नेभिगेशन
राजनीति

आनी नियुक्ति विवादमा बोल्यो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर सरकारको आलोचना गरेका छन् । नियुक्तिको विरोध गर्ने र प्रश्न उठाउने नागरिकलाई पक्राउ गरेर तर्साउन खोजेको आरोप लगाउँदै उनले निर्णय सच्याउन सरकारलाई आग्रह गरेका छन् ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त भएपछि लुम्बिनीदेखि काठमाडौंसम्म विरोध भइरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसका महामन्त्री पौडेलले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन,’ पौडेलले भनेका छन् । आनी नियुक्तिका विरोधमा रहेका लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानलाई सोमबार राति पक्राउ गरिएको थियो । उनी मंगलबार दिउँसो प्रहरी हिरासतबाट छुटिसकेका छन् । 
महामन्त्री पौडेलले लुम्बिनी विकास कोष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महŒवको संस्था भएकाले यसको नेतृत्व चयन गर्दा योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई ध्यान दिनुपर्ने बताएका छन् ।
लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको उल्लेख गर्दै उनले यस्तो संस्थाको नेतृत्वका लागि लोकप्रियता मात्र पर्याप्त नहुने बताएका छन् । आनीको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको भन्दै पौडेलले ती प्रश्नको जवाफ नदिई सरकारले नियुक्तिको औचित्य पुष्टि गर्न नसक्ने र छनोटका आधार स्पष्ट पार्न नसक्ने बताएका छन् । सरकारलाई विरोधभन्दा पनि सुझाव दिन चाहेको उल्लेख गर्दै उनले विवादास्पद नियुक्ति सच्याउन र प्रश्न उठाउने नागरिकलाई तर्साउने काम बन्द गर्न आग्रह गरेका छन् ।
आनीको नियुक्तिलाई लिएर लुम्बिनीमा स्थानीय अगुवा तथा विभिन्न समूहले विरोध गर्दै आएका छन् । असोज ३० गते सरकारले आनीलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । आनीको नियुक्तिको छनोट प्रक्रिया, आनीको नागरिकता र आर्थिक कारोबारसम्बन्धी विषय सार्वजनिक बहसमा छन् । आनीले भने आफूविरुद्ध उठेका प्रश्नको प्रतिवाद गर्दै आएकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्