काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा म्याद गुज्रेका खाद्यवस्तु बिक्रीका लागि राख्ने पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागको संयुक्त अनुगमन टोलीले बाराको निजगढकै अर्को डेरी उद्योगलाई लेबलविहीन मोही उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै २१ लिटर मोही र अर्को डेरीबाट ६ किलोग्राम लेबलविहीन पनिर जफत गरी नष्ट गरेको छ ।
यसैंगरी काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक र धादिङका डेरी तथा खाद्य व्यवसायमा गरिएको निरीक्षणका क्रममा पनि बिलबिजकबिना कारोबार, खाद्य अनुज्ञापत्रसम्बन्धी कमजोरी, असुरक्षित भण्डारण र सरसफाइमा कैफियत भेटिएको विभागले जनाएको छ ।
विभागको अनुगमन विवरणअनुसार निजगढ नगरपालिका–९ स्थित निशा ट्रेडर्समा बिस्कुट, मसला, चकलेट, गुलाबजामुन, सुप, चामल, भुजा र भुजियालगायत म्याद गुज्रेका खाद्यवस्तु फेला परेका थिए । ती वस्तु जफत गरी नष्ट गरिएको र विवरणमा उल्लेख भएअनुसार करिब २० हजार रुपैयाँ बराबरका खाद्यपदार्थ नष्ट गरिएको थियो । उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
निजगढ नगरपालिका–५ स्थित राधाकृष्ण डेरी उद्योगमा लेबल नलगाई मोही उत्पादन तथा बिक्रीवितरण भइरहेको र सरसफाइको अवस्था सन्तोषजनक नरहेको पाइएको थियो । अनुगमन टोलीले २१ लिटर मोही जफत गरी नष्ट गर्नुका साथै उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, निजगढ नगरपालिका–९ स्थित तामाङबारी डेरीबाट लेबल नभएको करिब ६ किलोग्राम पनिर जफत गरी नष्ट गरिएको छ । उक्त पनिरको अनुमानित मूल्य चार हजार पाँच सय रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
काठमाडौं उपत्यकाका विभिन्न डेरी तथा खाद्य पसलमा गरिएको अनुगमनमा बिलबिजकबिना खाद्यवस्तु खरिद गर्ने, खाद्य अनुज्ञापत्र नभएका वस्तुको कारोबार गर्ने र भण्डारणसम्बन्धी मापदण्ड पालना नगर्ने समस्या भेटिएका छन् । विभागले सम्बन्धित व्यवसायलाई कानुनी प्रक्रिया पूरा गर्न, सरसफाइ सुधार गर्न र खाद्यवस्तु सुरक्षित अवस्थामा भण्डारण गर्न निर्देशन दिएको छ । केही पसलबाट खुला दूध तथा प्रशोधित दूधको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाउने प्रक्रिया अघि बढाइएको छ ।
काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक र धादिङका डेरी तथा खाद्य व्यवसायमा गरिएको निरीक्षणका क्रममा पनि खाद्यवस्तुको सुरक्षित भण्डारण, सरसफाइ, लेबलिङ, खरिदबिक्रीको अभिलेख र खाद्य अनुज्ञापत्रको पालना गर्नुपर्ने देखिएको विभागले जनाएको छ ।
विभागको अनुगमनले उपभोक्ताले दैनिक उपभोग गर्ने दूध तथा दुग्धजन्य पदार्थको बिक्रीवितरणमा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
म्याद गुज्रेका खाद्यवस्तु बिक्रीमा ५० हजार जरिवाना
बाराको निजगढ नगरपालिका–९ स्थित निशा ट्रेडर्समा गरिएको अनुगमनका क्रममा बिस्कुट, मसला, चकलेट, गुलाबजामुन, सुप, चामल, भुजा, भुजियालगायतका विभिन्न प्याकेटबन्द खाद्यवस्तु म्याद गुज्रिएको अवस्थामा फेला परेका थिए । विभागको विवरणअनुसार ती वस्तु बिक्रीका लागि राखिएका थिए ।
अनुगमन टोलीले उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम व्यवसायलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । साथै विवरणमा उल्लेख भएअनुसार करिब २० हजार रुपैयाँ बराबरका खाद्यपदार्थ जफत गरी नष्ट गरिएको छ ।
विभागका प्रवक्ता डा. बालकुमारी शर्माले भनिन्,‘म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राख्नु उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय हो । उत्पादनको उपभोग अवधि समाप्त भएपछि त्यसको गुणस्तर र सुरक्षाबारे जोखिम उत्पन्न हुन सक्ने भएकाले व्यवसायीले नियमित रूपमा म्याद जाँच गर्नुपर्ने हुन्छ ।’
निजगढ नगरपालिका–९ स्थित तामाङबारी डेरीमा पनि लेबल नभएको करिब ६ किलोग्राम पनिर फेला परेको थियो । उक्त पनिरको अनुमानित मूल्य चार हजार पाँच सय रुपैयाँ रहेको विवरणमा उल्लेख छ । अनुगमन टोलीले पनिर जफत गरी नष्ट गरेको छ र डेरीलाई खाद्य स्वच्छता तथा सरसफाइमा सुधार गर्न निर्देशन दिएको छ ।
काठमाडौंका डेरीमा बिलबिजक र भण्डारणको कमजोरी
काठमाडौं उपत्यकाका विभिन्न डेरी तथा खाद्य पसलमा गरिएको निरीक्षणका क्रममा खाद्यवस्तु खरिदको बिलबिजक, भण्डारण व्यवस्थापन र लेबलिङमा सुधार गर्नुपर्ने देखिएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका–१० स्थित देवराली स्वीट्समा खाद्यवस्तु खरिद गर्दा बिलबिजक लिने प्रक्रिया पालना नभएको पाइएको छ । उक्त पसलले ललितपुरको सानोपा क्षेत्रस्थित गंगा दूध डेरीबाट दूध खरिद गरी खुला दूध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण गरिरहेको विवरणमा उल्लेख छ ।
अनुगमनका क्रममा पसलमा भण्डारण गरिएको कृत्रिम खाद्य रङको अव्यवस्थित प्रयोग नगर्न निर्देशन दिइएको थियो । त्यहाँ भण्डारण गरिएका छवटा कृत्रिम खाद्य रङ र जरी तयार गर्न राखिएको चास्नी नष्ट गरिएको विभागको विवरणमा उल्लेख छ । साथै पसलबाट बिक्री हुने खुला दूधको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको छ ।
काठमाडौंको गोंगबुस्थित खड्का डेरी एन्ड कफी सपमा पनि बिलबिजकबिना खाद्यपदार्थ खरिद गरिएको पाइएको थियो । पसलमा दूध, दही र पनिरजस्ता दुग्धजन्य पदार्थ बिक्रीवितरण भइरहेको थियो । अनुगमन टोलीले व्यवसायलाई दर्ता गरेर मात्र सञ्चालन गर्न, खाद्य अनुज्ञापत्र नभएका वस्तु खरिदबिक्री नगर्न र खाद्यवस्तुमा उल्लेख गरिएको तापक्रम तथा आद्र्रताअनुसार भण्डारण गर्न निर्देशन दिएको छ ।
गोंगबुस्थित श्री गणेश दुग्ध सागरमा पनि दूध खरिद तथा बिक्रीवितरणको निरीक्षण गरिएको थियो । त्यहाँ बिस्मरा गाउँ फर्म साँच पालुवारीबाट दूध खरिद गरी बिक्रीवितरण भइरहेको विवरणमा उल्लेख छ । उक्त व्यवसायलाई खाद्य अनुज्ञापत्र नभएका वस्तु खरिदबिक्री नगर्न र भण्डारणस्थल व्यवस्थित बनाउन निर्देशन दिइएको छ ।
ललितपुरका डेरीमा पनि सुधारको निर्देशन
ललितपुर महानगरपालिका–२३ स्थित ए.पी. डेरी पसलमा गरिएको अनुगमनका क्रममा बिलबिजकबिना खाद्यवस्तु खरिद गरिएको पाइएको थियो । पसलले मणिखेल, घुसेल र थापाखेल क्षेत्रबाट दूध खरिद गर्ने गरेको जानकारी दिएको थियो ।
अनुगमन टोलीले खाद्य अनुज्ञापत्र नभएका वस्तु खरिदबिक्री नगर्न, पसल तथा भण्डारणस्थल व्यवस्थित बनाउन र खुला दूधको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गर्न निर्देशन दिएको थियो ।
सोही महानगरपालिका–२३ स्थित रोशनी डेरीमा पनि बिलबिजकबिना खाद्यपदार्थ खरिद गरिएको पाइएको थियो । उक्त डेरीले चापागाउँ र टाखेल क्षेत्रबाट ठेकेदारमार्फत दूध खरिद गरी खुला दूध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण गरिरहेको विवरणमा उल्लेख छ ।
डेरीलाई खाद्य अनुज्ञापत्र नभएका खाद्यपदार्थ खरिदबिक्री नगर्न, खाद्यवस्तु सुरक्षित तापक्रम र आद्र्रतामा भण्डारण गर्न तथा पसल व्यवस्थित राख्न निर्देशन दिइएको छ । त्यहाँबाट पनि खुला दूधको नमुना संकलन गरी थप परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको छ ।
ललितपुर महानगरपालिका–१५ स्थित संयुक्त डेरी एन्ड फुड्स प्रालिमा चिस्यान कक्षमा लेबलविहीन दही भण्डारण गरिएको पाइएको थियो । त्यहाँ दूध पाउडर भण्डारण कक्ष व्यवस्थित रहेको र सरसफाइको अवस्था सन्तोषजनक रहेको भए पनि दहीको लेबल तथा भण्डारणसम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिइएको विभागको विवरणमा उल्लेख छ ।
काभ्रे र धादिङका व्यवसाय पनि अनुगमनमा
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित मदानी डेरी प्रालिमा खुला तथा प्याकेजिङ गरिएको दूधको खरिदबिक्री भइरहेको पाइएको थियो । भण्डारणस्थलको सरसफाइ सन्तोषजनक रहेको उल्लेख गर्दै विभागले खाद्य अनुज्ञापत्र प्राप्त खाद्यपदार्थ मात्र बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।
बनेपाकै सर्वोत्तम डेरी फर्ममा पनि खुला दूध संकलन तथा बिक्रीवितरण भइरहेको र खाद्य अनुज्ञापत्र नभएको खाद्यपदार्थ बिक्रीवितरण गरिएको पाइएको थियो । उक्त फर्मलाई अनुज्ञापत्र प्राप्त खाद्यवस्तु मात्र खरिदबिक्री गर्न निर्देशन दिइएको छ ।
धादिङको धुनीबेसी नगरपालिका–६ स्थित आरम्भ सप्लायर्समा फ्रिजको सरसफाइ सन्तोषजनक नरहेको र लेबल नखुलेको पनिर भण्डारण गरिएको पाइएको थियो । स्थानीय किसानबाट दूध खरिद गरी बिक्रीवितरण भइरहेको उक्त व्यवसायलाई लेबल तथा खाद्य अनुज्ञापत्र नभएका वस्तु कारोबार नगर्न र भण्डारणस्थल व्यवस्थित बनाउन निर्देशन दिइएको छ । खुला दूधको नमुना संकलन गरी परीक्षण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।
धुनीबेसीकै आहाना फुड एन्ड बेभरेज प्रालिमा भने सरसफाइको अवस्था सामान्य, भण्डारण कक्ष व्यवस्थित र कीट नियन्त्रणको व्यवस्था प्रभावकारी रहेको पाइएको थियो । उद्योगमा प्रशोधित दूध, पनिर र दही उत्पादन भइरहेको विवरणमा उल्लेख छ । थप अनुसन्धानका लागि प्रशोधित दूधको नमुना संकलन गरिएको छ ।