नेभिगेशन
अर्थतन्त्र

दसैं आयो, ग्यास कहाँ हरायो ?

काठमाडौं । दसैंमा घरपरिवार भेला भएका छन् । पाहुनाको चहलपहल बढेको छ । तर, भान्सामा खाना पकाउने ग्यास छैन । भरिएको सिलिन्डर खोज्दै पसल र डिपो धाउनुपर्ने उपभोक्ताको बाध्यता छ । ग्यास उद्योगी पर्याप्त आयात र वितरण भइरहेको दाबी गर्छन् । वितरण केन्द्रहरुमा भने सिलिन्डर ग्यास पुग्दो संख्यामा आएकै छैन ।  
नेपाल आयल निगम पनि आपूर्ति सामान्य रहेको बताउँछ । तर, बजारमा उपभोक्ताले सहजै सिलिन्डर पाएका छैनन् । यसले दसैंको मुखमा खाना पकाउने ग्यासको वितरण व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । बाढीपहिरोले सडक अवरुद्ध हुँदा ढुवानी प्रभावित भएको सरकारी पक्षको भनाइ छ । चाडपर्वमा माग बढ्नु र उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भर्न खोज्नुले पनि समस्या बढाएको निगमको तर्क छ । उद्योगीहरू भने आयात सहज रहेको दाबी गर्छन् । तर उद्योगमा ग्यास रहेको भनिए पनि उपभोक्ताको भान्सासम्म किन पुग्न सकेन भन्ने प्रश्नको स्पष्ट जवाफ छैन ।
आपूर्ति व्यवस्थापनमा सरकार र निजी क्षेत्र दुवैले उपभोक्तालाई आश्वस्त पार्न सकेका छैनन् । ग्यास आयात गर्ने, उद्योगमा भण्डारण गर्ने र बजारमा वितरण गर्ने जिम्मेवारी विभिन्न निकायमा बाँडिएको छ । तर आपूर्ति शृंखलाको कुनै तहमा अवरोध आए त्यसलाई तत्काल समाधान गर्ने प्रभावकारी संयन्त्र देखिएन । परिणामतः ग्यास उपलब्ध रहेको दाबी र उपभोक्ताले भोगेको अभावबीच ठूलो अन्तर देखिएको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सामान्य अवस्थामा नेपालमा मासिक ४२ हजार मेट्रिक टन ग्यास आयात हुन्छ । तर, साउनमा ५७ हजार, भदौमा ५९ हजार र असोजमा ५५ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ । उनले सामान्य अवस्थाभन्दा १० देखि १५ प्रतिशत बढी ग्यास आयात भइरहेको दाबी गरेका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार भदौमा मात्रै काठमाडौं उपत्यकामा ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री वितरण भएको थियो । संघले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात सहज रहेको जनाएको छ । यी तथ्यांकले आयात र बिक्री नै पूर्ण रूपमा रोकिएको अवस्था देखाउँदैनन् । बजारमा अभाव किन देखियो भन्ने प्रश्न भने यथावत् छ ।
निगमका प्रवक्ता ठाकुरले नेपालमा बाढी आएपछि भारतमा समेत बाढीका कारण ग्यास ढुवानीमा समस्या भएको बताएका छन् । बाढीपहिरोले सडकमा क्षति पु¥याउँदा पेट्रोलियम पदार्थ ओसारपसारको समय बढेको थियो । तर ढुवानी प्रभावित हुने सम्भावना हुँदाहुँदै चाडपर्वको माग व्यवस्थापन गर्न वैकल्पिक योजना पर्याप्त बनाइएको देखिएन ।
ग्यास अभावको सन्देश फैलिँदा उपभोक्ताले घरमा दुईवटा भरिएका सिलिन्डर हुँदाहुँदै पनि थप सिलिन्डर भर्न जाने गरेको निगमको भनाइ छ । विक्रेताले ग्यास आउने निश्चित नरहेको बताउँदा उपभोक्तामा झन् त्रास बढेको ठाकुरले बताएका छन् । तर उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भर्न खोज्नु मात्रै अभावको कारण हो भन्न मिल्दैन । बजारमा ग्यास उपलब्ध गराउने र वितरण नियमित राख्ने जिम्मेवारी आपूर्तिसम्बद्ध निकायको पनि हो ।
सरकार र उद्योगीबीचको समन्वय कमजोर हुँदा समस्या थप जटिल बनेको देखिन्छ । ग्यासको आपूर्ति शृंखलामा आयातकर्ता, उद्योग, ढुवानीकर्ता र विक्रेता जोडिएका छन् । यी पक्षबीच वास्तविक मौज्दात, दैनिक माग र वितरणको अवस्थाबारे प्रभावकारी समन्वय हुन नसकेर उपभोक्ताले अभावको सामना गर्नुपरेको छ । 
अभाव समाधान गर्ने भन्दै उद्योगीहरूले काठमाडौं उपत्यकामा सबै ब्रान्डका ग्यास सिलिन्डर साट्न र बिक्री गर्न संयुक्त व्यवस्था सुरु गरेको घोषणा गरेका थिए । आइतबारदेखि सुरु गरिएको व्यवस्था सुरुमा असोज ३१ गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । त्यसपछि अवधि असोज ३० गतेसम्म सीमित गरिएको थियो । मंगलबार जारी विज्ञप्तिमा भने बुधबार असोज २८ गतेसम्म मात्रै संयुक्त बिक्री तथा सिलिन्डर सटही गरिने जनाइएको छ ।
संघका अध्यक्ष दीवान चन्दले बिहीबार र शुक्रबार डिलरमार्फत नियमित आपूर्ति गर्नुपर्ने भएकाले संयुक्त बिक्रीको व्यवस्था बुधबारदेखि बन्द गरिने बताएका छन् । त्यसपछि उपभोक्ताले पुरानै व्यवस्थाअनुसार नजिकको डिलरबाट ग्यास किन्नुपर्नेछ ।
संघले काठमाडौं उपत्यकाका ११ स्थानमा बिक्री तथा सिलिन्डर सटही केन्द्र तोकेको थियो । तर एउटा डिपोबाट दिनको २४० सिलिन्डरभन्दा बढी  बाँडिएन । उपभोक्ताको लाइन लामो भए पनि उनीहरुलाई रित्तै पठाइयो । नजिकको डिलरबाट ग्यास नपाउँदा टाढाका केन्द्रसम्म पुग्नुपर्ने बाध्यता सिर्जना भयो । सहजताका लागि ल्याइएको व्यवस्थाले समेत सबै उपभोक्तालाई समान सुविधा दिन सकेन ।
एउटा कम्पनीको खाली सिलिन्डर अर्को कम्पनीको भरिएको सिलिन्डरसँग साट्न नपाउने व्यवस्थाले पनि समस्या बढायो । बजारमा ग्यास भए पनि आफ्नो ब्रान्डको सिलिन्डर नपाउँदा उपभोक्ता रित्तो हात फर्कनुपर्ने अवस्था बन्यो । संयुक्त बिक्रीको व्यवस्था यसै समस्यालाई सम्बोधन गर्न ल्याइएको थियो । तर छोटो अवधिमै उद्योगीले हात झिक्दा उपभोक्तामा अन्योल छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्