नेभिगेशन
राजनीति

सांसद सुनार विवादमा

काठमाडौं । विवादास्पद अडियो प्रकरणमा मुछिएका सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारसँग राष्ट्रिय स्वतन्त्र पार्टीले २४ घण्टे स्पष्टीकरण मागेको छ । नुवाकोटकी एक महिलामाथि आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको हो । 
पार्टीको केन्द्रीय अनुशासन आयोगले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोका सम्बन्धमा सुनारलाई स्पष्टीकरण दिन पत्र पठाएको छ । उक्त प्रकरणमा सुनारको जवाफ प्राप्त भएपछि थप प्रक्रिया अघि बढाइने अनुशासन समितिले जनाएको छ । 
‘माननीय खगेन्द्र सुनारलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका छौं । उहाँको स्पष्टीकरण आएपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,’ आयोगका एक सदस्यले भने । 
पार्टी महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै प्रकरणको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिइएको जानकारी दिएका छन् । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले भनेका छन्, ‘खगेन्द्र सुनारको अपराध पुष्टि भएमा कारवाही हुन्छ, काखी च्याप्दैनौँ ।’
यसैबीच, पार्टीले अनुसन्धान प्रक्रिया टुंगोमा नपुग्दासम्म सुनारलाई सार्वजनिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिएको छ ।  पार्टीको संयन्त्रमा छलफल भएपछि प्रकरण अनुशासन आयोगमा पठाइएको महामन्त्री आचार्यले बताएका छन् । उनका अनुसार सुनारमाथि राज्यका निकायबाट हुने अनुसन्धानमा पार्टीले आवश्यक सहयोग गर्नेछ । पार्टीले आफ्नो आन्तरिक प्रक्रियाबाट पनि घटनाको सत्यतथ्य पत्ता लगाउने उनको भनाइ छ ।
‘राज्यको संयन्त्रले आवश्यक अनुसन्धान गरोस् । त्यसमा पार्टीका तर्फबाट सहयोग हुन्छ । राज्यले गर्ने अनुसन्धान एउटा पाटो हो । पार्टीको नेता भएकाले पार्टीले गर्ने अनुसन्धान पनि सुरु गरिसकेको छ,’ आचार्यले भने ।
उनले अनुसन्धानबाट अडियोको वास्तविकता, त्यसमा प्रयोग भएको भनिएको भाषा र घटनासम्बन्धी अन्य तथ्य स्पष्ट भएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ । अडियो वास्तविक हो वा नक्कली, त्यसमा कुनै समस्या छ वा बाहिर आएका विवरण अफवाह मात्र हुन् भन्ने विषय अनुसन्धानबाट टुंगो लगाइने आचार्यले बताए । 
‘सही हो, गलत हो, केही समस्या छ कि छैन वा बाहिर आएको कुरा अफवाह मात्रै हो, अडियो नक्कली हो कि के हो भन्ने सत्यतथ्य आएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढ्छ,’ आचार्यले भने ।
अनुसन्धानबाट सुनार दोषी देखिए पार्टीले आवश्यक कारबाही गर्ने पनि उनले स्पष्ट पारे । यद्यपि, छानबिन कहिलेसम्म पुरा हुन्छ भन्ने विषयमा अहिले नै निश्चित समयसीमा तोक्न नसकिने उनको भनाइ छ । अडियो सार्वजनिक भएसँगै सुनारमाथि कारबाही गर्न पार्टीभित्र र बाहिरबाट दबाब बढेको छ । 
यसैबीच सुनारले अडियो बाहिर आएपछि एक भिडियो सन्देश जारी गर्दै ‘अडियो आफ्नो नभएको र त्यसमा आफ्नो संलग्नता नरहेको’ दाबी गरेका छन् । उनले आफूमाथि हुने छानबिनमा सघाउने पनि बताएका छन् । ‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु । म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,’ सुनारले भनेका छन्, ‘राज्यले गरेको, पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु । मैले केन्द्रीय समितिबाट पनि निलम्बित हुनुपर्छ भने म तयार छु । सांसदबाट निलम्बित हुन पनि म तयार छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्