नेभिगेशन
अन्तर्वार्ता

पुष्प व्यवसायमा सरकारको स्पष्ट नीति र प्राथमिकता आवश्यकः राजेशभक्त श्रेष्ठ, अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन नेपाल

नेपालमा पछिल्लो पटक पुष्प ब्यवसायमा आर्कषण बढ्दो छ । पुष्प खेती तथा नर्सरी व्यवसाय स्वरोजगार र आय आर्जनको राम्रो माध्यम बनेको छ । काठमाडौ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा पुष्प खेती तथा व्यवसाय विस्तार गर्न सरकारको सहयोगी नीति र पर्याप्त पूर्वाधारको अभावको कारण व्यवसायी समस्यामा छन । नेपालमा यो व्यवसायको पर्याप्त संभावना र अवसर भए पनि अझै पनि ठुलो मात्रामा विदेशबाट फूलजज्य बस्तुको आयात गर्नु पनेै अवस्था छ । तीनै तहको सरकारले यो व्यवसायको महत्व र आवश्यकतालाई बुझन नसक्दा संभावना भएर पनि राष्ट्रिय प्राथमिकतामा पर्न नसकेको गुनासो प्फलोरिकल्चर एशोसिएसन नेपालले गरेको छ । त्यसैगरी भारत तर्फको खुला सिमा नाकाहरुबाट फूलजन्य सामग्री तथा प्लाष्टिकका फूलको खुलेआम आयात हुने गरेको यस क्षेत्रका व्यवसायीहरुको गुनासो छ । 
कात्तिक १२ गते देखि ललितपुरको जाउलाखेलको खेल मैदानमा १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी संचालनको सन्र्दभ तथा नेपालको समग्र पुष्प व्यवसायको विषयमा न्यूज२४ दैनिकका प्रधान सम्पादक नवराज चालिसेले  फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः

नेपालको पुष्प व्यवसायको वर्तमान अवस्था कस्तो छ ?
नेपालको पुष्प व्यवसाय राम्रो अवस्थामा छ र हरेक वर्ष विस्तार हुँदै गएको छ । तर पछिल्ला दुई वर्षदेखि विभिन्न नीतिगत समस्याका कारण अपेक्षाअनुसार व्यवसाय अघि बढ्न सकेको छैन । पछिल्लो समय केही सुधार देखिए पनि बजारको माग र व्यवसायको सम्भावनाअनुसार प्रगति हुन सकेको छैन । हाम्रो मुख्य लक्ष्य पुष्पजन्य उत्पादनको निर्यात बढाउनु हो । तर विद्यमान नीतिगत व्यवस्थाले त्यसमा बाधा पु¥याएको छ ।
सरकारले आवश्यक नीतिगत सुधार गरिदिए नेपालमा पुष्प व्यवसायको ठूलो सम्भावना छ । यसले रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक मुद्रा आर्जनमा पनि योगदान दिन सक्छ ।
पुष्प व्यवसायले अहिले मुख्य रूपमा कस्ता समस्या भोगिरहेको छ ?
गुणस्तरीय बीउबिजन र बिरुवा आयातमा समस्या छ । बजार प्रवर्धन तथा व्यवस्थापन पनि व्यवस्थित हुन सकेको छैन । तरकारीका लागि थोक बजार भएजस्तै फूलका लागि पनि छुट्टै थोक बजार आवश्यक छ । सरकारले जग्गा उपलब्ध गराएर वा व्यवसायीसँग सहकार्य गरेर यस्तो बजार स्थापना गर्नुपर्छ ।
त्यसैगरी, पुष्प प्रवर्धन नीति २०६९ लाई वर्तमान संघीय संरचनाअनुसार पुनर्लेखन गर्न आवश्यक छ । हामीले यसका लागि सरकारसँग पहल गरिरहेका छौं । पुष्प क्षेत्रलाई सरकारले अझै प्राथमिकतामा राख्न सकेको छैन । यस क्षेत्रको सम्भावनालाई ध्यान दिएर नीतिगत सुधार गर्न सके युवालाई स्वदेशमै रोजगारी दिन सकिन्छ ।
पुष्प व्यवसायमा जग्गाको उपलब्धता र स्थानीय तहसँग सम्बन्धित समस्या पनि छन् नि ?
जग्गा हाम्रो व्यवसायका लागि ठूलो समस्या हो । सरकारले प्रयोगविहीन अवस्थामा राखेका धेरै जग्गा छन् । तर व्यवसायीले जग्गा भाडामा लिन महँगो शुल्क तिर्नुपर्छ । भाडामा लिएको जग्गा कति समयसम्म प्रयोग गर्न पाइन्छ भन्ने पनि निश्चित हुँदैन । जग्गाधनीले जुनसुकै बेला खाली गर्न भन्न सक्ने भएकाले दीर्घकालीन लगानी गर्न कठिन हुन्छ ।
पुष्प बालीको बीमा नहुनु अर्को समस्या हो । सरकारले बाँझो जग्गा सहुलियतमा उपलब्ध गराउने, जग्गाको प्रयोगलाई दीर्घकालीन रूपमा सुनिश्चित गर्ने र पुष्प बालीको बीमा व्यवस्था गर्ने हो भने व्यवसायीलाई ठूलो राहत मिल्छ ।
सरकारले प्लास्टिकका फूलमाथि प्रतिबन्ध लगाए पनि बजारमा तिनको प्रयोग व्यापक देखिन्छ । यसको कारण के हो ?
वातावरण ऐन २०७९ का आधारमा प्लास्टिकजन्य फूलको आयात तथा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । तर यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । केही स्थानीय तहले कडाइ गरे पनि धेरै ठाउँमा अनुगमन र कारबाही भएको देखिँदैन ।
धनगढी उपमहानगरपालिकाले यसमा कडाइ गरेको छ । तर काठमाडौंलगायत अन्य ठाउँमा पार्टी प्यालेस तथा विभिन्न समारोहमा प्राकृतिक फूलको सट्टा कृत्रिम फूलको व्यापक प्रयोग भइरहेको छ । यसले प्राकृतिक फूल उत्पादन गर्ने व्यवसायीलाई प्रत्यक्ष असर पारेको छ ।
आधिकारिक रूपमा आयात प्रतिबन्धित भए पनि खुला सिमानाका कारण घुमाउरो बाटोबाट प्लास्टिकका फूल भित्रिरहेका छन् । बजारमा तिनको उपलब्धता सहजै देख्न सकिन्छ । यसबारे हामीले वाणिज्य, कृषि तथा सम्बन्धित मन्त्रालय, विभाग, प्रदेश र स्थानीय तहमा पटकपटक ध्यानाकर्षण गराएका छौं । आश्वासन पाए पनि ठोस परिणाम देखिएको छैन ।
पुष्प व्यवसायीले सरकारसँग मुख्य रूपमा के माग गरेका छन् ?
हाम्रा मुख्य माग स्पष्ट छन् । पहिलो, पुष्प प्रवर्धन नीति २०६९ पुनर्लेखन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । दोस्रो, संघीय तहमा पुष्प क्षेत्र हेर्ने छुट्टै अधिकारसम्पन्न निकाय स्थापना गर्नुपर्छ । तेस्रो, प्लास्टिकका फूलको प्रयोगमाथिको प्रतिबन्ध कार्यान्वयन गर्दै अवैध आयात नियन्त्रण गर्नुपर्छ ।
त्यसैगरी, पुष्प बालीको बीमा, सहुलियतपूर्ण कृषि कर्जा, कर्जाको अवधि विस्तार र गुणस्तरीय बीउबिजन तथा बिरुवा आयातको प्रक्रिया सरलीकरण आवश्यक छ । पुष्प तथा पुष्पजन्य सामग्री आयात गर्दा अपनाउनुपर्ने शत्रुजीव जोखिम विश्लेषण प्रक्रिया पनि सहज बनाउनुपर्छ ।
काठमाडौंमा फूलको थोक बजार स्थापना, सरकारी जग्गा सहुलियतमा उपलब्ध गराउने व्यवस्था तथा रैथाने आलङ्कारिक वनस्पतिको अनुसन्धान र निर्यात प्रवर्धन पनि हाम्रा प्राथमिक माग हुन् ।
पुष्प व्यवसायका लागि कृषि कर्जा कत्तिको सहज छ ?
सरकारले कृषिका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको भनिए पनि बैंकमा पुग्दा पुष्प व्यवसायीले अन्य व्यवसायसरह नै व्यवहार भोग्नुपर्छ । केही बैंकसँग सहकार्य गरेर सीमित सहुलियत पाएका छौं । उदाहरणका लागि, ग्लोबल आइएमई बैंकसँग हाम्रो सहकार्य छ । तर, पुष्प व्यवसायलाई सहज हुने गरी पर्याप्त र ठोस कर्जा योजना उपलब्ध छैनन् ।
त्यसैले पुष्प व्यवसायलाई कृषि क्षेत्रकै रूपमा व्यवहार गर्दै सहुलियतपूर्ण कर्जा र लामो भुक्तानी अवधि उपलब्ध गराउनुपर्छ ।
सरकारले पुष्प क्षेत्रलाई प्राथमिकता दिएको छैन भन्न मिल्छ ?
सरकारले केही काम गरेको छ । दसैंअघि संघीय तहमा फलफूल विकास केन्द्रअन्तर्गत पुष्प शाखा स्थापना गरिएको छ । यो सकारात्मक कदम हो । तर हाम्रो माग संघीय तहमा छुट्टै पुष्प विकास केन्द्र स्थापना हुनुपर्छ भन्ने हो ।
पुष्प क्षेत्रको सम्भावना र आवश्यकताअनुसार छुट्टै संस्थागत संरचना आवश्यक छ । त्यसले अनुसन्धान, उत्पादन, बजार व्यवस्थापन र निर्यात प्रवर्धनका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन सक्छ ।
पुष्प व्यवसायको विस्तार काठमाडौं उपत्यकाबाहिर पनि भइरहेको छ ?
काठमाडौं ठूलो बजार भएकाले यसको वरिपरि पुष्प उत्पादन बढी केन्द्रित छ । तर उपत्यकाबाहिर पनि व्यवसाय विस्तार भइरहेको छ । मकवानपुर, नुवाकोट, काभ्रे र धादिङमा यसको विस्तार हुँदै छ । इलाम, झापा, रुपन्देही र मोरङमा पनि पुष्प व्यवसाय विस्तार हुने क्रम जारी छ ।
स्थानीय हावापानी, जमिन र बजारको सम्भावना अध्ययन गरेर विभिन्न जिल्लामा पुष्प खेती विस्तार गर्न सकिन्छ । स्थानीय तहले पनि आफ्नो क्षेत्रको सम्भावना पहिचान गरी व्यवसाय प्रवर्धनमा ध्यान दिनुपर्छ ।
नेपालको पुष्पजन्य उत्पादनको निर्यात अवस्था कस्तो छ ?
नेपालको पुष्पजन्य उत्पादनको निर्यात निकै न्यून छ । हामीले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यातको तुलनामा आयात २२ गुणा बढी छ । यसले हामीले अझै धेरै काम गर्नुपर्ने देखाउँछ ।
केही उच्च गुणस्तरका बिरुवा तथा बेर्ना नेपालमै उत्पादन गर्न तत्काल सम्भव नहुन सक्छ । त्यसका लागि प्रविधि, सीप र लगानी आवश्यक छ । विदेशी लगानी आकर्षित गरेर नेपालमै गुणस्तरीय बिरुवा उत्पादन गर्ने र स्वदेशी रैथाने वनस्पतिको विकास गर्ने हाम्रो लक्ष्य छ ।
निर्यातका लागि उपयुक्त फूल तथा वनस्पतिको पहिचान गर्न अध्ययन आवश्यक छ । निर्यात प्रक्रिया पनि जटिल छ । त्यसलाई सहज बनाउन नीतिगत सुधारसँगै बजारको सम्भावना र उत्पादन क्षमताबारे अनुसन्धान गर्नुपर्छ । यसै उद्देश्यले हामीले वैदेशिक लगानीसम्बन्धी कार्यशाला पनि आयोजना गरेका छौं ।
पुष्प व्यवसायमा बीमा व्यवस्था कस्तो हुनुपर्छ ?
 पुष्प बालीको बीमा व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग हो । यसका लागि बीमा प्राधिकरण र कृषि मन्त्रालयले पहल गर्नुपर्छ । आवश्यक नीति बनाएर बीमा कम्पनीलाई पुष्प उत्पादनको बीमा गर्ने वातावरण तयार गर्नुपर्छ ।
हाम्रा साथीहरू चीन भ्रमणमा जाँदा त्यहाँ उत्पादन बिक्री नभएर खेर जाने अवस्थालाई समेत बीमाले समेट्ने व्यवस्था रहेको जानकारी पाएका थिए । उत्पादन खेर जानुअघि नै जोखिम व्यवस्थापन गर्न सकिने यस्तो व्यवस्था नेपालमा पनि आवश्यक छ । यसले किसान तथा व्यवसायीको लगानी सुरक्षित गर्न मद्दत गर्छ ।
पुष्प व्यवसायले रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा कस्तो योगदान दिन सक्छ ?

पुष्प व्यवसाय नेपालका लागि ठूलो सम्भावना बोकेको क्षेत्र हो । विशेषगरी रोजगारीका लागि विदेशिएका युवालाई स्वदेशमै रोक्न यसले सहयोग गर्न सक्छ । परिवारका सदस्य मिलेर पनि यो व्यवसाय सञ्चालन गर्न सकिन्छ । उचित नीति र बजारको व्यवस्था भएमा स्वरोजगार तथा आयआर्जनको भरपर्दो माध्यम बन्न सक्छ ।
यसका लागि सरकारले पुष्प व्यवसाय लक्षित उद्यमशीलता तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्नुपर्छ । अनुसन्धानमा लगानी गर्नुपर्छ । नेपालमा पाइने रैथाने वनस्पतिको पहिचान, उत्पादन र निर्यात प्रवर्धनमा ध्यान दिनुपर्छ । स्थानीय तहले पनि आफ्नो क्षेत्रको हावापानी र सम्भावनाअनुसार व्यवसाय विस्तार गर्न सहयोग गर्नुपर्छ ।
पुष्प व्यवसायलाई योजनाबद्ध रूपमा विकास गर्न सके युवाले स्वदेशमै रोजगारी पाउँछन् । यसबाट देशले वैदेशिक मुद्रा आर्जन गर्न सक्छ र अर्थतन्त्रमा पनि योगदान पुग्छ ।
अन्त्यमा, पुष्प व्यवसायको विकासका लागि सरकारलाई के आग्रह गर्न चाहनुहुन्छ ?
पुष्प व्यवसायलाई रोजगारी, स्वरोजगार र वैदेशिक मुद्रा आर्जनको सम्भावनायुक्त क्षेत्रका रूपमा हेर्नुपर्छ । सरकारले यसको सम्भावनाबारे अध्ययन अनुसन्धान गरेर आवश्यक नीति ल्याउनुपर्छ । रैथाने वनस्पतिको पहिचान र निर्यात, उत्पादन प्रविधिको विकास, लगानी आकर्षित गर्ने कार्यक्रम तथा बजार व्यवस्थापनमा प्राथमिकता दिनुपर्छ ।
यस क्षेत्रलाई उचित सहयोग र प्राथमिकता दिए विदेशिएका युवालाई नेपालमै स्वरोजगार बनाउन सकिन्छ । त्यसैले संघीय सरकारसँगै प्रदेश र स्थानीय तहले पनि पुष्प व्यवसायको विकासमा विशेष ध्यान दिन आवश्यक छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्