नेभिगेशन
नेपाल

गृह, रक्षा मन्त्रालय र योजना आयोगका सचिव हेरफेर

काठमाडौं, ७ असोज - सरकारले कर्मचारी सरुवा हेरफेरमा काम थालेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तीनजना सचिवहरूको सरुवा गरेको हो । जेनजीको प्रदर्शनको क्रममा सरकारले बर्बर दमन गर्न सरोकार राख्ने गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । दुवाडी गतवर्ष भदौ २१ गते गृहसचिव भएका थिए ।

रक्षा सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालय पठाइएको छ । रक्षा मन्त्रालयमा राष्ट्रिय योजना आयोगबाट सुमनराज अर्याललाई ल्याइएको छ । राष्ट्रिय योजना आयोगका सचिव अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गर्ने निर्णय गरेको जानकारी गराएका थिए । तर उनले आफ्नै मन्त्रालयको सचिव सरुवाबारे जानकारी दिएका थिएनन् ।

जेनजी आन्दोलनपछिको सरकारले गृह प्रशासनमा व्यापक हेरफेर गरिरहेको छ । प्रहरीको जिम्मेवारी पनि धमाधम हेरफेर भइरहेको छ । प्रहरीको सीआईबी र काठमाडौं प्रहरी प्रमुखसहित झण्डै २ सय प्रहरीको सरुवा गरिएको छ ।

अर्थमन्त्रालयले पनि सचिवहरू फेर्न सुरु गरेको छ । व्यापारी दीपक भट्टको प्रभावमा अर्थ मन्त्रालयभित्र काम गर्दै आएको आरोप लाग्ने गरेका राजस्व सचिव दिनेश घिमिरे सरुवामा परेका छन् । उनको सचिवको स्थान खाली राखिएको छ ।

अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा आइतबारको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको हो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्