काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको दोस्रो खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १९.३ ओभरमा अलआउट भएको हो। १३२ रनमा ५ विकेट गुमाएको विराटनगरले त्यसपछि भने विकेट जोगाउनै सकेन । ५ विकेटको पतनमा विराटनगरले २६ रन जोड्न सकेन।
विराटनगरको लागि इम्रान शेखले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर लोकेश बमले २६ रन बनाए। यी दुईले पहिलो विकेटको लागि ४० रनको साझेदारी बनाएका थिए। चारिथ आशलंका ८ रन र बसिर अहमद १३ रनमा पेभेलियन फर्किदा आन्द्रे रसेलले ३३ रन बनाए। उनले १६ बलमा बलमा १ चौका र ४ छक्का प्रहार गरे। आन्द्रले सुरुवातमा केही समय लिए। त्यसपछि भने उनले ब्याट घुमाउन सुरु गरेका थिए। उनको साथमा एन्जेलो म्याथ्यूस रहेका थिए। यी दुईले ४३ रनको साझेदारी बनाएका थिए। एन्जेलोले १४ रन बनाए।
१८.४ ओभरमा नरेन साउदको क्याच देव खनालले हातमा आएको बल क्याच ड्रप गरे। सन्दीपलाई बोल्ड गरेका रिजनको बलमा अन्तिम विकेटको रुपमा क्रिजमा आएका नरेनको क्याच ड्रप हुँदा खेलको मोड अन्तिम ओभरमा लम्बिएको हो। अन्तिम विकेटको रुपमा रुभम रञ्जाने १० रनमा बोल्ड भएका हुन्।
चितवनका लागि बलिङतर्फ, कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। रिजन ढकालले २ विकेट लिँदा रञ्जित कुमार, टम टेलर, डान मुस्ले र मौसम ढकालले १-१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको चितवन राइनोजको डेविट मलानले सर्वाधिक ७० रन बनाए । उनले ५० बलमा समान ५ चौका र ५ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि देव खनालसँग ५८ रनको साझेदारी बनाएका थिए। देव खनालले १२ रन बनाउँदै स्टम्पिङ आउट भए। वान डाउनमा आएका अर्जुन साउद ३ रनमा क्याच भए।
चितवन राइनोजले जुन तरिकाले पावरप्ले सुरुवात गरेको थियो त्यो तरिकाले मध्यक्रममा चल्न सकेन। वान डाउन आएका अर्जुन सस्तैमा समेटिए। ओपनरमा डेविट मलानले सुरुवातमा केही बल डट खेले त्यसपछि भने उनको ब्याट चल्न थाल्यो। उनको ७० रनको पारी नै चितवनको अंक उकास्ने माध्यम बन्यो।
उनलाई देवले चाहेजस्तो साथ दिन सकेनन्। चौथो विकेटको लागि आजको खेलमा कप्तानी सम्हालेका रवि बोपारा कप्तान रवि बोपाराले ३२ रन बनाउँदै अविजित रहे। डान मुस्ले २९ रनमा अविजित रहे। यी दुईले चौथो विकेटको लागि ६७ रनको अविजित साझेदारी बनाए। साझेदारीले चितवनलाई १५० माथिको स्कोरमा पुर्याएको थियो।
विराटनगरका लागि बलिङ तर्फ एन्जेलो म्याथ्यूस, आन्द्रे रसेल र चारिथ आसालंकाले १-१ विकेट लिए।
आजको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सको हुनेछ।