नेभिगेशन
राजनीति

खगेन्द्र सुनारको स्पष्टीकरणः  ‘आवश्यक परे सांसद र केन्द्रीय सदस्यबाट हटाइयोस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका विवादित सांसद खगेन्द्र सुनारले आफू विवादमा तानिएको अडियो प्रकरणमा स्पष्टीकरण गदिँदै निष्पक्ष छानबिन गर्न माग गरेका छन् । आफूबाट गलत काम भएको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् । एक महिलासँग अशिष्ट भाषामा कुरा गर्दै ज्यान मार्नेसम्मको धम्की दिएको अडियो सार्वजनिक भएपछि सुनार विवादित बनेका छन् । 
बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोपमा स्पष्टीकरण दिँदै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।  उनले आफूलाई लागेको आरोपबारे पार्टी, सरकार र राज्यका सम्बन्धित निकायले गर्ने छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘म माथि निर्मम छानबिन गरियोस् । आवश्यक परे प्रतिनिधिसभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस्,’ उनले लेखेका छन्, ‘मैले कुनै पनि कु–कर्म गरेको खण्डमा पार्टी, सरकार सती जान पर्दैन ।’
आफूमाथि आरोप लागेको भए सम्बन्धित महिलाको गोपनीयता कायम राखेर प्रहरी वा अदालतबाट अनुसन्धान गर्न सकिने भन्दै उनले अडियो आफैले ज्यान मार्ने धम्की दिएकी महिलाप्रति सहानुभूति देखाउन खोजेका छन् । ‘जे कारबाही हो, ममाथि होस्, मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन,’ सुनारले लेखेका छन् ।
उनले आफ्नो वक्तव्यमा प्रहरीको हेडक्वार्टर र ‘सीआईबी’ले पटक–पटक बोलाएको, मुद्दा हाल्न भनेको तथा सम्बन्धित महिलाले आफू अन्यायमा परेको भए आफैं मुद्दा हाल्ने जवाफ दिएको दाबी गरेका छन् । त्यसपछि दुवैलाई एकै झट्कामा सिध्याउने धम्की दिइएको र केही दिनपछि अहिलेको घटनाक्रम अघि बढेको उनको भनाइ छ । सुनारले यसअघि देखिनै  प्रहरी महानिरिक्षकविरुद्ध चेतावनीको भाषा बोल्दै आएका छन् । 
सुनारले आफूले उठाएका प्रश्नका कारण आफूमाथि प्रश्न गर्न नपाइने भन्ने नरहेको उल्लेख गर्दै घटनाबारे सत्यतथ्य छानबिन हुनुपर्ने बताएका छन् । अडियो प्रकरणमा रास्वपाले उनीसँग जवाफ माग गरिसकेको अवस्थामा अब पार्टीको धारणा र सम्बन्धित निकायको अनुसन्धानले घटनाबारे थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्