काठमाडौं, ७ असोज - वैदेशिक व्यापारमा नेपालको घाटा अझ उच्च भएको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा भएको वैदेशिक व्यापारमा मुलुकलाई २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।
यो घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५९ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८१- ८२ को पहिलो दुई महिनामा २ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ व्यापार घाटा थियो ।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत भदौ मसान्तसम्म ३ खर्ब ५ अर्ब १५ करोडको वस्तु आयात भएको छ भने ४७ अर्ब ३१ करोडको निर्यात भएको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.२३ प्रतिशत बढी हो ।
गतवर्ष साउन र भदौमा २ खर्ब ६२ अर्ब ५४ करोडको वस्तु आयात भएको थियो । निर्यात पनि एक वर्ष अघिको तुलनामा अहिले बढेको छ । यसवर्ष साउन र भदौमा ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
जुन एक वर्षअघिको तुलनामा ८८.५७ प्रतिशत बढी हो । गतवर्ष साउन र भदौमा २५ अर्ब ९ करोडको निर्यात भएको थियो । आयातको तुलनामा निर्यातको प्रतिशत वृद्धि भए पनि रकम न्यून हुँदा व्यापार घाटा बढेको देखिन्छ । कुल वैदेशिक व्यापार २२.५४ प्रतिशत बढेर ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
पेट्रोलियम पदार्थ आयात सर्वाधिक
यसवर्ष पनि पेट्रोलियम पदार्थ सबैभन्दा धेरै आयात भएको छ । कुल ४५ अर्ब ३९ करोड रुपैयाँको पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास लगायतका पेट्रोलियम इन्धन आयात भएको छ । त्यसपछि सबैभन्दा धेरै आयात हुने वस्तु जनावरको बोसो र वनस्पति तेल रहेको छ, जुन २७ अर्ब ४१ करोडको आयात भएको छ । फलाम र स्टिल आयात २७ अर्ब ४१ करोडको भएको छ ।
वस्तु आयातलाई छुट्याएर हेर्दा यसपटक सबैभन्दा धेरै कच्चा सोयाबिन तेल १७ अर्ब ४० करोड रुपैयाँको आयात भएको छ । त्यसपछि डिजेल १४ अर्ब ९१ करोड, डीएपी मल (डायमोनियम फस्फेट) १३ अर्ब ६६ करोड, पेट्रोल १० अर्ब ५८ करोड, खाना पकाउने ग्यास ९ अर्ब ४३ करोड रुपैयाँको आयात भएको छ ।
सबैभन्दा धेरै निर्यात
सोयाबिन तेलको निर्यात सबैभन्दा धेरै भएको छ । जुन २० अर्ब ४२ करोडको निर्यात भएको छ । दोस्रो धेरै निर्यात हुने वस्तुमा कार्पेट छ । जुन १ अर्ब ५८ करोडको निर्यात भएको छ । यस्तै, सूर्यमुखी तेल १ अर्ब ३८ करोड, पाम तेल १ अर्ब ३१ करोड, भुवाजन्य वस्तु १ अर्ब १९ करोड र जुटबाट बनेका कपडाहरू १ अर्ब २ करोडको निर्यात भएको छ ।
सर्वाधिक व्यापार भारतसँग
यसपटक पनि नेपाल र भारतबीच नै सबैभन्दा धेरै व्यापार भएको छ । भारतबाट कुल १ खर्ब ७३ अर्ब ५४ करोडको आयात भएको छ । यस्तै नेपालबाट भारतमा ३८ अर्ब ३५ करोडको निर्यात भएको छ । भारतसँग कुल १ खर्ब ३५ अर्ब १९ करोडको व्यापार घाटा भएको छ ।
भारतपछि सबैभन्दा धेरै व्यापार चीनसँग भएको छ । चीनबाट ६५ अर्ब १७ करोडको आयात भएको छ । नेपालबाट चीनमा १२ करोड ३४ लाखको मात्रै निर्यात भएको छ । चीनसँग व्यापार घाटा ६५ अर्ब ५ करोड रुपैयाँ छ ।
तेस्रो धेरै व्यापार दक्षिण अमेरिकी देश अर्जेन्टिनासँग भएको छ । साउन र भदौमा अर्जेन्टिनाबाट १८ अर्ब ७० करोडको आयात भएको छ भने निर्यात जम्मा ५ लाख ८८ हजार रुपैयाँको भएको छ । अर्जेन्टिनासँग १८ अर्ब ७० करोडको व्यापार घाटा छ ।
नेपालबाट धेरै वस्तु निर्यात हुने दोस्रो देशमा संयुक्त राज्य अमेरिका छ । अमेरिकामा ३ अर्ब २१ करोडको निर्यात भएको छ । अमेरिकाबाट ६ अर्ब १२ करोडको आयात भएको छ । अमेरिकासँग २ अर्ब ९० करोड व्यापार घाटा छ ।
दुई महिनामा वस्तु आयातबाट सरकारले ७७ अर्ब ६३ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ । सबैभन्दा धेरै पेट्रोलियम इन्धनबाट १७ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको छ । दोस्रो धेरै राजस्व प्राप्ति सवारी साधन आयातबाट भएको छ । यसबाट सरकारले कुल १६ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ ।
सबैभन्दा धेरै राजस्व प्राप्त हुने सूचीको तेस्रो स्थानमा विद्युतीय मेसिनरी र उपकरण छ । जसबाट चार अर्ब २१ करोड रुपैयाँ राजस्व आम्दानी गरेको छ । यस्तै, फलाम र स्टिल आयातबाट सरकारले तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।