नेभिगेशन
खेलकुद

पदक विजेताले पाए द्रुत गतिमा पुरस्कार रकम

सरकारले २०औँ एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ । खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ ।
    यसअघि असोज २३ गतेको मन्त्रिपरिषद्ले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो । जसअनुसार तेन्जिङलाई छ लाख ५० हजार रूपैयाँ, प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाख ३० हजार रूपैयाँ र व्यवस्थापक युवराज लामालाई पुरस्कारस्वरुप ६५ हजार रूपैयाँ रकम उपलब्ध गराइएको छ ।
    त्यस्तै, कबड्डी टोलीका खेलाडीले जनही एक लाख ९५ हजार रूपैयाँ, मुख्य प्रशिक्षक पार्वती राईले एक लाख ३० हजार रूपैयाँ, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले ६५ हजार रूपैयाँ प्राप्त गरेका छन् ।
यसैगरी करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद दिएका छन् । “सरकारले निर्धारित र निर्णय गरेको २०औँ एसियन गेम्सको पुरस्कार रकम डिपोजिट भएको जानकारी गराउन चाहन्छु । द्रुत गतिमा काम भएकामा नेपाल सरकारलाई धन्यवाद,” श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।
    जापानको नायोगामा भएको २०औँ एसियन गेम्समा नेपालबाट करातेका तेञ्जिङ र महिला कबड्डी टोलीले कास्यपदक जित्न सफल भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्