काठमाडौं, ७ असोज - नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कार्यभार सम्हालेको दोस्रो दिनमै तीनवटा निर्देशन दिएका छन् । उनले विद्यार्थीलाई परीक्षा लिएको वर्ष दिनसम्म नतिजा नदिने विश्वविद्यालयका लागि अनुदान रोक्ने बताएका छन् । साथसाथै देशभरका सबै सामदायिक माध्यमिक विद्यालयमा एकजना कम्प्युटर शिक्षकको दरबन्दी थप्न निर्देशन दिएका छन् ।
परीक्षा लिएको लामो समयसम्म परीक्षाफल सार्वजनिक नगर्ने त्रिभुवन विश्वविद्यालय लगायतलाई पनि समयमै निकाल्न अर्को निर्देशन दिएका हुन् । ‘नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने’ मन्त्री पुनले भनेका छन् ।
‘केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन् । विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो’ उनले भनेका छन्, ‘विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्यरूपमा परीक्षाफल निकाल्न निर्देशन दिने । समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गरिदिने ।’ राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाका ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै प्रकाशित गर्ने गरेको छ ।
मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुख नकाट्ने) सफा गरी सुन्दर बगैंचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन निर्देशन गरेका छन् ।
मन्त्रालयमै बास
नेपालकै इतिहासमा कोही पनि मन्त्री सायद मन्त्रालयमा बास बसेका छैनन् । सुशीला कार्कीको नेतृत्वमा मन्त्री बनेका शिक्षा मन्त्री पुन मन्त्रालयमै बस्ने भएका छन् । उनले मन्त्री भएकै दिनमा आफूलाई मन्त्रालयमा बस्ने व्यवस्था गरिदिन निर्देशन दिएका थिए । उनले आफैं पकाएर खाने र जहाँ काम गर्ने त्यहीँ बस्ने बताएका थिए । उनी सरल, साधारण जीवनयापन गरिरहेका व्यक्ति हुन् ।
मंगलबार मन्त्रालयमै बस्ने कोठाको व्यवस्थापन गरिएको छ । कोठाका लागि चाहिने ग्याँस चुलो, भाडाकुँडा, विस्तारालगायतका आवश्यक सामान मन्त्रालय लगिएको छ । कर्मचारीहरूले आवश्यक सामान मन्त्रालयको एउटा कोठामा व्यवस्थापन गरेका हुन् ।
उनी चर्चित नवप्रवर्तनकर्ताका रूपमा चिनिन्छन् । उनले ग्रामीण विकास, सूचना प्रविधि, विज्ञान प्रवर्धनमा महत्त्वपूर्ण योगदान दिएका छन् । उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष रहेका थिए ।
मन्त्री हुने निश्चित भएपछि राजिनामा दिएका थिए । उनी आविष्कार केन्द्रमै बस्दै आएका थिए । उनले वीरगञ्ज कृषि औजारका लागि आफ्नै पुस्तक बेच्दै देशभर हिडेका थिए । त्यसै क्रममा मन्त्री बनेका हुन् ।