नेवारहरूले मनाउने मोहनी चाड दशैं होइन । तान्त्रिक विधिअनुसार मानिने मोहनी नेवारहरूको ठूलो चाड हो । यो मोहनी चाडमा नेवारहरूले फूलपाती भिœयाउनुपर्दैन । फूलपाती भिœयाउने चलन पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि बडादशैं विजयादशमी मान्ने चलन चलाउँदै गोरखादेखि फूलपाती ल्याएर दशैं मनाउने गरियो । तर यहाँ नेवारहरूको भने फूतपाती भिœयाउने चलन पहिलादेखि नै नभएकाले गोरखादेखि फूलपाती ल्याउनु परेको हो ।
नेपालका नेवारहरूले शक्ति प्राप्त गर्न मोहनी चाडमा तान्त्रिक विधिअनुसार आ–आफना घरका पूजा कोठामा शक्तिमाता देवीको पूजा गर्दै आइरहेका छन् । माकःचा बाँदरको आकृति भएको माटोको भाँडामा मोहनी टीका गाजल पारेर देवीको पूजा गरेर देवीकै प्रतीक खड््ग पनि देवीको मूर्तिसँगै राखी पूजा गरेर शत्रु संहार गर्ने उद्देश्यले अनि भविष्यमा आउन सक्ने विभिन्न किसिमका भयबाट मुक्त भएर देवीबाट खड्ग सिद्धि प्राप्त गर्नु नै मोहनीमा गरिने पूजाको मूल उद्देश्य हो ।
मोहनीमा आगममा माकःचामा मोहनी टीका गाजल पार्दा पनि तान्त्रिक विधिअनुसार नै गर्नुपर्ने र अजिमा देवीको खड्ग पनि तान्त्रिक विधिबाटै जगाएर स्थापना गरिन्छ । आश्विन शुक्लपक्षको प्रतिपदा घटस्थापनाका दिन घर–घरको आगममा जमरा रोपेर दिनहुँ पूजा गरिन्छ भने अष्टमीका दिन खड्ग स्थापना गरेर मोहनीको पूजा गरेर दशमीका दिन देवीलाई चढाएका फूल, अक्षता र नैवेद्य, प्रसाद झिकेर घरका मुली थकालीले आगम देवताको तन्त्र साधना गरी राखेको खड्ग जहान परिवारका सबैलाई खड्ग हातमा राखिदिँदै खड्ग सिद्धि प्रदान गरिन्छ । त्यसपछि खड्ग सिद्धि लिइसकेपछि त्यही तन्त्र शक्ति भएको खड्ग समाएर पायाः निस्किन्छ । खड्ग सिद्धि लिँदा दैवीशक्ति प्राप्त भएर शत्रुमाथि विजय गर्न सक्ने र हाम्रो जीवनमा आइरहने दानव रूपको भय पनि नभई हाम्रो आत्मरक्षा हुनेछ भन्ने विश्वास गरिराखेको छ । खड्ग सिद्धि दिँदा पनि खड्ग हातमा राखिदिँदै ‘खड्ग सिद्धिरस्तु’ भनी आशिष दिने चलन छ । यसरी आशिष दिँदा र लिँदा शत्रुहरूले केही गर्न नसक्ने गरी अजिमा देवीले रक्षा गरी शक्तिशाली बनाइराख्छिन् भन्ने विश्वास गरिएको छ । यसरी पायाः निकाल्ने भनेकै शत्रु संहार गरेर लोककल्याण गर्नु नै हो । मोहनीको मोहनी टीका लगाई, फूल सिउरेर, रातो क्वखा, रातो कपडाको माला देवीको प्रसाद ग्रहण गरेर तान्त्रिक विधिअनुसार आ–आफ्ना शरीरमा देवी र देवताहरू जगाएर काम्दै काम्दै खड्ग समाएर हेर्दै डरलाग्दोसँग बाहिर आएका पायाःहरूले एक–एक जना शत्रु छउन्जेल खोज्दै खोज्दै चटक्कै काट्छु भन्दै महिषासुर दैत्यको प्रतीक कुमिण्डोलाई काट्ने चलन छ । कान्तिपुर, ललितपुर र भक्तपुरका दरबारिया पायाः, त्यस्तै टेबहाल, वटु, महाबौद्ध, यट्खा, कोहिटी, ठमेल, असन, कीर्तिपुर र विभिन्न ठाउँका विभिन्न पायाःहरू पनि निस्किरहेका हुन्छन् । नेपालका राजाले पनि बाह्र वर्षमा एकपटक मखन टोलको सिंह दोबाटोमा भद्रकाली देवीको खड्गसँग आफनो खड्ग साट्ने अनि बाह्र वर्षमा एकपटक मरु सत्तलअगाडि पचली भैरवको खड्गसँग आफनो खड्ग साटी खड्ग सिद्धि लिने चलन छ । अनि त्यसकै शक्तिले देश र जनताको रक्षा गरिराख्छ भन्ने जनविश्वास छ । पहिला मल्ल राजाहरूले पनि खड्ग समाएर दरबारबाट पायाः आउने गर्दथ्यो । पछि राजाको प्रतिनिधिका रूपमा दरबारिया पायाःको सामने राजाको खड्ग राखेर मनाइने गरिएको हो भनिन्छ ।
मोहनीमा पायाः निकाल्न पनि जीव बली भोगको प्रतीक अण्डाको सगुन लिनुपर्छ । देवीले महिषासुर दैत्यलाई वध गर्न पनि पात्र कचौरामा मद पिएर अण्डाको सगुन लिएर मात्र मारिदिएकी हुन् । देवी भागवतमा पनि यो कुरा यसरी उल्लेख गरिएको पाइन्छ, ‘ततः क्रुद्धा जगन्माता चण्डिका पानमुत्तमम् । पपौ पुनः पुनश्चैव जहासारुणलोचा ।’ यसको अर्थ हो क्रोधित भइरहेकी जगन्माता चण्डिका देवीले बारम्बार मदिराको पात्र कचौरा पिएर आँखा रातो पारी हाँसिन् । देवीले महिषासुरलाई मारेको दिन आश्विन शुक्लदशमी भनी देवी भागवतमा लेखिएको छ । त्यसैले यस दिनलाई विजयोत्सवका रूपमा विजयादशमी भनी मान्दै आएको हो भनिन्छ ।
मोहनीमा नौ दिनसम्म आगममा पूजा गर्ने र नौ दिनसम्म नौ नवरात्रिभर नवरथ जाने भनी धिमे र विभिन्न बाजा बजाएर प्रतिपदादेखि विभिन्न तीर्थमा गई स्नान गरेर विभिन्न देवताको दर्शन गर्छन् । नवरथ जाने सन्दर्भमा प्रतिपदादेखि नवमीसम्म भक्तजनहरूले क्रमैसँग शंखमूलको शंकर तीर्थ–देवता श्रीमहालक्ष्मी, भचाखुसीको निर्मल तीर्थ–देवता दोला अजिमा, पचलीको पञ्चजाली तीर्थ– देवता पचली भैरव, टोखाको मनोरथ तीर्थ– देवता बछलादेवी, टेकु दोभानको चिन्ता मार्ग तीर्थ – देवता सिकाली अजिमा, कंकेश्वरीको भवानी तीर्थ – देवता कंकेश्वरी र तलेजु भवानी, गुह्येश्वरीको शान्त तीर्थ – देवता गुह्येश्वरी । यी नौवटै तीर्थमा गएर नुहाई विभिन्न देवी देवताको दर्शन गर्छन् । यसरी विभिन्न तीर्थमा जाने सन्दर्भमा नागराजहरूलाई पनि मानेर दर्शन गर्छन् । यसरी मान्दै आएका नागराजहरूमध्ये शंखपाल, अपलाल, तक्षक, भद्रपाल, सुन्दर, वरणपाल, वासुकी, वरुण, नन्द, अपनन्द र सोमसिकी नागराजहरू हुन् । प्रतिपदादेखि नवमीसम्म दाफा भजन पनि गाउँछन् । नौ दिनसम्म डमरु बजाउँदै आगममा पूजा गर्छन् । मालश्री गीत गाउने र धुन बजाउने गर्छन् । दुर्गा भवानीका विभिन्न रूपका देवीहरूलाई पूजा गर्ने सन्दर्भमा नवरात्रीको नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री देवीको पूजा गर्छन् ।
यसरी नौ दिनसम्म पूजा गर्ने गरिए तापनि मुख्य पूजा तीन दिन गरिन्छ । अष्टमीका दिन देवीको विशेष पूजा गरेर कुछि भ्वय् खाने, नवमीका दिन स्याक्व त्याक्व भन्दै देवीदेवताहरूलाई जीव बली दिनुका साथै खसी बोकालाई मार हान्ने गरिन्छ । अनि आगम र देवीदेवताका मन्दिरमा बली दिएका पशुहरूको टाउको लिएर (टाउकोका विभिन्न अंग परिवारका सदस्यहरू बाँड्ने) ‘सीकाःभू’ गर्छन् । अनि दशमीका दिन टाढा–टाढा गइरहेका अझ विदेशमै गइरहेका परिवारका सदस्यहरू घरमा आई साथै बसी मोहनी पूजा गरेर घरपरिवारका थकालीले सबैलाई देवीको प्रसाद, टीका र जमरा लगाइदिएर खड्ग सिद्धि पनि प्रदान गर्छन् ।
(लेखक डंगोल धर्म–संस्कृतिका जानकार हुन् ।)