काठमाडौं, ७ असोज - जेनजी आन्दोलनका कारण एकै दिन एक सय ६० अंकले घटेको शेयरबजार त्यसपछिको दुई करोबार दिनमा एक सय ७० अंकको वृद्धि भयो । आन्दोलनपछि खुलेको पहिलो कारोबार दिन झट्का महसुस गरेका लगानीकर्तालाई त्यसपछिको दुई दिनको कारोबारले पुरानै अवस्थामा फर्काइदिएको छ ।
नेप्से परिसूचक आइतबार १११.७० अंकले बढेको थियो । सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन । मंगलबार नेप्से ५८.७० अंकले बढेर २,७८२.२५ विन्दुमा पुगेको छ । गत बिहीबार बजार उच्च अंकले घटेपछि तनावमा रहेका लगानीकर्ता आइतबार र मंगलबारको वृद्धि पछि ढुक्क भएका छन् ।
मंगलबार कारोबार भएका २५२ कम्पनीमध्ये २३८ वटाको शेयरमूल्य बढेको छ । १४ कम्पनीका शेयरधनीले भने गुमाएका छन् । यस दिन पाँच अर्ब २९ करोड २८ लाख रुपैयाँ बराबरको एक करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर किनबेच भएको छ ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १.९९ प्रतिशत बढेर ४६४.३६ विन्दुमा पुगेको छ । साधारण शेयर तर्फको कारोबार मापन गर्ने फ्लोट सूचक २.१७ प्रतिशत बढेर १८३.९३ विन्दुमा कायम भएको छ । यस्तै सेन्सिटिभ फ्लोट सूचक १.९३ प्रतिशत बढेर १५८.३२ विन्दुमा पुगेको छ ।
सूचीकृत १३ वटा समूह न बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ३.४८ प्रतिशत बढेको छ । त्यसपछि जलविद्युत् समूह ३.३० प्रतिशत, विकास बैंक २.२९, होटल तथा पर्यटन २.७८, लघुवित्त २.५४, अन्य २.५१, जीवन बीमा २.३१, फाइनान्स २.१२, व्यापार १.८३, लगानी १.६६, बैंकिङ १.३८, उत्पादन तथा प्रशोधन १.१२ र म्युचुअल फण्ड ०.६३ प्रतिशत बढेका छन् ।
विभिन्न सातवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपार डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । यस्तै ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, र एसियन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशत बढेको छ ।
प्रभु स्मार्ट फण्डका इकाइधनीले सर्वाधिक ४.३० प्रतिशत गुमाएका छन् । सूचीकृत कम्पनीहरूमध्ये समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक १.३७ प्रतिशत घटेको छ । सर्वाधिक मूल्य घट्ने पाँच कम्पनीमा धौलागिरी लघुवित्त वित्तीय संस्था १.३३ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्था १.१३, हिमालयन लघुवित्त वित्तीय संस्था १.०४ र मिड सोलु हाइड्रोपावर १.०३ प्रतिशत घटेको छ ।
सबैभन्दा धेरै शेयरकारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँ बराबरको भएको छ । सर्वाधिक कारोबार हुने पाँच कम्पनीमा नेपाल रिइन्स्योरेन्ससँगै युनिभर्सल पावर कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट्स र हिमालयन रिइन्स्योरेन्स छन् ।
युनिभर्सल पावर कम्पनीको १८ करोड ३० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १८ करोड १६ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १६ करोड ६४ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।
लगानीकर्ताको सम्पत्ति एक दिनमै ९८ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ३२ अर्ब रुपैयाँ बढेर १५ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।