नेभिगेशन
नेपाल

चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि भारी वर्षा, हिमपात र हिमआँधीको जोखिम

सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि नेपालमा भारी वर्षा, हिमपात र हिमआँधीको जोखिम बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र हिमपात हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लागेको छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ ।

बुधबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ। हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

बुधबार राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थान तथा कोशी र बागमतीका पहाडी क्षेत्र र मधेसका केही स्थानमा समेत वर्षा हुन सक्ने अनुमान छ ।

बिहीबारदेखि वर्षा र हिमपात बढ्ने

महाशाखाका अनुसार बिहीबारदेखि मौसम थप प्रतिकूल बन्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिमका हिमाली भूभागमा साधारणतया बादल लाग्ने सम्भावना छ । कोशी र बागमतीका हिमाली क्षेत्रमा केही स्थान तथा अन्य हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ ।

बिहीबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णालीका केही तथा सुदूरपश्चिमका थोरै स्थानमा पनि वर्षा र हिमपात हुन सक्नेछ ।

कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार धेरै भारी वर्षाको सम्भावना

शुक्रबार देशभर अधिकांश बादल लाग्ने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।

यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको जोखिम छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा धेरै भारी वर्षा र हिमपातसमेत हुन सक्ने पूर्वानुमान छ ।

शनिबार पनि मौसममा उल्लेख्य सुधार नआउने देखिएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकीका एक-दुई स्थानमा धेरै भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

कृषि कार्य छिटो सक्न र हिमाली क्षेत्रमा नजान आग्रह

मौसम प्रतिकूल बन्ने पूर्वानुमानसँगै महाशाखाले धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सक्न आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने पर्यटकलाई यात्रा नगर्न वा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

भारी वर्षाका कारण पहिरो जाने, हिमपात र हिमआँधीबाट जनजीवन प्रभावित हुने तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ। चिसोसमेत बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न सबैलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्