नेपालको सबैभन्दा पुरानो पार्टीमध्येको एक नेपाली कांग्रेस हाल जेनजी प्रदर्शनले निम्त्याएको ऐतिहासिक संकटको केन्द्रमा छ । भित्री विवाद, नेतृत्वको संकट र पार्टी पुनर्गठनको मागले कांग्रेसको भविष्य अत्यन्त चुनौतीपूर्ण बनेको छ ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले अहिले नै पार्टी नेतत्वमाथि प्रश्न किन उठाउनु परेको हो भन्दै विश्वप्रकाश र गगन थापामाथि प्रश्न राखेका र पार्टी केन्द्रीय सदस्य तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले अहिले नै किन विशेष अधिवेशनको माग गर्नुपरेको हो भनेर आपत्ति जनाएको अवस्था छ ।
यसले के देखिन्छ भने नेतृत्व पुस्ताले यो जेनजी विद्रोहले उठाएको मूल कुरा के हो, भन्ने आत्मसात् नगरेको देखियो । हुन त यो रोग सबै पार्टीका हकमा समानरूपले लागू हुन्छन् तर कांग्रेसले आफूलाई प्रजातान्त्रिक भन्ने पार्टीले व्यवहारमा पनि प्रजातान्त्रिक हुन जरुरी छ । त्यसैले अब कांग्रेसमा नयाँ सोच, साँस्कृतिक र संगठनात्मक रूपान्तरण अपरिहार्य देखिन्छ ।
केवल परम्परागत नेतृत्व संरचनामा टिक्नुभन्दा युवापुस्तालाई अगाडि ल्याएर पार्टीको नेतृत्व पुनः संगठन गर्न आवश्यक छ । यो क्रममा अधिकतम दुई कार्यकालको सीमा सुनिश्चित गर्नुपर्दछ । विश्वव्यापी अभ्यासले कुनै पनि नेतृत्व दुई कार्यकालभन्दा बढी हुँदा त्यो तानाशाही उन्मुख हुने देखिएको कुरालाई पनि मनन गर्नुपर्ने देखिन्छ ।
नेपाली कांग्रेसमा विभाजित विचारधाराहरूले देखाएको मुख्य पक्ष भनेको पार्टीमा प्राविधिक व्यवस्थापन र अनुशासनको अभाव हो । पार्टीको नेतृत्वमा निरन्तरता अवसरको आधारमा होइन, लोकतान्त्रिक अभ्यासको आधारमा हुनुपर्छ । जसले नेतृत्वलाई नयाँ ऊर्जा र सामाजिक परिवर्तनको सन्देश दिनेछ । यो केवल नेतृत्व संरचनामा मात्रै होइन पार्टीको संगठन र कार्यशैलीमा पनि सुधार ल्याउने अवसर हो ।

जेनजी विद्रोहको एउटा कारण दलहरूमा प्राविधिक अभ्यासको अभाव पनि हो । लोकतान्त्रिक दलहरूमा स्पष्ट नियम, संरचना, सदस्यता प्रक्रिया र नेतृत्व फेरबदलका प्राविधिक मापदण्डहरू लागू नहुँदा सत्ता संरक्षण र स्वार्थ निरूपणको गति बढेको छ ।
जसले गर्दा नयाँ पुस्ताले ठाउँ पाउन सकेको छैन । युवा आन्दोलनले पार्टी वर्तमान संरचनासँग अनुकूल नहुने असन्तोष मात्र होइन, पार्टीलाई बिस्तारै पुरातन चिन्तनदेखि टाढा ल्याएर नयाँ विचार र ऊर्जा थप्नु आवश्यक छ भन्ने पहिचान पनि दिएको छ ।
नेपाली कांग्रेसले प्राथमिकताका साथ गर्नुपर्ने काम भनेको पार्टीको आन्तरिक लोकतन्त्रलाई पुनस्र्थापित गर्नु हो । त्यसका लागि सबै तहमा सदस्यताको पुनर्नवीकरण, पालिका र जिल्ला अधिवेशन तथा उपयुक्त समयमा महाधिवेशन सञ्चालन गर्नु आवश्यक छ ।
नेतृत्व परिवर्तनमा मात्र होइन, नेतृत्व चयनको प्रक्रियामा पनि स्वच्छता र निष्पक्षता अनिवार्य छ । नेपाली कांग्रेसले वर्तमान उथलपुथलबाट सकसपूर्ण पाठ सिक्नु जरुरी छ । नेतृत्वलाई प्रतिस्थापन गर्ने एक नयाँ विधि र युवापुस्तालाई निर्णय प्रक्रियामा स्थापित गर्दै पार्टीलाई पुनः गतिशील र ऊर्जाशील बनाएर अघि बढाउनुपर्ने छ ।
कुनै पनि राजनीतिक संगठनको बल भनेको नेतृत्वमा होइन संस्थागत रूपान्तरणमा निहित हुन्छ । कांग्रेसले यस अवस्थामा आफूलाई पुनः स्थापित गरेर जनताको विश्वास जित्न, आगामी चुनावका लागि तयार हुन र समसामयिक राजनीतिक चुनौतीहरूमा सामना गर्न सक्ने सशक्त दल बन्ने बाटो यही हो ।
- सुरज उपाध्याय, कोटेश्वर