नेभिगेशन
नेपाल

‘निर्वाचनमा ध्यान केन्द्रित गर’

काठमाडौं (संवाददाता) – जेनजी आन्दोलन पश्चात बनेको अन्तरिम सरकारले आकार लिइरहदा विभिन्न मानव अधिकार संस्थाहरूले सरकार, जेनजी समूह र राजनीतिक दलहरूको भूमिकाबारे धारणा सार्वजनिक गर्दै मुलुक र जनताको हितमा इमानदार प्रयासहरू अघि बढाउन आग्रह गरेका छन् । 

जवाफदेहिता निगरानी समिति, एमनेस्टी इन्टरनेसनल नेपाल लगायतका १० संस्थाहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई एकताबद्ध गर्ने, आशा र आत्मविश्वास जगाउने, संवैधानिक प्रणालीलाई पुनः ट्रयाकमा ल्याउने र राजनीतिक स्थिरता सुनिश्चित गर्ने प्रमुख उपाय भनेको आम निर्वाचन नै हो ।’ 

संस्थाहरूले शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि आवश्यक राजनीतिक तथा सामाजिक सद्भावको वातावरण निर्माणमा कुनै कसर बाँकी राख्न नहुने सुझाव दिएका छन् । यद्यपि हतारमा गरिने अत्यधिक महत्वाकांक्षी सुधारका प्रयासहरूले प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै त्यस्ता विषयलाई व्यवस्थित ढंगले भविष्यका लागि अघि बढाउनुपर्नेमा उनीहरूको जोड छ । 

जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघन र ज्यादतीको छानबिन गर्न सरकारले जाँचबुझ आयोगको गठन गरेको निर्णयको उनीहरूले स्वागत गरेका छन् । उक्त आयोगलाई बलियो कार्यादेश दिनुका साथै विशेषज्ञ जनशक्ति र पर्याप्त स्रोत–साधन उपलब्ध गराएर प्रभावकारी बनाउन माग गरिएको छ । 

आयोगले आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग, प्रदर्शनकारीको मृत्यु, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोड जस्ता घटनाको निष्पक्ष छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्