नेभिगेशन
खेलकुद

पौडीमा निसर्ग बाटिका प्रथम

१४ औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुल पहिलो भएको छ । निसर्ग मङ्गलबार सम्पन्न प्रतियोगितामा कूल १३६३ अङ्क बनाएर च्याम्पियन भयो । दोस्रो भएको एपिएफले ६१३ तथा तेस्रो भएको जेम्सले ६०६ अङ्क प्राप्त गरे ।

दुई दिने प्रतियोगितामा नेपाल आर्मी क्लबकी डुवाना लामाले कूल सात स्वर्ण पदक जित्नुभयो । उहाँले पहिलो दिन चार र दोस्रो तथा अन्तिम दिन तीन स्वर्ण पदक जित्नुभएको हो । उहाँ महिलातर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । यसैगरी कूल चार स्वर्ण र दुई रजत पदक जित्ने नेपाल पुलिस क्लबका एरभिन श्रेष्ठ पुरुषतर्फ उत्कृष्ट खेलाडी चुनिनुभयो ।

आयोजक नेपाल पौडी सङ्घले प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान बनेको जानकारी दिएको छ । एरभिन श्रेष्ठले सबभन्दा बढी छ राष्ट्रिय कीर्तिमान राख्नुभयो । यसैगरी अभिभ प्रधानले चार तथा जेडेन श्रेष्ठले तीन राष्ट्रिय कीर्तिमान कायम गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहतालगायतले समापन समारोहमा विजयी टोली तथा खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगिता सातदोबाटोस्थित पौडीपोखरीमा भएको हो । बेइजिङमा डिसेम्बर पहिलो साता हुने सर्ट कोर्स विश्व च्याम्पियनसिपको छनोटका लागि प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा ३६ टोलीका १५१ जनाको खेलाडीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्