नेभिगेशन
दृष्टिकोण
पर्यावरण

पानीको चक्र घुम्न छाडे के हुन्छ ?

विश्वको तापक्रम नियन्त्रण गर्न, मौसमको ढाँचा तय गर्न र प्राकृतिक प्रणाली (इकोसिस्टम) लाई डोहो¥याउन समुद्री प्रवाहले हाम्रो पृथ्वीको रक्तसञ्चार प्रणालीले जस्तै काम गर्छन् । महासागरलाई पाँचवटा भौगोलिक क्षेत्रमा बाँडिएको छ । एटलान्टिक वा प्रशान्त जस्ता महासागरमा पानीको गोलाकार बहाव हुन्छ, तर कामको हिसाबले हेर्ने हो भने हामी एउटै विशाल महासागर भएको संसारमा बाँचिरहेका छौँ । डा. शार्लोट विलियम्स भन्छिन्, “हामी सबै एउटै महासागरमार्फत जोडिएका छौँ । समुद्री प्रवाहले भूमध्य रेखाबाट तातोपन र महŒवपूर्ण पोषक तŒवहरू अन्य ठाउँ (उच्च अक्षांश) तर्फ लैजाने काम गर्छन् ।” शरीरको रक्तसञ्चार प्रणालीले जस्तै, यी समुद्री प्रवाहहरूले हाम्रो जलवायुलाई बचाइराख्न आवश्यक पर्ने वातावरणीय तŒवहरू ओसारपसार गर्ने काम गर्छन् ।
तर विश्वभर हुने पानीको यो बहाव अचानक रोकियो भने के होला ? समुद्री पानीको बहाव नहुने हो भने पृथ्वीको जलवायु र यसमा आश्रित जीवन सधैँका लागि बदलिनेछ । विलियम्स भन्छिन्, “यदि समुद्री प्रवाह रोकियो भने यहाँको प्राकृतिक प्रणाली पूरै फरक देखिनेछ, किनभने समुद्री जीवनका धेरैजसो प्रणालीहरू पोषक तŒव पाउन यिनै प्रवाहमा निर्भर हुन्छन् । यदि प्रवाह कम भयो वा मानौँ बहाव नै रोकियो भने, महासागरका ठूला हिस्सामा जैविक गतिविधि र उत्पादन निकै घट्ने सम्भावना हुन्छ ।”
नाइक्रेट र फस्फेट जस्ता पोषक तŒवहरू सडेगलेका पदार्थहरूबाट निस्किन्छन् र महासागरको गहिराइमा जम्मा हुन्छन् । यी तŒवहरूलाई समुद्री प्रवाहले पानीको सतहमा ल्याउँछन् । सतहमा चल्ने हावाले तातो पानीलाई धकेल्छ, जसले गर्दा गहिराइको चिसो पानी आफूसँगै पोषक तŒवहरू लिएर माथि आउन पाउँछ । यी पोषक तŒवहरूले महासागरका सबैभन्दा महत्त्वपूर्ण जीवहरूमध्ये एक ‘फाइटोप्लाङ्कटन’ (अति साना वनस्पति वा जीव) लाई हुर्कन मद्दत गर्छन् । पृथ्वीका लगभग सबै समुद्री इकोसिस्टमका लागि फाइटोप्लाङ्कटन नै मुख्य आहार उत्पादक हुन् । ब्याक्टेरिया, लेउ र अन्य साना जीवहरू गरी यी सूक्ष्म जीवहरूका करिब एक लाख फरक–फरक प्रजातिहरू रहेको अनुमान छ ।
आफैँमा आहारको महŒवपूर्ण स्रोत हुनुका साथै, फाइटोप्लाङ्कटनले प्रकाश संश्लेषणमार्फत सूर्यबाट ऊर्जा लिन्छन् । उनीहरूले सूर्यको प्रकाश र हावामा भएको कार्बन डाइअक्साइडलाई अक्सिजनमा परिणत गर्छन् । यो अक्सिजन पानीमा घुल्छ र समुद्री जीवहरूले यसको प्रयोग गर्छन् । तल गइरहेको पानीको बहावमार्फत गहिरो महासागरमा अक्सिजन पु¥याउने काम पनि यिनै प्रवाहले गर्छन् भनेर विलियम्स बताउँछिन् । समुद्री प्रवाह नभएको संसारमा, सतहमा रहेका फाइटोप्लाङ्कटनले प्रकाश संश्लेषणका लागि घाम त पाउनेछन्, तर गहिराइबाट पानी मिसिन नपाएपछि उनीहरूलाई चाहिने पोषक तŒव सकिँदै जानेछ र पानीमुनिको जीवन सङ्कटमा पर्नेछ । विलियम्स भन्छिन्, “गहिरो महासागरमा अक्सिजन पुग्ने काम कमजोर हुन्छ वा रोकिन्छ । त्यहाँ तल बस्ने कुनै पनि जीवका लागि यो राम्रो कुरा होइन । यदि प्रवाह रोकिएर गहिरो महासागरमा अक्सिजन आपूर्ति बन्द भयो, तर त्यहाँ भएका जीवहरूले बाँकी अक्सिजन प्रयोग गरिरहे भने बिस्तारै अक्सिजन घट्दै जान्छ । अन्त्यमा त्यो ठाउँ समुद्री जीवहरू बाँच्न नसक्ने अवस्थामा पुग्छ ।”
जनावरहरू पनि बाटो पत्ता लगाउन बगिरहने पानीमै निर्भर हुन्छन् । विलियम्स भन्छिन्, “केही निश्चित प्रजातिहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जान, खानेकुरा खोज्न र आफ्ना बच्चाहरू फैलाउन समुद्री प्रवाह निकै महŒवपूर्ण हुन्छन् ।” यी प्रवाहविना, ‘लेदरब्याक’ नामक समुद्री कछुवा जस्ता प्रजातिहरूले हरेक वर्ष करिब १० हजार माइल यात्रा गर्दा आफ्नो ऊर्जा बचाउन प्रयोग गर्ने बाटो पछ्याउन सक्ने छैनन् ।
तर प्रवाहविहीन महासागरको असर समुद्री जीवनले मात्र भोग्नुपर्ने छैन । जमिनमाथिको जीवनले पनि यसको गम्भीर परिणाम झेल्नुपर्नेछ । समुद्री प्रवाहले पृथ्वीलाई तताउने र चिसो बनाउने प्रणालीको रूपमा काम गर्दै विश्वभर तापक्रम बाँड्ने काम गर्छन् । पानीको एउटा निरन्तर चक्रमा, भूमध्य रेखाको वरपरको पानीले सूर्यबाट तातो सोस्छ र त्यसलाई ध्रुवीय क्षेत्रतर्फ धकेल्छ । तापक्रम र नुनिलोपनमा आउने परिवर्तनले पानीको घनत्वमा फरक पार्छ र यसैले यो बहावलाई अघि बढाउँछ । विलियम्स भन्छिन्, “यदि यो बहाव रोकियो भने, भूमध्य रेखा आसपासका क्षेत्रहरू धेरै तातो हुनेछन् किनभने त्यहाँको तातो पानी ध्रुवीय क्षेत्रमा जान पाउँदैन । त्यसैगरी, उच्च अक्षांश (ध्रुवतिरका ठाउँहरू) झनै चिसो हुनेछन् किनभने त्यहाँ भूमध्य रेखाबाट तातोपन आउन पाउँदैन । विशेषगरी उत्तरी एटलान्टिक र युरोप वरपर, हामीले आजको तुलनामा धेरै चिसोको महसुस गर्नुपर्ने हुन सक्छ ।” विश्वव्यापी तापक्रममा आउने ठूलो उतारचढावसँगै मौसमको ढाँचा पनि चिन्नै नसकिने गरी बदलिन सक्छ । “विश्वभर वर्षाको ढाँचा परिवर्तन हुनेछ । मनसुन, खडेरी र आँधीबेहरीको बाटोमा पनि ठूलो असर पर्नेछ,” विलियम्स बताउँछिन् ।
समुद्री प्रवाह र वायुमण्डल एकअर्कासँग जोडिएका छन् । समुद्री प्रवाहले सूर्यको किरणबाट तातेको पानीलाई छरपस्ट पार्छन् र बाफको रूपमा त्यसको तातोपनलाई माथिको हावासँग साट्छन् । हावाको बढ्दो तापक्रम र चिस्यान नै वर्षा र आँधीबेहरीको मुख्य आधार हो । यदि प्रवाह रोकियो भने, मौसमको यो ढाँचा बदलिनेछ, जसले हामीले पाउने खानेकुरामा पनि असर गर्नेछ । “यदि समुद्री प्रवाह रोकियो भने, महासागरबाट आउने पोषक तŒव, फेरिँदो वर्षा र तापक्रमको ढाँचाअनुसार हाम्रो खाद्य उत्पादन प्रणालीले आफूलाई ढाल्नुपर्ने हुन्छ । यदि भूमध्य रेखा जस्ता अति तातो क्षेत्रहरू अझै तातो भए र खडेरी बढ्यो भने, माछा मार्ने ठाउँहरू पनि भौगोलिक रूपमा बदलिनेछन् किनकि प्राकृतिक प्रणालीले आफैँलाई नयाँ अवस्थामा मिलाउन खोज्नेछ ।”
यदि पृथ्वी घुम्न छोडेर र सूर्यको ताप हराएर महासागरको पानी बग्न रोकिएको हो भने, समुद्री प्रवाह रोकिनु हाम्रो लागि सबैभन्दा सानो समस्या हुनेछ । तर मानौँ कुनै कारणले महासागरका प्रवाहहरू बग्न छोडे भने पनि, पृथ्वीको कक्षको कारणले यो केही समयको लागि मात्र रोकिनेछ । भाग्यवश, हाम्रो ग्रहसँग सबै कुरालाई फेरि सुरु गर्ने आफ्नै तरिका छ । हावा र नुनिलोपनबाहेक, पृथ्वीको आफ्नै घुमाइले पनि ‘कोरिओलिस प्रभाव’ मार्फत पानीको बहावलाई निरन्तरता दिन मद्दत गर्छ । पृथ्वी आफ्नो अक्षमा घुम्दा, महासागरको पानी उत्तरी गोलार्धमा घडीको सुई घुम्ने दिशामा र दक्षिणी गोलार्धमा घडीको सुईको उल्टो दिशामा घुम्न थाल्छ । विलियम्स आश्वस्त पार्दै भन्छिन्, “पृथ्वी लगातार घुमिरहनेछ । सूर्यले भूमध्य रेखालाई तताउँदै निरन्तर ऊर्जा दिइरहनेछ । यी समुद्री प्रवाहहरू फेरि सुरु हुनेछन्, तर कति हदसम्म वा कति छिटो सुरु हुन्छन् भन्ने चाहिँ मलाई थाहा छैन ।”

(अमेरिकन साइन्टिस्ट पत्रिकाबाट)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्