आर्थिक स्थिरताका लागि ’कबड्डी’को नयाँ शृंखला ल्याएको बयान दिएर फिल्म निर्देशक रामबाबु गुरूङ चर्चामा आएको खेर गएको छैन । देशकै सबैभन्दा धेरै मल्टीप्लेक्स हलहरू भएको क्यूएफएक्सले फिल्म ‘कबड्डी ५’लाई प्रदर्शनको दुई दिनमै ‘सुपरहिट’ भनेर ट्याग गरेको छ । आइतबार बिहान आफ्नो वेबसाइटमार्फत फिल्मलाई ‘सुपरहिट’को घोषणा गरेको हो । यसको अर्थ फिल्मले क्यूएफएक्स चेनमा दुई दिनमा डेढ करोडमाथिको व्यापार गरेको छ ।
क्यूएफएक्सले आफ्ना हलमा कुनै फिल्मले एक सातामा १ करोड ५० लाख रुपैयाँ बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’को मान्यता दिने गरेको छ । यस वर्ष ‘गौँथली’ र ‘पेन्सन पट्टा’पछि ‘सुपरहिट’को ट्याग पाउने ‘कबड्डी ५’ तेस्रो फिल्म हो । प्रदर्शनको दुई दिनमै क्यूएफएक्सबाट कुनै नेपाली फिल्मले ‘सुपरहिट’को मान्यता पाएको यो पहिलो पटक रहेको फिल्मीखबर डटकमले लेखेको छ ।
कात्तिक ६ गते अर्थात् दसैंको टीकाको पर्सिपल्टबाट प्रदर्शनमा आएको ‘कबड्डी ५’ले अग्रिम बुकिङबाटै बक्स अफिसमा राम्रै हल संख्या पाउने संकेत गरेको थियो । फिल्मका एक सयभन्दा बढी शो अग्रिम बुकिङमै हाउसफुल भएका थिए । ‘डोर सेल’ पनि उत्साहजनक हुँदा फिल्मले १ करोड ५० लाखमाथिको विष्फोटक ओपनिङ ग¥यो । यसलाई वर्षकै सबैभन्दा ठूलो ओपनिङ मानिएको छ ।
दोस्रो दिन शनिबार फिल्मको शोमा उल्लेख्य वृद्धि हुँदा व्यापारमा झनै उछाल देखियो । शनिबार फिल्मले १ करोड ७० लाख रुपैयाँ हाराहारी कमाइ गरेको जनाइएको छ । योसँगै फिल्मको दुई दिनको व्यापार तीन करोड नाघेको छ । आइतबार पनि देशभर फिल्मको अकुपेन्सी उच्च रहेकाले तीन दिनमा चार करोडको आँकडा पार हुने अनुमानसमेत गरिएको छ ।
बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा रिश्मा गुरुङ, मिरुना मगर, माओत्से गुरुङ, शिशिर बाङ्देल, कविता आले, अरुणा कार्की, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, प्रमिला राई, ज्ञानु जोशीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्मातामा छन् ।
यसअघि ‘कबड्डी ५’ का दृश्य अनुमतिबिना सामाजिक सञ्जालमा राखे कानुनी कारबाही हुनेनेपाली चलचित्र ‘कबड्डी ५– आफ्टर द फाइनल म्याच’ को निर्माण पक्षले चलचित्रका दृश्य तथा क्लिपहरु अनुमतिबिना सामाजिक सञ्जालमा अपलोड नगर्न आग्रह गरेको थियो ।
बाँसुरी फिल्म्सका तर्फबाट कार्यकारी निर्माता सागर राजले एक प्रेस विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा चलचित्रका सामग्री प्रसारण गरिए कानुनी कदम चाल्ने चेतावनी दिएका हुन् । विज्ञप्तिमा दर्शक तथा प्रयोगकर्ताहरूलाई युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्रामलगायतका डिजिटल प्लेटफर्ममा चलचित्रका कुनै पनि दृश्य, भिडियो क्लिप, संवाद वा महत्त्वपूर्ण अंश नराख्न विनम्र अनुरोध गरिएको छ । चलचित्र निर्माण एउटा सिर्जनात्मक यात्रा मात्र नभई धेरै कलाकार, प्राविधिक तथा चलचित्रकर्मीहरूको मेहनत, समय र लगानीसँग जोडिएको विषय भएकाले यसलाई वास्तविक स्वरूपमा, उचित समयमा र आधिकारिक माध्यमबाट मात्रै हेर्ने वातावरण बनाइदिन निर्माण पक्षले आग्रह गरेको छ ।
दर्शकलाई निरुत्साहित गर्ने आफ्नो उद्देश्य नभएको स्पष्ट पार्दै निर्माण पक्षले चलचित्रको प्रतिलिपि अधिकार र कानुनी व्यवस्थाको सम्मान गरिदिन ध्यानाकर्षण गराएको छ । कसैले अनुमतिबिना चलचित्रका सामग्रीहरू अपलोड वा वितरण गरेको पाइएमा प्रचलित कानुन तथा प्रतिलिपि अधिकारसम्बन्धी व्यवस्थाअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ । साथै, दर्शकले देखाएको उत्साहलाई आधिकारिक सामग्री साझा गरेर तथा सकारात्मक प्रतिक्रिया दिएर प्रकट गर्न र चलचित्रलाई उचित माध्यमबाट समर्थन गर्न बाँसुरी फिल्म्सले अपिल गरेको छ ।