नेभिगेशन
विश्व

म्यान्माका अनलाइन ठगी केन्द्रमा चिनियाँ कारबाहीः  तीन सञ्चालकलाई मृत्युदण्ड

म्यान्माको सीमावर्ती क्षेत्रमा अनलाइन ठगी, मानव बेचबिखन, अवैध जुवा र हत्यासम्मका अपराधमा संलग्न गिरोहविरुद्ध चीनले कारबाही तीव्र बनाएको छ । म्यान्माको कोकाङ क्षेत्रमा ठगी केन्द्र सञ्चालन गरेको अभियोगमा चिनियाँ अदालतले मंगलबार तीन जनालाई मृत्युदण्ड सुनाएको छ । दर्जनौंलाई लामो कारावास सजाय पनि सुनाइएको छ । यसले दक्षिणपूर्वी एसियामा अर्बौं डलरको अनलाइन ठगी उद्योग चलाउने गिरोहविरुद्ध चीनले थालेको कठोर कारबाहीलाई थप स्पष्ट पारेको छ ।
क्वान्झाउ मध्यवर्ती जनअदालतले वेई परिवारको आपराधिक गिरोहमा संलग्न वेई हुइरेन, चेन दावेई र लियाओ जिङफाङलाई मृत्युदण्ड सुनाएको हो । अदालतका अनुसार गिरोहले दूरसञ्चार ठगी, लागुऔषध कारोबार, वेश्यावृत्ति सञ्चालन, अवैध जुवा र कम्तीमा दुई चिनियाँ नागरिकको हत्यासमेत गरेको थियो । गिरोहले १२ अर्ब २० करोड युआनभन्दा बढी अर्थात् करिब एक अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारोबार गरेको बताइएको छ । अन्य तीन जनालाई जन्मकैद र ५५ जनालाई तीन वर्ष तीन महिनादेखि २४ वर्षसम्म कैद सजाय सुनाइएको छ ।
यो कारबाही कुनै एउटा ठगी केन्द्रमा सीमित छैन । म्यान्माको सीमावर्ती क्षेत्रमा वर्षौंदेखि फैलिएका आपराधिक सञ्जाल, तिनलाई संरक्षण दिने सशस्त्र समूह र रोजगारीको प्रलोभनमा मानिसलाई फसाएर ठगीमा लगाउने गिरोहविरुद्ध चीनसहित क्षेत्रीय देशहरूले दबाब बढाइरहेका छन् ।

चिनियाँ गिरोह मात्रै होइनन् सञ्चालक
समाचार संस्था एपी र ओसीसीआरपीमा प्रकाशित रिर्पोटहरुका अनुसार म्यान्माका ठगी केन्द्रमा चिनियाँ आपराधिक परिवारको प्रभाव बलियो भए पनि ती केन्द्र चिनियाँ नागरिकले मात्रै सञ्चालन गरेका होइनन् । कोकाङ क्षेत्रमा वेई, मिङ र बाईजस्ता चिनियाँ मूलका आपराधिक परिवार जोडिएका छन् । अन्य क्षेत्रमा स्थानीय सशस्त्र समूहसँग सम्बन्ध भएका व्यवसायी र सीमावर्ती गिरोहसमेत यस्ता केन्द्रसँग जोडिएको आरोप लाग्दै आएको छ । म्यान्मा र थाइल्यान्डको सीमावर्ती म्यावाडी क्षेत्रमा करेन जातीय सशस्त्र समूहसँग सम्बन्धित सीमावर्ती सुरक्षा बलमाथि पनि ठगी केन्द्रलाई संरक्षण दिएको आरोप लागेको छ । उक्त समूहले भने संलग्नता अस्वीकार गर्दै आएको छ ।
ठगी केन्द्रमा काम गर्ने सबै व्यक्ति भने सञ्चालक वा अपराधी होइनन् । आकर्षक तलबको झुटो आश्वासन दिएर चीनसहित विभिन्न देशका नागरिकलाई म्यान्मा पु¥याइन्छ । त्यहाँ पुगेपछि कतिपयलाई नियन्त्रणमा राखेर अनलाइन ठगी गर्न बाध्य पारिन्छ । लक्ष्य पूरा नगरे कुटपिट र विद्युतीय झट्कासहित यातना दिइने गरेको पीडितहरूले रोयटर्सलाई बताएका छन् । प्रेम सम्बन्धको नाटक, नक्कली लगानी योजना र दूरसञ्चार माध्यमबाट मानिसलाई झुक्याएर पैसा असुल्ने काममा उनीहरूलाई लगाइन्छ ।

छापा, उद्धार र देशनिकाला
सन् २०२५ मा चिनियाँ अभिनेता वाङ सिङलाई रोजगारीको प्रलोभनमा थाइल्यान्ड हुँदै म्यान्मा पु¥याइएको घटना सार्वजनिक भएपछि ठगी केन्द्रविरुद्ध क्षेत्रीय दबाब बढेको थियो । चीन, थाइल्यान्ड र म्यान्माले समन्वय बढाएपछि म्यावाडी क्षेत्रका केन्द्रमा छापा मारियो । थाइल्यान्डले सीमावर्ती म्यान्माका केही क्षेत्रमा विद्युत्, इन्धन र इन्टरनेट आपूर्ति कटौती गरेर पनि दबाब दिएको थियो ।
रोयटर्सका अनुसार सन् २०२५ को फेब्रुअरीमा म्यान्माका ठगी केन्द्रबाट उद्धार गरिएका करिब सात हजार विदेशी नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको थियो । तीमध्ये चिनियाँ नागरिकलाई थाइल्यान्ड हुँदै विशेष विमानबाट चीन फर्काइएको थियो । त्यस क्रममा विभिन्न देशका नागरिक उद्धार भए पनि धेरैले सीमावर्ती शिविरमा पर्याप्त खाना र स्वास्थ्य सेवा नपाएको गुनासो गरेका थिए ।
म्यावाडी क्षेत्रमा गरिएको सुरक्षा कारबाहीमा चीनसहित २७ देशका सात हजारभन्दा बढी विदेशी नागरिक उद्धार गरिएको थियो । म्यान्माको सीमावर्ती क्षेत्र नियन्त्रण गर्ने सीमा सुरक्षा बलका अनुसार उद्धार गरिएकामध्ये आधाभन्दा बढी चिनियाँ नागरिक थिए भने बाँकी २६ देशका थिए । उनीहरूलाई आकर्षक रोजगारीको प्रलोभनमा म्यान्मा पु¥याएर ठगीमा लगाइएको आरोप थियो । 
उद्धारपछि धेरै जना तत्काल स्वदेश फर्कन पाएनन् र विभिन्न स्थानमा रोकिएका थिए । इन्डोनेसियाका ६४ नागरिकलाई भने थाइल्यान्डस्थित आफ्नो दूतावासको समन्वयमा स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको थियो । भारतले आफ्नो विमान पठाएर आफ्ना नागरिकको उद्धार गरेको थियो भने नेपालीको उद्धारको अगुवाइ बैंककस्थित थाइल्याण्डका लागि नेपाली राजदूतावासले गरेको थियो । पटक–पटक गरी झण्डै सात सय जना नेपाली युवालाई उद्धार गरेर स्वदेश फर्काइएको थियो ।
अनलाइन स्क्याम अखाडाहरुका कारबाही त्यतिमै रोकिएको छैन । रोयटर्सले सन् २०२५ नोभेम्बरमा प्रकाशित समाचारमा म्यान्माको थाइल्यान्ड सीमावर्ती क्षेत्रमा छापा मार्दा एक हजारभन्दा बढी विदेशी नागरिक पक्राउ परेको र १८० भन्दा बढी भवन भत्काइएको उल्लेख गरेको थियो । पछिल्ला कारबाहीमा पनि केन्द्रहरूबाट कम्प्युटर र मोबाइल फोन बरामद गरिएका छन् । तर सञ्चालक र संरक्षकलाई पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा यस्ता सञ्जाल अन्य क्षेत्रमा सर्ने जोखिम कायम छ ।
संयुक्त राष्ट्रसंघले दक्षिणपूर्वी एसियामा अनलाइन ठगी केन्द्रबाट हुने आर्थिक क्षति अर्बौँ डलर पुगेको चेतावनी दिएको छ । चिनियाँ अदालतका पछिल्ला फैसलाले सञ्चालकलाई कठोर सजाय दिने सन्देश दिए पनि समस्या समाधानका लागि उद्धार गरिएका व्यक्तिको पहिचान, मानव बेचबिखनको अनुसन्धान, सीमापार प्रहरी सहकार्य र सशस्त्र संरक्षण सञ्जालमाथिको कारबाही एकसाथ अघि बढ्नुपर्ने देखिन्छ । (एजेन्सी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व