नेभिगेशन
नेपाल

‘निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलौं’

काठमाडौं (संवाददाता) – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँग मंगलबार भएको भेटवार्तामा निजी क्षेत्र सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निशानामा पर्नुपरेको बताएका हुन् ।

आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले यसको महत्त्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको पनि अध्यक्ष ढकालले बताए । उनले समाजमा निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण निर्माणका लागि सहयोग गर्न सञ्चार क्षेत्रलाई आग्रह समेत गरेका छन् ।

‘निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो । यस क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको छ । तथापि, यो क्षेत्र सबैको निशानामा पर्ने गरेको छ’, उनले भने, ‘जेनजी आन्दोलनका क्रममा पनि त्यस्तै भयो । देशभरि निजी क्षेत्रमा भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्यांक र सूचनाअनुसार करिब ८० अर्ब रुपैयाँ बराबर क्षति भएको प्रारम्भिक आकलन छ । यो निकै दुःखद् हो ।’

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पछिल्लो घटनाले उद्योगी व्यवसायीमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम हुन नसकेको गुनासो गरे ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवादका लागि संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्नसक्ने वातावरण सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्