अघि वा पछिका बाढीमध्ये रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रलयकारी रहेको छ । यसले उब्जाएको पीडा सितिमिती थामिने लक्षण पनि देखिँदैन । २०८३ भदौ १० गते आएको अकल्पनीय भीषण बाढीले केही क्षणमै विपुल भौतिक संरचना मात्रै ध्वस्त तुल्याएन, हजारौंको प्राणहरण गरी अपूरणीय क्षतिसमेत गराएको छ ।
घाइते हुने, अपाङ्ग हुने, अनाथ हुने, बेसहारा हुने र घरबारविहीन हुनेका कथा–व्यथा त झनै कहालीलाग्दा छन् । छिमेकी चीन तथा भारत अथवा वरपरका केही मुलुकलाई मात्र होइन, दुनियाँलाई नै झस्काउने गरी भएको यो ‘विनाशलीला’ २१ औं शताब्दीको ‘एआई’ युगीन भनिने मानव सभ्यतासामु गुरु गम्भीर विषय बनेको छ । अहिले नेपालले भोग्नुपरेको जलवायु सङ्कटजन्य दुर्नियतिका सम्बन्धमा अनेक कोण, प्रतिकोणबाट चासो र चिन्ता प्रकट हुन थालेका छन् । बेलैमा चेती रोकथामको उपाय नअँगाल्ने हो भने यस्तैखाले घाउ जहिल्यै र जहाँसुकै उब्जन सक्ने आशङ्का व्याप्त रहेकाले नै ‘विश्वग्राम’ यतिखेर सोचमग्न हुन विवश भएको छ । यो पीडा ‘मसान वैराग्य’ मा सीमित नरहे भविष्यप्रति आशावादी हुने ठाउँ पनि प्रशस्त छ ।
परेका बखत सहयोगका हात लम्काउन उद्यत रहने देश, संस्था तथा व्यक्तिविशेषको कमी नरहनु अर्काे सकारात्मक पाटो हो । बाढीले कहर मच्चाएका बखत यसलाई नवीन ऊर्जा मान्न सकिन्छ । यही ऊर्जाको बलले फेरि नयाँ जग बसाउन मद्दत गरेको छ । राजनीतिक शब्दावली सापटी लिएर भन्ने हो भने शोकलाई शक्तिमा बदल्ने भनिएको यही हुनुपर्छ । अब फेरि त्यस्तैखाले विपत्ति आइलाग्दा पनि कम्तीमा जनधनलाई खासै असर नपर्ने किसिमले बस्ती स्थानान्तरण गर्नु अपरिहार्य आवश्यकता बनेको छ । मूलतः प्रभावित क्षेत्रमा खस्किएको मनोविज्ञान उकास्ने दिशातर्फ ‘तेरो र मेरो’ को भावना नराखी अभूतपूर्व ढङ्गबाट काम हुनु अनिवार्य छ ।
नेपाल तथा चीनको अन्तर्राष्ट्रिय सीमाक्षेत्र ‘रसुवागढी नाका’ मा भोटेकोशी नदी उर्लिई आएको भीषण बाढीले सडक ध्वस्त बनाई सम्पर्कसमेत विच्छेद गराएको छ । दुर्दशाको सिकार हुन पुगेको यो नाकाको छिटोभन्दा छिटो पुनर्जीवन किन पनि आवश्यक छ भने यसले नेपाल तथा चीनबीच युगौं अघिदेखि कायम सम्बन्धलाई नजिकबाट साक्षी रूपमा नियालिरहेको छ ।
नेपाल तथा चीनबीच सन् १९५५ अगस्ट १ (२०१२ साउन १७) तारिखका दिन राजदूतस्तरमा दांैत्यसम्बन्ध स्थापना भएको इतिहास पछिल्लो कडीमात्र हो, यसपूर्व शताब्दीयौं अघिदेखि तिब्बत (हाल ः चीन) सँग नेपालको सम्बन्ध रहँदै आएको छ । कहिलेदेखि यो सम्बन्ध रहेको हो यकिनसाथ भन्न सकिने प्रमाण नरहे तापनि लिच्छविकालयता साइनु गाँसिंदै आएको प्रष्ट देखिन्छ । नेपालकी छोरी भृकुटी र तिब्बतका छोरा श्रङ चङ गम्पोसित विवाह हुनुलाई दुईपक्षीय सम्बन्ध उचाइमा पु¥याइने विशेष कारण मानिएको छ । टुक्रा–टुक्रामा विभाजित तिब्बतलाई एकीकरण गरेर ‘ल्हासा’ राजधानी बनाएको श्रेय राजा गम्पोलाई प्राप्त छ । ईशाको सातौं शताब्दीको कुरो हो, १२ वर्षमै राजा बनेका गम्पोसित विवाह भई महारानी भएकी भृकुटीले त्यहाँ बौद्धधर्म विस्तार गर्नु र ‘हरित तारा’ का रूपमा देवीकै दर्जा पाउनु गौरवको विषय बनेको छ । यही केरुङको बाटो उनी त्यता लागेको बयान पनि भेटिन्छ । तल्लो केरुङमा ‘भृकुटीको मन्दिर’ समेत छ । विशाल हाताभित्र रहेको प्यागोडा शैलीको यो मन्दिर भव्य छ । आठौं शताब्दीमा बौद्धगुरु पद्मसम्भव (गुरु रिम्पोछे) लाई तिब्बत पु¥याउन नेपालले विशेष भूमिका खेलेको देखिन्छ । बौद्ध वज्रयान परम्पराका संस्थापक आचार्य पद्मसम्भव हाल पाकिस्तानमा पर्ने स्वात क्षेत्रबाट नेपाल आई यहाँका अनेक स्थानमा तपस्या गरी सिद्ध भएपछि तिब्बत गएका हुन् । राजा अभय मल्लको पालामा कलाकार अरनिको (बलबाहु) ८० जना शिल्पकारसहित चीन जाँदा यही बाटो गएका हुन सक्छन् । उनले चिनियाँ भूमिमा स्थापना गरेको ‘श्वेतचैत्य’ जस्ता दृष्टान्तले नेपाली कलाको महत्ता उचालिएको छ ।
पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा केरुङको बाहिरी भाग उनकै शासनभित्र रहेको इतिहास पाइन्छ । काठमाडौं उपत्यकाका व्यापारी ल्हासा, सिगात्से (सिगाछे), केरुङमा रहनु र त्यहाँ नेपाली मुद्रा चल्नु विशिष्ट पक्ष मानिएको छ । यही मुद्राको विषयलाई लिएर बारम्बार द्वन्द्व हुँदै आएको पाटो पनि छ । गोर्खाली राजा राम शाहले राज्य विस्तार गर्दा केरुङ पनि समेटिएको बयान पाइन्छ । नेपाल एकीकरण प्रक्रिया प्रारम्भ भएपछि पनि दुई देशीय व्यापार सम्बन्ध निरन्तर रहनुका साथै तीतामिठा घटना पनि हुँदै आएको देखिन्छ । गोरखा र भोटबीच भएको मुद्रा सन्धि, केरुङ सन्धि, वेत्रावती सन्धि, थापाथली सन्धि आदिले ऐतिहासिक पाटा दर्शाएका छन् । कहिले नेपाली सीमा केरुङ माथिसम्म पुगेको त कहिले खुम्चनुपरेको सिलसिलालाई यस्ता सन्धिपत्रले चित्रण गरेका छन् ।
नेपाल तथा चीनबीच यो सीमाक्षेत्र नजिकै रसुवागढी रहनु अर्को उल्लेखनीय बिन्दु हो । केरुङ र ल्हेन्दे खोला मिली भोटेकोशी बनेको थलोमा रसुवागढी छ । एक सय ७१ वर्ष पुरानो यो गढीले ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्व सँगालेको छ । वि.सं. १९१२ मा रसुवागढीको निर्माण गरिएको हो । यसअघि मल्लकालमा यो थलो सामान्य सैन्यस्थलका रूपमा रहेको थियो । नेपाल–तिब्बत÷चीनबीच दोस्रो युद्ध हुँदा उताको फौज वेत्रावतीसम्म घुस्न आएकाले पनि आफ्नो सुरक्षाका लागि गढीको आवश्यकता परेको हुनुपर्छ । रसुवागढी बनाउने काममा नेपाली फौजलाई वरपरका स्थानीयजनले समेत सघाएको बेहोराले यसलाई राष्ट्रियभावको द्योतक पनि मान्न सकिन्छ । यो गढी दुई महिना तेह्र दिन लगाई बनाइएको वर्णनसमेत भेटिन्छ ।
वि.सं. १९१२ को फागुनमा जनरल बमबहादुर कुँवर राणाको नेतृत्वमा गएको नेपाली फौजले केरुङ कब्जा गरेको इतिहास छ । केरुङ कब्जा गर्न जाँदा नेपाली फौज कुच गरेको ठाउँ यही हो । ठूला–ठूला ढुङ्गा कुँदेर बनाइएको अग्लो पर्खालमा निशाना लगाउन ४७ वटा प्वाल र ६० फिट लम्बाइ, छ फिट उचाइ र ६ फिट चौडाइको यो गढीमा रहेर नेपाली फौजले पटक–पटक तिब्बती÷चिनियाँ फौजसम्म युद्ध गरेको सौर्यकथा छ ।
यो पङ्क्तिकार गत वर्ष २०८२ असार २२ गते साँझ रसुवागढी पुगेको स्मरण यतिखेर ताजा भएको छ । त्यसको भोलिपल्टै मानसरोवर–कैलास यात्राका लागि केरुङतर्फ लागिएको हो । केरुङस्थित भृकुटी मन्दिरमा ‘नेपालले भृकुटीलाई ‘केरुङ’ दाइजो दिएको’ सुन्दा हर्षित नहुने कोही थिएनन् । कसका पालामा कहिले दाइजो दिइएको रहेछ भन्ने चाहिँ पत्तो लाग्न सकेन । गत भदौ १० गतेको जस्तो नभए तापनि पोहोर साल असार २४ गते ल्हेन्दे खोलामा आएको बाढी पनि भयङ्कर थियो । त्यतिबेला मितेरी पुल त गयो नै, कंैयन् जनधनको समेत नोक्सानी भयो । हामी अघिल्लो दिन नै केरुङ आई बसेकाले त्यसको प्रत्यक्ष असरमा त परिएन तर यो बाढीले कंैयन्लाई गहिरो शोक, सुर्तामा डुबाएको थियो । सायद, पोहोर सालको त्यो बाढी भावी अनिष्टको सङ्केत पो थियो कि, यसतर्फ चाहिँदो चासो नपुगेकैले हुनुपर्छ, यसपालि कहिल्यै पूर्ति गर्न नसकिने जनधनको महाक्षति मुलुकले बेहोर्नुप¥यो ।
यसपालिको भीषण बाढीले रसुवागढीलाई पनि अँचेट्यो । यहाँ फहराइएको राष्ट्रिय झण्डासमेत रहेन । गएको भदौ २० गते सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको संयुक्त टोली पुगी रसुवागढीमा राष्ट्रिय झण्डा पुनः फहराएका हुन् । यसअघि २०७५ सालको असोजमा नेपाली सेनाको कालीजङ गणद्वारा अग्लो स्तम्भ बनाई साढे २८ फिटको राष्ट्रिय झण्डा राखिएको थियो ।
नेपाली तथा अङ्ग्रेजीमा रसुवागढीको छोटकरी चिनारी दिइएको पाटीसमेत थियो । त्यहाँ भएका शिलालेख र देवीदेवताका मूर्ति पनि अविस्मरणीय छन् । उतिबेला, यिनै देवीदेवतासित आशीर्वाद लिई युद्धमा होमिएका थिए होलान् हाम्रा वीरपुर्खाहरू ! तब त स्थानीयजन समेत मिली ढुङ्गा बोकेर बनाइएको यो गढी केवल गढीका रूपमा नरही मुलुककै ढुकढुकी बन्न सफल रह्यो । यो प्राचीन सम्पदामाथि बाढीको के–कस्तो असर प¥यो होला, त्यो त आफ्नो ठाउँमा छँदैछ, इतिहासकै प्रतीकका रूपमा रहेको रसुवागढीको महत्वलाई कहिल्यै बिर्सन सकिँदैन । नेपाली बहादुरी दर्शाउने केही गढीमध्ये रसुवागढी पनि एक प्रमुख गढी हो । बाढीग्रस्त क्षेत्रमा नवनिर्माणको अभियान प्रारम्भ हुन लागेका बखत रसुवागढीलाई पनि ध्यान दिनुपर्ने अवस्था बनेको छ । अतः समयमै यसप्रति ध्यानाकृष्ट भई नयाँ पुस्तालाई प्राचीन दर्पण देखाउने र बाह्य पर्यटकलाई समेत आकर्षित तुल्याउने हिसाबमा क्रियाशील हुनु अत्यन्त जरुरी छ ।
(लेखक आचार्य गोरखापत्र दैनिकका पूर्व प्रधान–सम्पादक हुन् ।)