काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्य समितिमा अधिकांश अनुहार नयाँ आउने भएका छन् । बिहीबार अबेर रातीसम्म सार्वजनिक मत परिणामले यस्तो देखाएको हो । पार्टीभित्र पुराना नेताहरुको प्रभाव खुम्चिएको छ ।
सभापतिमा गगनकुमार थापा निर्वाचित भएर पुस्तान्तरण भएसँगै नेतृत्वमा नयाँ अनुहारको वर्चस्व देखिएको छ । थापाको नेतृत्वमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् । सहमहामन्त्रीमा खुलातर्फ रामहरी खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।
पदाधिकारीका विभिन्न पदमा नयाँ अनुहारको प्रवेशले कांग्रेसभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको संकेत गरेको छ । लामो समयदेखि पार्टीको नेतृत्वमा प्रभाव राख्दै आएका नेताहरूको तुलनामा नयाँ पुस्ताका नेताहरूले यसपटक महŒवपूर्ण जिम्मेवारी पाएका छन् ।
रौतहटमा फिरदोश आलम सहमहामन्त्री (मुस्लिमतर्फ) निर्वाचित भए । उनी पहिलो पटक केन्द्रीय समितिमा सहमहामन्त्रीका रुपमा प्रवेश गरेका छन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशबाट जित्ने कांग्रेसका उनी एक्ला नेता हुन् । उनी कांग्रेसका पुराना नेता अफ्ताब आलमका छोरा हुन् । त्यस्तै, खसआर्य सहमहामन्त्रीतर्फ पनि मनोजमणि आचार्य निर्वाचित भएका छन् । उनी पनि यसअघि केन्द्रिय समितिमा थिएनन् । रोल्पाका आचार्य नेविसंघका पूर्वमहामन्त्री हुन् । त्यस्तै, विनोद चौधरी उपसभापति निर्वाचित भएका छन् । उक्त पदमा चौधरीसँग जीवन परियार, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जीत कर्ण प्रतिष्पर्धी थिए । केन्द्रीय समितिको प्रभावशाली पदमा निर्वाचित चौधरी पनि नयाँ अनुहार हुन् ।
त्यस्तै, पहिलो पटक सांसद निर्वाचित भएकी बासना थापा लोकप्रिय मतसहित केन्द्रीय सदस्य निर्वाचित भइन् । उनी प्रतिनिधिसभामा कांग्रेसकी प्रमुख सचेतक हुन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र कांग्रेसका सचेतक निश्कल राई पनि लोकप्रिय मतसहित निर्वाचित भए । उनीहरु कांग्रेस केन्द्रिय समितिमा पहिलोपटक पुगेका हुन् ।
३५ मुनिबाट यसपटक प्रत्येक प्रदेशबाट २ र खुलातर्फ ७ गरी २१ जना पहिलो पटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश गर्दैछन् । त्यस्तै, खुला ४५ तर्फ पनि नयाँ अनुहारको वर्चस्व छ । पेसागतसहितका विभिन्न क्लष्टरबाट नयाँ अनुहार निर्वाचित भएका छन् । विभिन्न क्लष्टरमा उम्मेदवार बनेका अधिकांश डाक्टर र इञ्जिनियरले लोकप्रिय मत पाएका छन् ।
निर्वाचित नयाँ अनुहार, चुनौती आउने निर्वाचन
जेनजी आन्दोलनपछि कांग्रेसको विशेष महाधिवेशन भयो । जसले पुरानो नेतृत्वलाई विस्थापित गर्दै गगन थापाको पुस्तामा पार्टीको मूल नेतृत्व ल्यायो । १५औं नियमित महाधिवेशनले सभापतिमा थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रौलालाई निर्वाचित ग¥यो ।
कांग्रेसले जेनजी आन्दोलनपछि बदलिएको अवस्था र रास्वपाको उदयसँगै विभिन्न पेसागत समूह र युवाहरुको बढेको आकर्षणलाई चुनौतीका रुपमा लिएको छ । त्यसैले पनि यसपटक कांग्रेसले केन्द्रीय नेतृत्वमै युवा र पेसाकर्मीलाई क्लष्टर छुट्याएर आउने बाटो सहज बनाइदिएको थियो । सार्वजनिक परिणामअनुसार नेतृत्वमा नयाँ अनुहार स्थापित गरेर आउने निर्वाचनमा रास्वपाको वेग रोक्ने र प्रतिस्पर्धामा अब्बल साबित हुने गृहकार्य गरेको छ ।
पेसागततर्फबाट ५ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी, केशव निरौला, डा. प्रदीप मिश्र, प्राडा जगदीशचन्द्र पोखरेल र वरिष्ठ अधिवक्ता सीताराम केसी निर्वाचित भए । उनीहरु सबै पार्टीको केन्द्रीय समितिमा पहिलोपटक पुगेका हुन् ।
त्यस्तै, ३५ मुनिको खुला ७ युवातर्फ सुशील भट्ट, आदर्श मल्ल, सचिन तिमिल्सना, डा.आयुस बगाले, अभिषेक आत्रेय, रोशन बस्नेत र शैलेश मिश्र निर्वाचित भएका छन् । त्यस्तै, प्रदेशबाट निर्वाचित १४ पनि अधिकांश नयाँ अनुहार छन् । सुदूरपश्चिम प्रदेश महिलातर्फबाट अम्बिका चलाउने, ३५ मुनिका रिता शाही, भुवन भट्ट, जनक चटौत सबै पहिलो पटक आएका हुन् ।
खुला ४५ तर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भए । प्रवल थापा, हिमालदत्त श्रेष्ठ, विद्वान गुरुङ, सन्दीप राना, शोभाकर पराजुली, अमृत ज्ञवाली, जन्मजय तिमल्सिना, नरेन्द्र केरुङ, ऋषि कोइराला, नवराज ज्ञिपाठी, बलदेव तिमल्सिना, कृष्णप्रसाद पौडेल, दीपकबाबु कँडेल, मीनकृष्ण महर्जन, सुधांशु कोइराला, युवराज पाण्डेय, मुकेशराज काफ्ले, किरणकिशोर घिमिरे, मुक्तिराम श्रेष्ठ, महेन्द्रकुमार शर्मा, कुमार लुइँटेल, दीपक भट्टराई, सुरजराज काफ्ले पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
नवनिर्वाचित हिमालदत्त श्रेष्ठले विशेष महाधिवेशनपछि नियमित महाधिवेशनसम्म आउँदा कांग्रेसमा नयाँ अनुहारको आकर्षण बढेको बताए । ‘जनसरोकारका मुद्दालाई नै प्राथमिकतामा राखेर हामी आउने निर्वाचनमा जान्छौं,’ उनले भने,‘स्थानीय तह र प्रदेशको निर्वाचनमा सबैभन्दा लोकप्रिय पार्टीका रुपमा स्थापित गछौं । गगन थापाको नेतृत्वलाई सहयोग गरेर हामी त्यसका लागि वातावरण बनाउनेछौं ।’
नयाँ नेतृत्व चयनसँगै कांग्रेसको संगठन सञ्चालन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक रणनीतिमा परिवर्तन हुने नवनिर्वाचित अर्का केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले बताए ।
केन्द्रीय सदस्यका विभिन्न पदको मतगणना अझै जारी छ । कांग्रेसको निर्वाचत समितिले बिहीबार बेलुकीसम्ममा सम्पूर्ण मतगणना सक्ने दाबी गरेको छ । कांग्रेसमा यसपटक विधान संशोधन गर्दै २ सय ९७ जनाको जम्बो केन्द्रिय समिति बनाइएको छ ।