नेभिगेशन
राजनीति

क्षेत्रीय विपद् प्रतिकार्य प्रस्ताव

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माण गर्न प्रस्ताव गरेका छन् ।
भारतको नयाँ दिल्लीमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् । गृह मन्त्रालयका अनुसार गुरुङले रूपरेखा निर्माणका लागि संयुक्त कार्यदल गठन गर्नसमेत प्रस्ताव गरेका छन् ।
बैठकमा उनले आतंकवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए । यस्ता अपराध नियन्त्रण गर्न सुरक्षित सूचना आदानप्रदान, प्रभावकारी समन्वय र संयुक्त प्रतिकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
बैठकमा सहभागी हुन नयाँ दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार भारतीय गृहमन्त्री अमित शाहसँग पनि द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटमा दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्नेबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ । भेटका क्रममा गुरुङले नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा पहुँचका क्रममा भोग्दै आएका प्राविधिक समस्या समाधानका लागि पनि चासो राखेका थिए । विशेषगरी भारतीय मानक ब्युरो बीआईएस प्रमाणीकरण सम्बन्धी समस्याबारे उनले भारतीय समकक्षीको ध्यानाकर्षण गराएका थिए । नेपालको चासोप्रति भारतीय गृहमन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको मन्त्रालयले जनाएको छ । गृहमन्त्रीस्तरीय बैठकमा सहभागी भएर गुरुङ बुधबार स्वदेश फर्कने कार्यक्रम छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्