दशैं भन्नेबित्तिकै धेरैको मनमा दुर्गा भवानीको पूजा, रातो टीका, पहेँलो जमरा र परिवारका ज्येष्ठ सदस्यबाट आशीर्वाद ग्रहण गर्ने परम्परा आउँछ । तर नेपालको दशैं यतिमा मात्र सीमित छैन । विभिन्न जातजातिका फरक धार्मिक विश्वास, कृषि परम्परा, युद्ध संस्कार, तान्त्रिक विधि र पारिवारिक सम्बन्धलाई समेटेको यो पर्व नेपाली समाजको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा स्थापित छ ।
आश्विन शुक्ल प्रतिपदामा जमरा राखेर सुरु हुने दशैं कोजाग्रत पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा घटस्थापना, फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीजस्ता दिनका आ–आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व छन् । विजयादशमीमा टीका र जमरा ग्रहण गर्दै ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने, टाढा रहेका परिवारका सदस्य घर फर्किने र आफन्तसँग भेटघाट गर्ने परम्पराले यस पर्वलाई सामाजिक एकताको माध्यम बनाएको छ । नेपाल पर्यटन बोर्डले पनि दशैंलाई धार्मिक अनुष्ठानसँगै पारिवारिक पुनर्मिलन, आशीर्वाद आदानप्रदान र कृषि जीवनसँग जोडिएको पर्वका रूपमा व्याख्या गरेको छ ।
यस पर्वलाई हिन्दु धर्मसँग मात्र जोडेर हेर्दा यसको सांस्कृतिक विविधता ओझेलमा पर्न सक्छ । हिन्दु धार्मिक मान्यतामा आधारित दुर्गा पूजा दशैंको महत्वपूर्ण पक्ष हो । तर नेपालका विभिन्न समुदायले आफ्नै विश्वास, परम्परा र स्थानीय संस्कृतिअनुसार यसलाई मनाउँदै आएका छन् । त्यसैले दशैंको पहिचान धार्मिक आस्थामा मात्र नभई यससँग जोडिएका नेपाली समाजका विविध अभ्यासमा पनि खोज्नुपर्ने देखिन्छ ।
टीका र जमराः आशीर्वादसँगै कृषि संस्कृतिको निरन्तरता
दशैंको सबैभन्दा परिचित प्रतीक टीका र जमरा हुन् । विजयादशमीका दिन चामल, दही र अबिर मिसाएर बनाइएको टीका लगाउने तथा जमरा ग्रहण गर्ने चलन नेपालमा व्यापक छ । तर सबै समुदायले एउटै रङको टीका लगाउँदैनन् । गुरुङ, मगर, राई, लिम्बू र थारूलगायतका समुदायका धेरै परिवारमा सेतो टीका लगाउने परम्परा छ । कतिपय परिवारमा भने रातो टीका पनि प्रचलित छ । यसले एउटै पर्वभित्र समुदायअनुसारका सांस्कृतिक भिन्नता कायम रहेको देखाउँछ ।
सेतो टीकालाई चामल र दहीको मिश्रणका रूपमा बुझ्न सकिन्छ । सांस्कृतिक अध्येता डा. जगमान गुरुङले विगतमा विभिन्न समुदायमा सेतो टीका लगाउने चलन रहेको र पछि अबिरको प्रयोगसँगै रातो टीकाले व्यापकता पाएको बताए । यस आधारमा टीकाको रङलाई कुनै एउटा समुदायको स्थायी वा एकमात्र मौलिक पहिचानका रूपमा व्याख्या गर्नुभन्दा यसको ऐतिहासिक विकास र क्षेत्रीय विविधताका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।
जमराको परम्परा पनि कृषि जीवनसँग जोडिएको छ । दशैंको सुरुवातमा जौ वा अन्य उपयुक्त अन्नको बीउ उमारेर अँध्यारो वा कम प्रकाश पर्ने स्थानमा हुर्काइन्छ । विजयादशमीका दिन त्यही जमरा टीकासँगै ग्रहण गरिन्छ । कृषि प्रधान समाजमा बीउ, अन्न, उर्वरता र समृद्धिको प्रतीकका रूपमा जमरालाई हेर्न सकिन्छ । यसले प्रकृति र उत्पादनसँग नेपाली समाजको सम्बन्धलाई पर्वसँग जोडेको छ ।
दशैंमा नवमीका दिन हातहतियार, औजार, सवारीसाधन तथा काममा प्रयोग हुने उपकरणको पूजा गर्ने चलन पनि छ । यसलाई देवीप्रतिको आस्थासँगै आफ्नो जीविका, श्रम र सुरक्षाका साधनप्रतिको सम्मानका रूपमा बुझ्न सकिन्छ । कृषकका औजारदेखि आधुनिक सवारीसाधनसम्म पूजामा समेटिनुले परम्पराले समयअनुसार नयाँ वस्तु र अभ्यासलाई पनि आत्मसात् गर्दै गएको देखाउँछ ।
नेवार समुदायको मोहनीः तन्त्र, परम्परा र पारिवारिक सम्बन्ध
काठमाडौं उपत्यकामा दशैंलाई नेवार समुदायले ‘मोहनी’ वा ‘मोहनी नखः’ का रूपमा मनाउँछ । यस पर्वको आफ्नै धार्मिक विधि, स्थानीय देवदेवीको आराधना, भोज, जात्रा र पारिवारिक संस्कार छन् । उपत्यकाका विभिन्न स्थानमा मनाइने जात्रा तथा खड्ग प्रदर्शनले पनि मोहनीको सांस्कृतिक विशिष्टता झल्काउँछन् ।
मोहनीको विशेष पहिचानमध्ये एक हो, कालो टीका अर्थात् ‘मोहनी सिन्ह’ । परम्परागत विधिबाट तयार पारिने यो टीका रातो टीकासँगै लगाइन्छ । नेवार समुदायमा यसलाई नकारात्मक प्रभावबाट जोगिने, शुभकामना प्राप्त गर्ने र पारिवारिक आशीर्वादसँग जोडेर हेरिन्छ । मोहनीको धार्मिक तथा सांस्कृतिक अर्थ बुझ्न यसलाई केवल टीकाको अर्को रङका रूपमा मात्र नभई समुदायको विशिष्ट परम्पराका रूपमा हेर्नुपर्छ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा मोहनीका विधि पनि एकरूप छैनन् । स्थानीय देवताको पूजा, खड्ग जात्रा, नवदुर्गासँग सम्बन्धित नाच र सामूहिक भोजले ठाउँअनुसार पर्वको स्वरूप फरक बनाएका छन् । यसले दशैंको साझा समयभित्र स्थानीय संस्कृतिको छुट्टै जीवन्तता कायम रहेको देखाउँछ ।
नेपाली दशैंका आफ्नै विशेषता
दशैंलाई धार्मिक रूपमा व्याख्या गर्दा दुर्गाले महिषासुरको वध गरेको तथा असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको कथालाई प्रमुखता दिइन्छ । दक्षिण एसियाका विभिन्न समुदायमा विजयादशमीसँग सम्बन्धित राम–रावणको कथा पनि प्रचलित छ । तर नेपालमा दशैंको मुख्य सामाजिक अभ्यासमा परिवारका ज्येष्ठ सदस्यबाट टीका र जमरा ग्रहण गर्ने, घर फर्किने र आफन्तसँग आशीर्वाद साटासाट गर्ने परम्परा विशेष रूपमा स्थापित छ ।
भारतका विभिन्न क्षेत्रमा पनि दशहरा र नवरात्रि मनाइन्छ । त्यहाँको पर्वको स्वरूप प्रदेश, भाषा र स्थानीय परम्पराअनुसार फरक हुन्छ । कतै रामलीला र रावणको पुतला दहन प्रमुख हुन्छ भने कतै दुर्गा पूजा तथा सार्वजनिक उत्सवलाई महत्त्व दिइन्छ । नेपालमा प्रचलित टीकाजमरा र पारिवारिक आशीर्वादको अभ्यासले नेपाली दशैंलाई विशिष्ट स्वरूप दिएको छ । त्यसैले भारतमा दशहरा मनाइने भएकाले नेपाली दशैंको मौलिकता समाप्त हुन्छ भन्ने होइन; एउटै धार्मिक कथासँग सम्बन्धित पर्वले फरक समाजमा फरक सांस्कृतिक रूप लिन सक्छ ।
नेपालीको मौलिक पर्व
काठमाडौं उपत्यकामा गुञ्जिने मालसिरी धुन र यहाँका नेवारले मनाउने पृथक शैलीको दसैंले राष्ट्रिय रुप लिएको छ । हिन्दुको पर्व हुन्थ्यो भने यो संसारभरी एउटै धुन हुन्थ्यो । तर दशैंको मालश्री धुन नेपाली मात्रको छ ।
दशैंमा रामले रावणमाथि विजय प्राप्त गरेको कहानी नेपाली दशैंसँग कतै मेल खाँदैन । यद्यपि मातृशक्तिका पुजारी भएकाले नेपालमा दैवीशक्ति नवदुर्गा भवानीको आराधना गरेको भने हिन्दु धर्मसँग मेल खान्छ ।
तर नेपालमा जस्तो हातहतियार, मेशिन, उपकरण, कितावको पूजा गरेर दशैं मनाउने प्रचलन अरु हिन्दुमा भेटाउन मुश्किल छ ।
गण्डकी प्रदेशमा गुरुङ, मगर लगायत जनजातिहरू खुँडा र खुकुरी बोकेर परिक्रमा गदै दशैं मनाउँछन् । यो युद्धभ्यासको नमुना हो । दसैंको टीका विजयको प्रतिक हो । लडाइँमा जानुअघि पहाडका देउराली वा देवीथानमा मार हान्ने चलन छ। जनावरको घाँटीबाट झर्ने रगत थालमा तपतप जम्मा गरिन्थ्यो र, त्यसैलाई चामलसँग मुछेर ‘शक्तिकी देवीको प्रसाद’ का रूपमा टीका लगाइन्थ्यो।
चामल जब टिका बन्छ तब अक्षता बन्छ । ‘क्षत भनेको नाश हो, अक्षत भनेको नाश नहुने हो । ‘यही नाश नहुने अन्नका रूपमा चामललाई अक्षता भनी टीका लगाएर विजयी र शुभकामना दिइन्छ । पूर्वतिर अक्षतामा अबिर नलगाइ सेतो टिका लगाउने चलन छ । यसैंगरी गुरुङ, मगर, राई, लिम्बू, तामाङलगायतका जनजातिमा सेतो टिका लगाउने चलन छ । अन्यतिर भने रातो टिका लगाइन्छ । अनि नेवारहरुले रातो टिका माथि छुट्टै पहिचान दिने गरी मोहनी सिन्ह (कालो टिका) लगाउने चलन छ ।
नेपालको दशैंको अर्को विशेषता भनेको जमरा हो । यो कृषि पेशा सिकाउने शिक्षा पनि हो ।
घरभित्र जमरा उमारेर कृषि कर्म सिकाइन्छ । प्रतिपदामा उमारेको जमराको पूजा गरेर नवमीका दिन कृषि औजार पूजा गरी दशमीका दिन घरका सदस्यहरुलाई घरमुलीले कृषि औजार हस्तान्तरण गर्ने प्रचलन नेवारलगायतका अन्य समुदायमा प्रचलनमा छ । यसर्थ यो चाड नेपालीको मौलिक चाड हो ।
माटोको पूर्वपरीक्षण र बीउ कति उब्जाउ छ भनेर अड्कल काट्न जमरा रोप्ने चलन सुरु भएको हो । भाद्रमा भाँचेको मकै बीउ लाग्ने हो कि हैन र मंसिरमा लगाइने जौ उम्रिन्छ कि उम्रिन्न भनेर परीक्षण गर्नका लागि नेपालीको मौलिक दशैंलाई उपयोग गरेको देखिन्छ ।
नेवार संस्कृतिमा रातोसँगै कालो टीका लगाउने चलन छ, जसलाई ‘मोहिनी’ भनिन्छ । नेवार भाषामा दसैंलाई नै मोहिनी भन्ने गरिन्छ। दसैंको पूजाकोठाभित्र सलिँचामा दियो बालेर छोपेपछि धुवाँसिन्छ । त्यही धुवाँसिएको भाग झिकेर मोहिनी तयार पारिन्छ ।
यो घरको गोप्यकोठामा तन्त्रविद्याबाट तयार गरिन्छ । मोहनीको निर्माण महानवमीका दिन गरिन्छ । यहिं मोहनी दशमीका दिन लगाइ घरमा माया प्रेम पैदा गर्ने प्रचलन रहेको छ । मोहनी सम्मोहन गर्ने तान्त्रिक विद्या पनि हो । यो दिन खासगरी अरुको नजर नलागोस् भनेर आफ्नै घरको मात्र मोहनी लगाउने गरिन्छ । यो मोहनी लगाएर केटी भगाउने प्रचलन भक्तपुरमा रहेको छ । दशैंको दिनमा केटी भगाउनेलाई मोहनी लाएर लग्यो भने चलन छ । यसैंले यो मायाप्रेमको उत्सव पनि हो ।
केटाकेटीलाई घरबाहिर निकाल्दा नकारात्मक प्रभाव नपरोस्, भूतप्रेत नलागोस् भनेर कालो टीका लगाइदिने चलन छ, मोहिनीलाई त्यस्तै विकृति, रोगव्याधि लगायत नकारात्मक प्रभावबाट बचाउने सुरक्षा कवचका रूपमा पनि लिने गरिन्छ ।
‘काठमाडौं उपत्यका तान्त्रिक सहर हो । यहाँको नेवारी संस्कृति भनेकै तन्त्रप्रधान छ । तन्त्रविद्यामा कालो टीकाको ठूलो भूमिका हुन्छ। मोहिनी त्यही तान्त्रिक विधिबाट आएको टीका हो ।
गुण–दोषकै आधारमा दशैं हाम्रो देश, समाज र बहुसंख्यक नेपालीको सबैभन्दा महान् र लामो चाड हो। राज्य वा शासकहरुले सम्पूर्ण जनतालाई ’हिन्दुकरण’ गर्नकै लागि दशैंलाई अनावश्यक महत्व दिएको होइन । दशैं सनातनी पर्व हो । हिन्दुले नि मान्ने, बौद्धले नि मान्ने। हिन्दुले दशैंमा देवीको पूजा गर्छन्, बौद्धले प्रज्ञाको। हिन्दुले रातो टीका लांउँछन्, बौद्धले सेतो। हिन्दुले काटमार गरेर मनांउँंछन्, बौद्धले नगरीगन मनाउने गरेको संस्कृतिविद् डा.पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।
वास्तवमा दशैंको सर्वाधिक सवल राष्ट्रिय र सांस्कृतिक पर्व हो । यो नेपाली जातिको साझा चाड हो, हाम्रो पहिचान हो । देशभित्र मात्र होइन, संसारैभर जहाँजहाँ नेपाली डायस्पोरा पुगेका छन्, चाहे ती पूर्वोत्तर भारतदेखि आसामसम्मका पुराना बस्ती हुन् चाहे अमेरिका–अस्ट्रेलियादेखि अरब–मलेसियासम्मका अहिलेका नयाँ गन्तव्य, त्यहाँका नेपाली सकेसम्म, भ्याएसम्म आपसमा जम्मा भएर उल्लास र उमंगका साथ दशैं मनांउंँछन् । टीका र शुभकामना साटासाट गर्छन्।
दशैंलाई नेपालीको मौलिक पर्व भन्नुको अर्थ यसको धार्मिक स्रोत वा दक्षिण एसियाका अन्य संस्कृतिसँगको सम्बन्ध अस्वीकार गर्नु होइन । यसको अर्थ नेपालमा विकसित भएका टीका–जमरा, मोहनी, स्थानीय जात्रा, औजार पूजा, पारिवारिक पुनर्मिलन र समुदायअनुसारका विविध परम्परालाई राष्ट्रिय सांस्कृतिक सम्पदाका रूपमा पहिचान गर्नु हो ।
यसरी हेर्दा बडा दशैं एउटा धार्मिक अनुष्ठानमा सीमित छैन । यो नेपाली समाजको कृषि इतिहास, पारिवारिक सम्बन्ध, सामुदायिक विविधता र सांस्कृतिक निरन्तरताको संगम हो । रातो वा सेतो टीका, जमरा वा मोहनी सिन्ह, देवी पूजा वा स्थानीय देवताको आराधना—यी सबैले फरक अभ्यास हुँदाहुँदै पनि समाजलाई जोड्ने अवसर प्रदान गर्छन् । यही विविधताभित्रको साझा अपनत्व नै नेपाली दशैंको विशिष्ट सांस्कृतिक शक्ति हो ।