नेभिगेशन
राजनीति

टाढिएका मतदातासँग कांग्रेसले संवाद गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न मंसिर महिनाभरि देशव्यापी संवाद अभियान सञ्चालन गर्ने बताएका छन् । पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै थापाले विगतमा कांग्रेसलाई मतदान गर्दै आएका तर पछिल्लो समय पार्टीबाट टाढिएका मतदाताको गुनासो सुन्न र उनीहरूका प्रश्नको जवाफ दिन नेता–कार्यकर्ता घरदैलोमै पुग्नुपर्ने बताएका हुन् । उनले मतदातालाई दोष दिनुको सट्टा कांग्रेसप्रति उनीहरूको असन्तुष्टिको कारण खोज्नुपर्नेमा जोड दिए ।
विगतमा पार्टीले गरेका कामको चर्चा मात्र गरेर नपुग्ने भन्दै उनले वर्तमानका समस्या समाधान गर्ने प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने बताए । थापाले भने, ‘उनीहरूलाई दोष दिने होइन, उनीहरूको घरमा पुग्ने, गुनासा सुन्ने र विश्वास पुनः स्थापित गर्ने अभियान चलाउनुपर्छ । यसका लागि मंसिर महिनाभरि देशव्यापी संवाद अभियान सञ्चालन गर्न प्रस्ताव गर्दछु ।’
१५औं महाधिवेशनपछि कांग्रेस नयाँ सोच र संकल्पसहित पार्टी अघि बढेको दाबी गर्दै उनले पार्टीको बदलिएको कार्यशैली जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताए । नेताहरू केन्द्रमा मात्र सीमित नभई गाउँ, वडा र टोलसम्म पुग्नुपर्ने उनको भनाइ थियो ।
सभापति थापाले पार्टीभित्र नयाँ र पुराना पुस्ताबीच समन्वय आवश्यक रहेको पनि बताए । नयाँ पुस्तासँग नयाँ सोच र ज्ञान तथा पुरानो पुस्तासँग अनुभव रहेको उल्लेख गर्दै उनले दुवै पुस्ताको योगदानलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे । उनले पार्टीका केन्द्रीय सदस्यहरूलाई काठमाडौं बस्न नदिने र काममा जिल्ला खटाइने पनि बताए । ‘एक जना पनि केन्द्रीय सदस्य साथीलाई काठमाडौं बस्ने अवस्था आउन दिन्नँ, सबैलाई तल पठाउने हो, गाउँ–गाउँमा । अब चुनावको उम्मेदवार माथिबाट छान्दैन, जुन तहको निर्वाचन हो त्यही तहका साथीहरूले उम्मेदवार तय गर्ने हो । यो कुरा विधानमै व्यवस्था गरिएको छ । उम्मेदवार हुन चाहने र पार्टीका नेताहरू केन्द्रतिर बसिराख्ने होइन, तलतल जाने हो,’ सभापति थापाले भने ।
उनले पार्टीका सबै संगठनात्मक संरचनामा चार पुस्ताको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए । आगामी स्थानीय तह निर्वाचनमा महिला, विभिन्न जातजाति, भाषाभाषी र समुदायलाई पर्याप्त अवसर दिनुपर्नेमा पनि उनले जोड दिए । स्थानीय तहका उम्मेदवार पार्टीका स्थानीय सदस्यले नै छनोट गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै थापाले उम्मेदवार बन्न चाहनेदेखि पार्टीका नेतासम्म जनतामाझ पुग्नुपर्ने बताए ।
‘जनताले नेताहरूलाई सहजै भेट्न, आफ्ना कुरा राख्न र उनीहरूका कुरा सुन्न पाउनुपर्छ,’ उनले भने, ‘काम गर्ने, सोच्ने र जनतामाझ पुग्ने शैलीमा परिवर्तन आएपछि मात्र जनताले पार्टी बदलिएको अनुभूति गर्नेछन् ।’
‘खादामालासहित विमानस्थल नआउनुस्’
सभापति थापाले नेताहरू आउँदा कार्यकर्ताहरूलाई खादामालासहित विमानस्थल नआउन पनि निर्देशन दिए । ‘हामीले निर्देशिका नै बनाएर पठाएको छ, नेता आउँदा लाइन लगाएर खादामाला लिएर विमानस्थलमा स्वागत गर्न आउने होइन,’ थापाले भने, ‘नेतालाई स्वागत गर्न आउनेको भिड देख्दा पनि मानिसहरूलाई दिक्क लाग्छ होला नि !’ सभापति थापा सोमबार पोखरा विमानस्थल पुग्दा पनि नेता¬–कार्यकर्ताले लामो लस्करले स्वागत गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्