काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित नेपाली राजदूतमध्ये १० जनाको नाम बुधबार अनुमोदन गरेको छ । समितिले साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गरेको छ भने जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको निर्णय ‘होल्ड’ मा राखेको छ ।
संसदीय सुनुवाइ समिति बैठकले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम भने सुनुवाइ पछि अनुमोदन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद एवम् समिति सदस्य राजीव खत्रीले १० को नाम स्वीकृत भएको, २ प्रस्तावित राजदूतको नाम अस्वीकृत गरेको र एक जनाको निर्णय स्थगित गरिएको जानकारी दिए ।
सुनारको नाम सर्वसम्मतले अस्वीकृत
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम सर्वसम्मतले अस्वीकृत भयो । उनीमाथि संसदीय सुनुवाइ समितिमा महिला हिंसासम्बन्धी उजुरी परेको थियो । उक्त विषयसहित विगतका घटनाले उच्च नैतिक चरित्रमाथि प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो ।
सरकारले गत असोज २ गते सुनारलाई साउदी अरबका लागि राजदूतमा सिफारिस गरेको थियो । सुनुवाइका क्रममा उनको विगत, जर्मनीबाट निष्कासन गरिएको विषय तथा व्यक्तिगत आचरणको विषयमा समिति सदस्यहरुले कडा प्रश्न सोधका थिए । सत्तारुढ दल रास्वपाका सांसदहरुको बहुमत रहेको समितिमा रास्वपाकै सांसदहरु सरकारले साउदीका लागि प्रस्ताव गरेका सुनारको पक्षमा सकारात्मक भएनन् ।
निर्णय प्रक्रियाअघि रास्वपा सांसद गजला शमिम मियाँ मिकरानीले छलफलपछि सुनार सबै दृष्टिकोणबाट राजदूत बन्न अयोग्य रहेको बताइन् । रास्वपाकै प्रमुख सचेतकसमेत रहेका सांसद कविन्द्र बुर्लाकोटीले सुनारको प्रस्तुति, कागजात र योग्यताका पक्ष सकारात्मक देखिए पनि पुरानो घटनाले नैतिक चरित्रमाथि प्रश्न उठाएको बताए । अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने प्रतिष्ठित पदमा विवाद नहोस् भन्ने उद्देश्यले नाम अस्वीकृत गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
राजदूत बन्न उच्च नैतिकता आवश्यक पर्ने उल्लेख गर्दै बुर्लाकोटीले पुरानो घटनासमेत चरित्रसँग जोडिएर आएको बताएका थिए । त्यसपछि समिति सभापति बोधनारायण श्रेष्ठले निर्णय प्रक्रिया अघि बढाउँदा सुनारको नाम सर्वसम्मत रूपमा अस्वीकृत भयो ।
मलेसियाका खरेलमाथि आर्थिक कारोबारको प्रश्न
त्यस्तै, संसदीय सुनुवाइ समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम पनि अस्वीकृत गरेको छ । उनीमाथि आर्थिक लेनदेन, स्वार्थको द्वन्द्व, म्यानपावर कम्पनीसँगको सम्बन्ध तथा स्थानीय तहमा अनुदान मिलाइदिने भन्दै रकम लिएको आरोपसम्बन्धी प्रश्न सुनुवाइका क्रममा उठेको थियो । सुनुवाइका क्रममा रास्वपा सांसद राजीव खत्रीले खरेलविरुद्ध परेका उजुरीको प्रसंग उठाउँदै आर्थिक कारोबार, बेरुजु तथा म्यानपावर व्यवसायसँगको सम्बन्धबारे जवाफ माग लगरेका थिए ।
खरेलले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका थिए । अनुदान मिलाइदिने आश्वासन नदिएको र त्यसका लागि कसैबाट रकमसमेत नलिएको उनको दाबी थियो ।
जापानका थापाको नाम स्थगन
त्यस्तै, जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम भने समितिले स्थगनमा राखेको छ । जापानको स्थायी आवासीय अनुमति (पीआर) र स्वार्थको द्वन्द्वसम्बन्धी विषय सुनुवाइका क्रममा उठेपछि आवश्यक कागजात प्राप्त नभएसम्म निर्णय स्थगित गरिएको हो ।
बैठकमा रास्वपा सांसद बुर्लाकोटीले कागजात नआएसम्म थापाको नाम होल्डमा राख्नुपर्ने बताएका थिए भने नेकपाका सांसद वर्षमान पुनले उनको नाम अस्वीकृत गर्नुपर्ने धारणा राखेका थिए ।
थापाले आफूले जापानको पीआर त्यागिसकेको बताए पनि त्यसको पुष्टि गर्ने कागजात समितिमा प्राप्त नभएको सभापति श्रेष्ठले जानकारी दिए । आवश्यक कागजातका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको र कागजात प्राप्त भएपछि मात्रै निर्णय लिन उपयुक्त हुने धारणा बैठकमा राखिएको थियो ।
थापाले आफ्नो पीआर त्यागेको बताए पनि उनकी श्रीमती र बच्चाहरू जापानमै बसिरहेको तथा उनीहरूसँग सम्बन्धित आवासीय अनुमतिको विषयले समेत समितिमा चर्चा पाएको थियो । रास्वपा सांसद मधु आचार्यले थापाले पीआर त्यागेको भएपनि उनको परिवारका सदस्यसँग पीआर हुँदा उनी नेपाल की जापान कता जवाफदेही हुन्छन् भन्ने आशयको प्रश्न गरेका थिए । आवश्यक कागजातको अध्ययनपछि मात्रै उनको नियुक्तिबारे निर्णय गर्ने समितिको तयारी छ ।
सुनुवाइ समितिबाट अनुमोदित
१. भारत — डा. निश्चलनाथ पाण्डे
२. चीन – डा. कल्याणराज शर्मा
३. अमेरिका — चिरनजंग थापा
४. बेलायत — गौरवशमशेर जबरा
५. जर्मनी — सरु जोशी
६. इजरायल — सुरेशकुमार कर्ण
७. ओमान — पद्माक्षी राणा
८. दक्षिण कोरिया — संगम श्रेष्ठ
९. स्पेन — प्राप्ति शेरचन
१०. श्रीलंका — डा. मञ्चला झा