्न सक्छ ।
एआईले गल्ती नगर्ने गरी काम गर्न थालेपछि यसको प्रभाव अझ तीव्र हुनेछ । त्यसबेला कम्पनीहरूले प्रत्येक काममा मानिसको निगरानी आवश्यक नठान्न सक्छन् । रोजगारीले मानिसलाई आम्दानी मात्र दिँदैन, सामाजिक पहिचान, आत्मसम्मान र सम्बन्ध पनि दिन्छ । त्यसैले व्यापक बेरोजगारीको असर आर्थिक सीमाभन्दा बाहिर पुग्नेछ । मानिसलाई कामबाट विस्थापित भएपछि मात्र सहयोग खोज्नुको सट्टा त्यसअघि नै तयारी गर्नुपर्ने उनको जोड छ ।

सुरक्षा र मानवीय सम्बन्धमा जोखिम
एआईले दुर्भावनापूर्ण व्यक्तिको क्षमतासमेत बढाउन सक्छ । ठगी, गलत सूचना, नक्कली तस्बिर तथा आवाज निर्माण, साइबर आक्रमण र निगरानीलाई यसले सजिलो, सस्तो र प्रभावकारी बनाउन सक्छ । सामान्य प्राविधिक ज्ञान भएका व्यक्तिले समेत व्यक्ति, कम्पनी वा सरकारी निकायलाई लक्षित गर्न सक्ने जोखिम छ ।
अस्पताल, वित्तीय संस्था, खानेपानी प्रणाली, विद्युत् आपूर्ति र सरकारी सेवा प्रणालीमा हुने साइबर आक्रमणले लाखौँ मानिसको जीवन प्रभावित पार्न सक्छ । एआईले नयाँ औषधि र खोप विकासमा सहयोग पु¥याउने सम्भावना जति ठूलो छ, त्यति नै यसलाई घातक रोगको विकासमा दुरुपयोग गर्न सकिने चिन्ता पनि छ । स्वचालित हतियार र जनमतलाई प्रभावित पार्ने प्रविधिले सरकार तथा शक्तिशाली संस्थाको नियन्त्रण क्षमता बढाउन सक्छ ।
अर्को चिन्ता एआई आफैँको नियन्त्रणसँग सम्बन्धित छ । एआई प्रणालीले विकासकर्ताले नचाहेका काम गर्न थालेमा वा तिनको व्यवहार बुझ्न र नियन्त्रण गर्न कठिन भएमा त्यसले गम्भीर समस्या सिर्जना गर्न सक्छ ।
गेट्स बालबालिका र युवाको मानसिक तथा सामाजिक विकासमा पर्ने प्रभावबारे पनि चिन्तित छन् । एआई साथीले प्रयोगकर्तालाई सधैँ सहज लाग्ने गरी प्रतिक्रिया दिन सक्छ । उसले मानिसलाई असहज प्रश्न सोध्दैन, रिसाउँदैन र सधैँ उपलब्ध हुन्छ । यस्तो सम्बन्धमा अत्यधिक निर्भर हुँदा वास्तविक मानिससँग घुलमिल हुने, मतभेद सामना गर्ने र सामाजिक सीप विकास गर्ने अवसर घट्न सक्छ ।
एआई साथीको प्रयोग र सामाजिक सम्बन्धबीचको प्रभावबारे उपलब्ध अध्ययन अझै सीमित भए पनि सामाजिक सञ्जाल कमजोर भएका मानिसमा यस्तो प्रविधिप्रति निर्भरता बढ्न सक्ने संकेत देखिएको गेट्स उल्लेख गर्छन् । बालबालिकामा यसको प्रभाव अझ दीर्घकालीन हुन सक्छ । त्यसैगरी, पढाइमा एआईको अत्यधिक प्रयोगले आलोचनात्मक सोच कमजोर बनाउन सक्ने सम्भावना छ । गलत सूचना र नक्कली सामग्री बढिरहेको समयमा सत्य र असत्य छुट्याउने क्षमता झन् महŒवपूर्ण बनेको छ ।

स्वास्थ्य, कृषि र शिक्षामा सम्भावना
एआईका जोखिम गम्भीर भए पनि यसबाट प्राप्त हुन सक्ने लाभलाई बेवास्ता गर्न हुँदैन । वैज्ञानिक अनुसन्धानमा यसले ठूलो परिमाणको सूचना विश्लेषण गरेर नयाँ औषधि, क्यान्सर उपचार, स्वच्छ ऊर्जा र जलवायु परिवर्तनका समाधान खोज्न सहयोग गर्न सक्छ । यसले साना अनुसन्धान संस्था र कम्पनीलाई पनि कम लागतमा नयाँ खोज गर्ने अवसर दिन सक्छ ।
स्वास्थ्य क्षेत्रमा एआईले रोगको प्रारम्भिक पहिचान, परीक्षण नतिजाको व्याख्या र बिरामीको उपचार व्यवस्थापनमा सहयोग पु¥याउन सक्छ । विशेषज्ञ चिकित्सक तत्काल उपलब्ध नहुने अस्पतालमा यसले हृदयाघात वा मस्तिष्काघातजस्ता आपत्कालीन अवस्थाको पहिचानमा मद्दत गर्न सक्छ । प्राथमिक स्वास्थ्य सेवा दिने चिकित्सकलाई पनि सही निदान गर्न र बिरामीसँग निरन्तर सम्पर्कमा रहन यसले सहयोग पु¥याउन सक्छ ।
कम आय भएका देशमा कृषि क्षेत्रले एआईबाट ठूलो लाभ लिन सक्छ । धेरै किसानले भरपर्दो मौसम पूर्वानुमान, उपयुक्त बीउ छनोट, बाली तथा पशुमा लाग्ने रोग नियन्त्रण र माटोको सुधारबारे पर्याप्त जानकारी पाउँदैनन् । एआईमार्फत यस्तो सल्लाह सहज रूपमा उपलब्ध भएमा उत्पादन बढाउन र जलवायु परिवर्तनका चुनौती सामना गर्न सहयोग पुग्न सक्छ ।
शिक्षामा एआईले शिक्षकलाई विद्यार्थीको व्यक्तिगत आवश्यकता बुझ्न र कमजोर पक्ष पहिचान गर्न मद्दत गर्न सक्छ । तर विद्यार्थीलाई तयार उत्तर मात्र दिनेभन्दा आफैँ सोचेर समाधान निकाल्न प्रेरित गर्ने गरी यसको प्रयोग गर्नुपर्छ । सरकारी सेवामा जटिल आवेदन प्रक्रिया सरल बनाउने, मानसिक स्वास्थ्य सेवामा प्रारम्भिक सहयोग दिने र अपाङ्गता भएका व्यक्तिलाई बढी स्वतन्त्र जीवन बिताउन सघाउने सम्भावना पनि छ ।
यद्यपि, यी लाभ आफैँ सबै मानिससम्म पुग्दैनन् । त्यसका लागि सरकार, निजी क्षेत्र र परोपकारी संस्थाले विशेष प्रयास गर्नुपर्नेछ । कम आय भएका देशका मानिसले आफ्नै भाषामा एआई सेवा प्रयोग गर्न पाउने व्यवस्था पनि आवश्यक छ ।

समाधानका लागि तीन प्रस्ताव
एआईबाट हुने परिवर्तनलाई व्यवस्थित गर्न तीन प्रमुख उपाय देखिन्छ । पहिलो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नयाँ संस्थागत व्यवस्था निर्माण गर्नुपर्छ । एआईको प्रभाव रोजगारी, शिक्षा, स्वास्थ्य, सुरक्षा, ऊर्जा, निर्वाचन र वित्तीय प्रणालीसम्म फैलिने भएकाले कुनै एउटा सरकारी निकायले मात्र यसको व्यवस्थापन गर्न सक्दैन । विभिन्न क्षेत्रबीच समन्वय गर्ने राष्ट्रिय संयन्त्र र सीमापार जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय संस्था आवश्यक हुने उनको धारणा छ । यसका लागि अमेरिका र चीनजस्ता प्रमुख प्रविधि शक्तिबीच समेत सहकार्य हुनुपर्नेछ ।
दोस्रो, केही काम मानिसका लागि सुरक्षित राख्नुपर्छ । त्यसलाई ‘ह्युमन रिजभ्र्ड’ अर्थात् मानिसका लागि आरक्षित क्षेत्र भन्न सकिन्छ । वृद्धवृद्धाको हेरचाह, शिक्षण र मानसिक स्वास्थ्य सेवाजस्ता क्षेत्रमा मानवीय संवेदना, सम्बन्ध र विश्वासको भूमिका महŒवपूर्ण हुन्छ । कुनै काम प्राविधिक रूपमा एआईले गर्न सक्ने भए पनि त्यसलाई पूर्ण रूपमा मेसिनको जिम्मामा दिनु उपयुक्त नहुन सक्छ । रोजगारीमा पर्ने असर र सामाजिक आवश्यकताका आधारमा कुन काम मानिसले नै गर्ने भन्ने निर्णय सार्वजनिक छलफलबाट तय गरिनुपर्छ ।
तेस्रो, श्रम र पुँजीमा लाग्ने कर प्रणालीलाई पुनः सन्तुलित बनाउनुपर्छ । अहिले मानिसलाई रोजगारी दिँदा रोजगारदाताले श्रमसम्बन्धी कर तिर्नुपर्छ, तर रोबोट खरिद गर्दा त्यसको खर्च तत्काल कट्टा गर्न पाउने व्यवस्था हुन सक्छ । यसले मानिसको सट्टा मेसिन प्रयोग गर्न प्रोत्साहन दिन्छ । त्यसैले एआई र रोबोटको प्रयोगमा उपयुक्त कर लगाएर रोजगारी गुमाउनेलाई पुनः सीप विकास, आर्थिक सहायता र सामाजिक सुरक्षा उपलब्ध गराउन सकिन्छ । यस्तो करले औषधि र शिक्षाजस्ता क्षेत्रमा लाभदायक एआई प्रयोगलाई अनावश्यक रूपमा रोक्नु भने हुँदैन ।

परिवर्तनको नेतृत्व कसले गर्ने?
एआईको भविष्य निर्धारण गर्ने जिम्मेवारी प्रविधि कम्पनीहरूको मात्र होइन । निर्वाचित जनप्रतिनिधि, नीतिनिर्माता, शिक्षक, स्वास्थ्यकर्मी, श्रमिक, विद्यार्थी, अभिभावक, धार्मिक अगुवा र स्थानीय समुदायको सहभागितामा सार्वजनिक बहस र निर्णय हुनुपर्छ । एआई विकास गर्ने कम्पनीले आफ्नै प्रविधिबाट उत्पन्न सबै सामाजिक समस्याको समाधान गर्न सक्छन् भन्ने अपेक्षा गर्नु उचित हुँदैन ।
एआईका लाभ सबै मानिससम्म पु¥याउने र रोजगारी गुमाउने समुदायलाई सहयोग गर्ने विषयलाई सार्वजनिक नीतिको प्राथमिकतामा राख्नु निकै जरुरी छ । बेरोजगारी व्यापक भएपछि, समुदाय संकटमा परेपछि र प्रविधिप्रतिको जनविश्वास घटेपछि मात्र कदम चाल्नु ढिलो हुनेछ ।
एआईले संसारलाई बढी समतामूलक र समृद्ध बनाउन सक्छ, तर त्यसका लागि प्रविधिको विकाससँगै सामाजिक सुरक्षा, रोजगारी, शिक्षा र मानवीय सम्बन्ध जोगाउने व्यवस्था पनि विकसित हुनुपर्छ । एआईलाई रोक्ने वा अन्धाधुन्ध स्वीकार गर्नेभन्दा यसका जोखिम घटाउँदै लाभ सबैसम्म पु¥याउने योजना अहिले नै बनाउनुपर्छ । यो परिवर्तनको दिशा केही प्रविधि विज्ञ वा धनी राष्ट्रले मात्र निर्धारण गर्ने विषय होइन । यसको प्रभाव भोग्ने सबै मानिसको आवाज त्यसमा समेटिनुपर्छ ।
(अर्बपति गेट्स पछिल्लो समय समाजसेवामा लागिपरेका छन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्