नेभिगेशन
अर्थतन्त्र

'पूजामा चलाउने भन्दै बेचिने' खुल्ला घिउ भेटियो अखाद्य

काठमाडौं । चाडपर्वमा घिउको माग बढिरहेका बेला पूजाआजा र दीप प्रज्वलनका नाममा घिउजस्तै देखिने चिल्लो पदार्थ उत्पादन तथा बिक्री गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले कडाइ गरेको छ । 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘पूजा घिउ’ नाममा चिल्लो पदार्थ उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाउँदै गैरखाद्य प्रयोजनका सामग्रीलाई खाद्य वस्तुका रूपमा प्रस्तुत नगर्न निर्देशन दिएको छ । अर्कोतर्फ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका २७ वटा व्यावसायिक फर्ममा अनुगमन गरी तीन फर्मलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डा बालकुमारी शर्माका अनुसार पूजाआजा, होम, हवन वा दीप प्रज्वलनका लागि बनाइने चिल्लो पदार्थलाई खाद्य घिउ, वनस्पति घिउ वा बेकरी सर्टेनिङका रूपमा उत्पादन तथा बिक्री गर्न पाइने छैन । पूजाका लागि मात्र उत्पादन गरिने सामग्रीको प्याकेटको अग्रभागमा ठूलो अक्षरमा ‘खानको लागि होइन’ लेख्नुपर्ने र कालो रङको ठूलो क्रस चिह्न राख्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्ता सामग्रीमा उपभोक्तालाई भ्रममा पार्ने गरी ‘घिउ’, ‘वनस्पति घिउ’ वा ‘बेकरी सर्टेनिङ’ जस्ता शब्द प्रयोग गर्नसमेत रोक लगाइएको छ ।
विभागको निर्देशनपछि बजारमा खाद्य र गैरखाद्य प्रयोजनका चिल्लो पदार्थ छुट्याउने, गलत लेबलिङ रोक्ने र उपभोक्तालाई झुक्याएर बिक्री गर्ने प्रवृत्तिमाथि निगरानी बढाउनुपर्ने भएको छ । खाद्य घिउ, वनस्पति घिउ तथा बेकरी सर्टेनिङ उत्पादन गर्ने उद्योगले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमको आधिकारिक लेबल विवरण राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । निर्देशन उल्लंघन गरी गैरखाद्य पदार्थलाई खाद्य आपूर्ति शृँखलामा मिसाउने वा गलत लेबल लगाएर बिक्री गर्ने व्यवसायीमाथि कानुनी कारबाही गरिने विभागले जनाएको छ ।
घिउजस्तै देखिने चिल्लो पदार्थमाथि निगरानी
विभागले बजार अनुगमन तथा उपभोक्ताबाट प्राप्त उजुरीका आधारमा केही उत्पादन एकाइले परिष्कृत तेल, वनस्पति घिउ र बेकरी सर्टेनिङमा प्याराफिन तथा खनिज तेल मिसाएर बजारमा पठाउने गरेको विषय प्रति सजग हुँदै यस्ता पदार्थको रङ, बनावट, बास्ना र प्याकेजिङ खाद्य घिउसँग मिल्दोजुल्दो बनाइँदा उपभोक्ता झुक्किन सक्ने जोखिम हुने उल्लेख गरेको छ ।
सस्तो मूल्यमा उपलब्ध हुने यस्ता चिल्लो पदार्थलाई कतिपय उपभोक्ताले खाद्य घिउ ठानेर तरकारी पकाउन, रोटीमा लगाउन वा अन्य परिकार बनाउन प्रयोग गर्ने सम्भावना रहने बुझाइ विभागको छ । 
औद्योगिक प्रयोजनका लागि बनाइएका वा खाद्य प्रयोगका लागि स्वीकृति नपाएका पदार्थलाई खानामा मिसाउँदा गम्भीर खाद्य सुरक्षा समस्या हुने बताइएको छ । 
तीन फर्मलाई ५० हजार रुपैयाँ जरिवाना
खाद्य विभागको निर्देशनसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । विभागका अनुसार सोमबार काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न बजार, किराना पसल, सप्लायर्स, सुपरमार्केट तथा उद्योग गरी २७ वटा व्यावसायिक फर्ममा आकस्मिक अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीतका कैफियत भेटिएका तीन फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ ।
तारकेश्वर नगरपालिका–११, शेषमतिस्थित आराध्या मसला तथा किराना पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यसैगरी बुढानीलकण्ठ नगरपालिका–१०, शिवपुरीस्थित जोशी किराना स्टोरलाई २० हजार रुपैयाँ र शिवपुरी चोकस्थित सुदुर सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । तीनवटै फर्मबाट कुल ५० हजार रुपैयाँ राजस्व दाखिला गराइएको छ ।
अनुगमनका क्रममा ती फर्ममा बिलबिजक नराखिएको, मूल्यसूची नटाँसिएको तथा म्याद गुज्रिएका र लेबल स्पष्ट नभएका शङ्कास्पद वस्तु बिक्रीका लागि राखिएको पाइएको विभागले जनाएको छ । 
विभागले बिलबिजक नदिने वा मूल्यसूची नराख्ने अभ्यासले बजारमा पारदर्शिता कमजोर बनाउने उल्लेख गरेको छ । त्यस्तै, म्याद गुज्रिएका वस्तु बिक्रीमा राख्दा उपभोक्ताको स्वास्थ्यमा जोखिम पर्न सक्ने पनि उल्लेख गरिएको छ । 
तीन कम्पनीलाई कागजातसहित उपस्थित हुन निर्देशन
वाणिज्य विभागले व्यवसाय दर्ता, गुणस्तरसम्बन्धी प्रमाण तथा खरिदबिक्रीको अभिलेख व्यवस्थित नराखेको विषयमा तीन कम्पनीलाई आवश्यक कागजातसहित बबरमहलस्थित कार्यालयमा उपस्थित हुन लिखित निर्देशन दिएको छ ।
विभागका अनुसार काठमाडौँ महानगरपालिका–२, लाजिम्पाटस्थित कुशीलो प्रालि, काठमाडौँ महानगरपालिका–७, चाबहिलस्थित अस्केटचा तथा तारकेश्वर नगरपालिका–११, नेपालटारस्थित जय पशुपति काष्ठ तथा प्लाई उद्योग प्रा.लि.लाई कागजातसहित उपस्थित हुन भनिएको छ ।
ती कम्पनीले पेस गर्ने कागजातको अध्ययन तथा छानबिनपछि थप कारबाहीको निर्णय गरिने विभागले जनाएको छ। 

अनुगमन टोली भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ स्थित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरमा पनि पुगेको थियो। विभागले दैनिक उपभोग्य वस्तुको म्याद र लेबल चुस्त राख्न तथा उपभोक्तासम्बन्धी कानुन पूर्ण रूपमा पालना गर्न सामान्य निर्देशन दिएको जनाएको छ।
यसैगरी खड्का ग्यास डिपो, लमजुङ इलेक्ट्रोनिक्स, ए लेभल, परिवर्तन सेवा प्रालि, धौलागिरि खाद्य पसल, तारा खाद्य स्टोर्स, सापकोटा जनरल पसल, चण्डेश्वरी खाद्य स्टोर र जी.ट्रान्टी मार्ट प्रालिलगायत विभिन्न फर्ममा अनुगमन गरिएको थियो । शोभा सारी, आरोही फेसन, नारी फेसन, फेसन वेयर, रिभोलुसन क्याफे, श्रीहरि ट्रेडर्स, प्रिमिया फुड्स एडिटिभ्स, एएसटी प्रालि, मुक्ता एग्रो, अनमोल मसला उद्योग र अनुष्की ट्रेडिङलगायतलाई व्यावसायिक सुधारका लागि निर्देशन दिइएको विभागको विवरणमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्