नेभिगेशन
अर्थतन्त्र
नेपालको अर्थतन्त्र चौथो त्रैमासमा ४ प्रतिशतले विस्तार

विद्युत् र सेवा क्षेत्रको बलियो योगदान

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिक (वैशाख–असार) को प्रारम्भिक अनुमान अनुसार नेपालको अर्थतन्त्र आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले वृद्धि भएको छ । 
मौसमी प्रभाव समायोजित आधारमा भने तेस्रो त्रैमासको तुलनामा १.५४ प्रतिशतले विस्तार भएको छ । यो वृद्धिदर सामान्य अवस्थामा रहेको भए पनि क्षेत्रगत संरचना र योगदानका दृष्टिले अर्थतन्त्रमा केही महत्वपूर्ण संकेतहरू देखा परेका छन् । 
समग्र वृद्धिदरको विश्लेषण अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा ४.८ प्रतिशत थियो । राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेका अनुसार १८ वटा औद्योगिक वर्गीकरणमध्ये १७ वटामा धनात्मक वृद्धि देखिएको छ । 
सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा मात्र ०.१२ प्रतिशतको ऋणात्मक वृद्धि छ । यसले सरकारी खर्चमा भएको कटौती वा ढिलासुस्तीको प्रभाव देखाउने उनको भनाइ छ । मौसमी प्रभाव समायोजित तथ्यांक अनुसार तेस्रो त्रैमासबाट चौथो त्रैमासमा १.५४ प्रतिशतको वृद्धि अपेक्षाकृत सन्तुलित रहेको छ ।  यसले अर्थतन्त्रमा क्रमिक सुधारको संकेत दिए पनि निर्माण क्षेत्रमा ०.४८ प्रतिशतको संकुचन चिन्ताजनक छ । 
अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर मात्र १.३५ प्रतिशत रहनु कमजोर पक्ष हो । कृषि उत्पादनमा सामान्य वृद्धि भए पनि यसले समग्र अर्थतन्त्रलाई बलियो रूपमा उठाउन सकेको छैन । कृषि क्षेत्रको सुस्तताले ग्रामीण आय, रोजगारी र खाद्य सुरक्षामा दीर्घकालीन प्रभाव पार्न सक्ने तथ्यांक शास्त्री लामिछानेको भनाइ छ ।
यसको विपरीत, विद्युत्, ग्यास, स्टिम तथा वातानुकूलन आपूर्ति क्षेत्रले २४.३६ प्रतिशतको उच्च वृद्धि हासिल गरेको छ । यो वृद्धि जलविद्युत् उत्पादन, प्रसारण र वितरण क्षमतामा भएको सुधारसँग प्रत्यक्ष रूपमा जोडिएको छ । ऊर्जा क्षेत्रको यो विस्तारले उद्योग र सेवा क्षेत्रलाई समेत सकारात्मक प्रभाव पार्ने सम्भावना छ । तर, यसको योगदान कुल गार्हस्थ्य उत्पादनमा अझै सीमित भएकाले समग्र वृद्धिदरमा पूर्ण रूपमा प्रतिबिम्बित हुन सकेको छैन ।
वित्तीय तथा बीमा क्रियाकलापमा ९.०७ प्रतिशतको वृद्धि भएको छ ।  यसले बैंकिङ क्षेत्रको गतिविधि बढेको र लगानीको वातावरणमा केही सुधार आएको संकेत दिने बुझाइ राष्ट्रिय तथ्यांक कार्यालयको रहेको छ । आवास तथा भोजन सेवामा ७.८४ प्रतिशत र सूचना तथा सञ्चारमा ७.६६ प्रतिशतको वृद्धि भएको छ । 
थोक तथा खुद्रा व्यापारमा भने ५.९७ प्रतिशतको वृद्धि भएको छ । निर्माण क्षेत्रमा २.३८ प्रतिशत र खानी तथा उत्खननमा ३.३४ प्रतिशतको वृद्धि सामान्य छ । 
आवास तथा भोजन सेवामा ६.०५ प्रतिशत, विद्युत् तथा ग्यासमा ३.७६ प्रतिशत र खानी तथा उत्खननमा ३.२२ प्रतिशतको क्रमिक वृद्धि सकारात्मक छ । 
विगत पाँच आर्थिक वर्षको त्रैमासिक वृद्धिदर हेर्दा २०७८÷७९ को चौथो त्रैमासमा उच्च वृद्धि र २०७९÷८० को दोस्रो त्रैमासमा न्यून वृद्धि देखिएको थियो । हालको ४ प्रतिशतको वृद्धिदर मध्यवर्ती स्तरमा छ, जसले अर्थतन्त्र स्थिरतातर्फ उन्मुख भए पनि उच्च वृद्धिको बाटोमा प्रवेश गर्न नसकेको देखाउँछ । 
नीतिगत निहितार्थ र चुनौतीहरूयो तथ्यांकले केही महत्वपूर्ण नीतिगत सन्देश दिएको छ । ऊर्जा क्षेत्रको उच्च वृद्धिले जलविद्युत् विकासको प्राथमिकता सही दिशामा रहेको देखाएको छ । तर कृषि र निर्माण जस्ता रोजगारमूलक क्षेत्रको सुस्तताले समावेशी वृद्धिको चुनौती बढाएको छ । सरकारी खर्चमा कटौतीले सार्वजनिक प्रशासन क्षेत्रमा ऋणात्मक वृद्धि देखाएकोले पूँजीगत खर्च र विकास परियोजनाको कार्यान्वयनमा ध्यान दिनुपर्ने तथ्यांकशास्त्री लामिछानेले बताए  ।
सेवा क्षेत्र (वित्त, पर्यटन, सूचना प्रविधि) को बलियो प्रदर्शनले अर्थतन्त्रको संरचना सेवामुखी बन्दै गएको संकेत दिएको उनले बताए । यसलाई दिगो बनाउन मानव पुँजी विकास, डिजिटल पूर्वाधार र पर्यटन प्रवद्र्धनमा लगानी बढाउनु आवश्यक छ । 
मौसमी समायोजित वृद्धिदर १.४ प्रतिशत रहनुले माग पक्षमा क्रमिक सुधार भए पनि आपूर्ति पक्ष (विशेष गरी उद्योग) कमजोर रहेको देखाउँछ । यसले मुद्रास्फीति, ब्याजदर र बाह्य क्षेत्रको स्थिरतासँग समन्वय गरेर मौद्रिक तथा वित्तीय नीति सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

मुख्य क्षेत्रगत वृद्धिदर 
विद्युत्, ग्यास तथा वातानुकूलन आपूर्तिः २४.३६% (सबैभन्दा उच्च)
वित्तीय तथा बीमा क्रियाकलापः ९.०७%
आवास तथा भोजन सेवाः ७.८४%
सूचना तथा सञ्चारः ७.६६%
यातायात तथा भण्डारणः ६.८१%
थोक तथा खुद्रा व्यापारः ५.९७%
कृषि, वन तथा मत्स्यः १.३५% (सबैभन्दा ठूलो क्षेत्र भए पनि सुस्त)
सार्वजनिक प्रशासन तथा रक्षाः –०.१२% (एकमात्र ऋणात्मक)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्