काठमाडौं, ७ असोज - सरकारले राष्ट्रिय गौरवका सुनकोशी–मरिन र भेरी बबई बहुउद्देश्यीय आयोजनाको बाँध र विद्युत्गृहका संरचना निर्माण लामो समयदेखि अलपत्र परेपछि ठेक्का तोड्ने तयारी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मंगलबार आयोजनासँग सम्बन्धित सम्पूर्ण सरोकारवालालाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन् । मन्त्री घिसिङले अहिलेका ठेकेदार कम्पनीको आयोजना सम्पन्न गर्ने नियत नदेखिएको भन्दै सबै ठेक्का तोडेर अगाडि बढ्नका लागि छलफल सुरु गरेका हुन् ।
तराई-मधेशमा सिँचाइका लागि पानीको हाहाकार भएको स्थितिमा यी आयोजना सम्पन्न गर्न निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिने अवस्था रहे पनि त्यस्तो नभएको बताए । ‘अहिलेसम्मको प्रगतिको अवस्था हेर्दा ठेकेदार कम्पनीको काम गर्ने नियत नै देखिँदैन,’ उनले भने, ‘यो अवस्थामा म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं ।’
आयोजनाको निर्माण अलपत्र पारेर एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको बताउँदै अब पनि यही अवस्था यथावत् राखेर आयोजनालाई अलपत्र छोड्न नसक्ने घिसिङले स्पष्ट पारे । ‘निर्माण व्यवसायी छिद्रा खोज्दै बस्ने र आयोजनाले पनि त्यस्तो वातावरण दिइराख्ने हो भने यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ ?,’ उनले भने ।
दुवै आयोजनामा राज्यको अर्बौं रुपैयाँ लगानी भइसकेको बताउँदै ब्याजको मात्र हिसाब गर्ने हो भने अर्बाैं रुपैयाँ हुने बताए । घिसिङले लगानीको सावाँ ब्याज बढ्दै गइरहेको अवस्थामा आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो भनी प्रश्न गरे ।
भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीसमेत रहेका घिसिङले ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनकै कारण राष्ट्रिय गौरबका यी दुई आयोजना अलपत्र अवस्थामा पुगेको बताए । ‘दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन् । तर, बाँध, विद्युत्गृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका छन्,’ उनले भने ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री घिसिङसँग भएको छलफलमा मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायी सहभागी थिए । दुवै आयोजनाको निर्माणमा अस्वाभाविक ढिलाइ देखिएको भन्दै मन्त्री घिसिङले निर्माणमा संकलन सबै पक्षसँग छलफल गरेका हुन् ।
तराई क्षेत्रमा सिँचाइ सुविधा पुर्याएर कृषिको उत्पादकत्व वृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने सिँचाइ आयोजनाहरूको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे ।
घिसिङले निर्माण व्यवसायी सक्रिय भएको भए अहिलेसम्ममा आयोजना सम्पन्न भइसक्ने बताउँदै आयोजना सम्पन्न गर्ने नियत नदेखिएको बताए । भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भइसकेको हो । यो बहुउद्देश्यीय आयोजनाको बाँध तथा विद्युत्गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान—रमण जेभीसँगठेक्का सम्झौता भएको थियो । यो आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत मात्रै छ ।
मुख्य ठेकेदार पटेल–रमण जेभीको कमजोर कार्यसम्पादनले सुनकोशी–मरिन ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माण अपलत्र बनेको छ । ठेक्का सम्झौता भएको ३१ महिना बढीको समय व्यथित भइसक्दा समेत १०.२ प्रतिशत मात्रै भौतिक प्रगति हुनुले आयोजनाको निर्माणले गति लिन नसकेको देखिएको हो ।
आयोजनाको मुख्य ठेकेदार भारतको पलेट कम्पनी भए पनि आयोजना स्थलमा उसको उपस्थिति छैन । आयोजना स्थलमा सहायक रमण कम्पनी मात्रै परिचालन भएको छ । सहायक ठेकेदार कम्पनीले नै कामको मुख्य जिम्मेवारी लिए पनि बाँध क्षेत्रको संरचना निर्माणमा उसको कमजोर कार्यसम्पादन देखिएको छ ।
ठेक्का सम्झौताको तालिकाअनुसार अहिलेसम्ममा आयोजनाको बाँध क्षेत्रका संरचनाको आधाभन्दा बढी काम सम्पन्न गरिसक्नुपर्ने भए पनि त्यो हुन सकेको छैन । उसले ३१ महिनामा बाँध क्षेत्रका संरचना निर्माण गर्न जग हाल्ने कामसमेत सकेको छैन ।