नेभिगेशन
राजनीति

कांग्रेसमा विशेष पक्षधरको वर्चस्व

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट विशेष महाधिवेशन पक्षधरले धेरै मत पाएको देखिएको छ । चर्चित र विजेता अनुहारहरु अधिकांश विशेष पक्षधर छन् । मंगलबार आएको गणनाको नतिजाअनुसार सहमहामन्त्रीका लागि खुला दुई पदमा  रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । 
त्यस्तै, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा विजयी भएका छन् । खुलातर्फ निर्वाचित खतिवडाले २ हजार ९१९ मत प्राप्त गरेका छन् भने  शिवाकोटीले २ हजार १७२ मत प्राप्त गरेका छन् । खतिवडा ओखलढुंगा र शिवाकोटी दोलखाका हुन् । 
खुलातर्फका दुई सहमहामन्त्री पदका लागि ९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा डिल्लीराम सुवेदी १ हजार ८५१ मतसहित तेस्रो स्थानमा रहे । बागलुङका सुवेदी गण्डकी प्रदेशका सांसद हुन् । त्यस्तै, पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले १ हजार ३८२, राजीव ढुंगानाले १ हजार २४१, विकास कोइरालाले १ हजार १४९, अमृतकुमार अर्यालले १ हजार ३९, रमेश धमलाले ८२१ र विमल क्षेत्रीले २८२ मत प्राप्त गरेका थिए । 
त्यस्तै, प्रतिमा गौतम पनि लोकप्रिय मतसहित सहमहामन्त्री महिलातर्फ निर्वाचित भएकी छन् । विशेष महाधिवेशनको अगुवाइ गर्ने नेतामध्येकी गौतमले नानुमैयाँ बाँस्तोलालाई ३ हजार ५७२ मतान्तरले पराजित गरिन् । गौतमले ५ हजार ११६ मत प्राप्त गर्दा बाँस्तोलाले १ हजार ५४४ मत पाइन् । गौतम पूर्व सांसदसमेत हुन् । मंगलबार बेलुकासम्म सार्वजनिक मत परिणामअनुसार निर्वाचित हुनेमा गत वर्ष विशेष महाधिवेशनको पक्षमा उभिएकाहरु धेरै छन् ।  
सभापतिमा गगन थापा, उपसभापतिमा चन्द्र भण्डारी, विनोद चौधरी, महामन्त्रीमा प्रदीप पौडेल विशेष महाधिवेशन पक्षधर हुन् । विशेष पक्षधर विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुषाल उपसभापति महिलामा सर्वसम्मत भएका छन् । महामन्त्री निर्वाचित उदय शमशेर राणा पनि पूर्व सभापति शेरबहादुर देउवाको समूह छाडेर विशेष महाधिवेशनको पक्षमा उभिएका थिए । 
देउवा छाडेका शाही र खतिवडालाई सफलता
महाधिवेशनको प्रक्रिया शुरु भएपछि देउवाको साथ छाडेर गएका अधिकांश नेताहरु भने पदाधिकारीमा पराजित भएका छन् । महामन्त्री महिलातर्फ अन्तिम समयमा संस्थापनतिर लागेकी महालक्ष्मी उपाध्याय ‘डिना’ पराजित भइन् । उनलाई विशेष महाधिवेशन पक्षधर डिला संग्रौलाले पराजित गरिन् । उपसभापतिमा महाधिवेशनको प्रक्रिया शुरु भएपछि शेखर कोइराला समूह छाडेर गएका जीवन परियार, चन्द्रमोहन यादव पनि पराजित भए । उनीहरुलाई विशेष महाधिवेशन पक्षधर विनोद चौधरीले पराजित गरे । 
तर, देउवा समूह छाडेर महाधिवेशनमा गएका रामहरी खतिवडा र जीवनबहादुर शाहीलाई भने सफल भएका छन् । खतिवडा खुलातर्फ र शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्री निर्वाचित भएका हुन् । हालसम्म सार्वजनिक परिणामअनुसार विशेष महाधिवेशनमा सहभागी नभएका नेतामध्ये पदाधिकारीमा निर्वाचित हुने शाही र खतिवडा मात्रै हुन् । खतिवडा यसअघि सांसद थिए भने शाही कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत भइसकेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा शाही बद्री पाण्डेसँग पराजित भएका थिए । 
महिला केन्द्रीय सदस्य सदस्य १५ जनाका लागि भएको निर्वाचनको परिणाम पनि सार्वजनिक भएको छ । प्रतिनिधिसभामा कांग्रेस प्रमुख सचेतक रहेकी वासना थापाले सर्वाधिक मत ल्याउँदा सांसद उर्मिला थपलियाले थापापछिको लोकप्रिय मत पाएकी छन् ।  महिला खुलातर्फको १५ जनाका लागि ३६ उमेदवारबीच प्रतिस्पर्धा भएको थियो ।
कसले कति मत पाए ?     
१. वासना थापा – ५,१२३
२. उर्मिला थपलिया – ३,८७०
३. निमा गिरी – ३,८०६
४. कुसुमदेवी थापा – ३,२५०
५. धनाकुमारी खतिवडा – ३,२३१
६. विनिता खड्का – २,८६६
७. अनिता देवकोटा – २,८५३
८. लक्ष्मी पाण्डे – २,७००
९. सृजना अधिकारी – २,६५८
१०. मुना भुसाल – २,५१४
११. चिनी पोखरेल (चिनु) – २,४२०
१२. कल्पना तिवारी – २,३६३
१३. रिता थापा मगर – २,३०८
१४. गंगा दाहाल – २,२८८
१५. उमा दाहाल – २,२९५

विनितालाई दिइएन जितको प्रमाणपत्र 
महाधिवेशनमा मत मागिरहेकै बेला पक्राउ परे पनि महिला केन्द्रीय सदस्यतर्फ निर्वाचित भइन् विनिता खड्का । विशेष महाधिवेशनपछि केन्द्रीय सदस्य बनेकी उनले २ हजार ८ सय ६६ मत ल्याएकी छन् । 
इजरायल केयर गिभरमा पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेर उनी अदालतको आदेशपछि सोमबार रिहा भइसकेकी छन् । मंगलबार जितको नतिजा आए पनि खड्काको नाम पार्टीले निर्वाचित सूचीबाट हटाएको छ ।  सभापति गगन थापा निकट स्रोतका अनुसार उनीमाथिको अभियोगमा सफाइ नहुन्जेल विजयको प्रमाणपत्र दिइने छैन । 
अब प्रवासमा कांग्रेसका ७ केन्द्रीय सदस्य
कांग्रेसको १५औं महाधिवेशनबाट जनसम्पर्क समितितर्फका सातैजना केन्द्रीय सदस्यको परिणाम आएको छ ।  महिला दुई सिटमा सीता सापकोटा र चन्दा अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै, भारतबाट बालकृष्ण पाण्डे, युरोपबाट जितेन्द्रविक्रम शाही, एसिया तथा अमेरिकाबाट विद्याभूषण कार्की, मध्यपूर्वबाट पुरुषोत्तम खनाल र प्यासिफिक क्षेत्रबाट बलराम श्रेष्ठ निर्वाचित भएका छन् । क्षेत्रगत प्रतिनिधित्वतर्फ भारतबाट पाण्डे, कार्की एसिया तथा अमेरिकाबाट मध्यपूर्वबाट खनाल, प्यासिफिक क्षेत्रबाट श्रेष्ठ र युरोपबाट शाही निर्वाचित भएका हुन् । 
कांग्रेसले महाधिवेशनअघि विधान संशोधन गरेर पहिलोपटक जनसम्पर्क समितिबाट सात केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको थियो । यसअघि जनसम्पर्क समितिका प्रतिनिधिहरू महाधिवेशनमा मतदाताका रूपमा सहभागी हुँदै आएका थिए । नयाँ व्यवस्थासँगै उनीहरूको प्रतिनिधित्व पार्टीको केन्द्रीय कार्यसमितिमा पनि सुनिश्चित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्