काठमाडौँ, २७ साउन । प्रतिनिधिसभा सदस्यहरूले केही दलले संसद्को गरिमा नै उल्लङ्घन गर्ने गरी नियमित ससंद् बैठक बहिष्कार गरेर अरुलाई लोकतन्त्र र विधिको पाठ सिकाउन खोजेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले कसैले पनि ‘प्रोपोगण्डा’का नाममा जनतामा अफवाह फैलाउन नहुने धारणा व्यक्त गर्नुभयो ।
बैठकमा नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौापानेले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठगीको अभियोगमा थुनामा रहेका तर सो पार्टीले दोष अरुलाई लगाउने काम गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले केही दलले लोकतन्त्र र विधिको पाठ पढाएर सदनको गरिमाविपरीत ससंद् बैठक बहिष्कार गर्ने गरेकामा विरोध जनाउनुभयो । सांसद न्यौपानेले संसद्मा महिला समिति बनाउन ढिलाइ भएकोप्रति जवाफ माग गर्नुभयो ।
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएका माग सम्बोधन गर्न सरकारले समिति गठन गरी काम गरिरहेको अवगत गराउँदै लामो समयदेखि सदन बहिष्कार गर्दा सदनको मर्यादा उल्लघङ्न भएको बताउनुभयो । यो कार्य ससंदीय विधिविपरीत भएको उहाँले टिप्पणी गर्नुभयो ।
“एकातिर बहिष्कारको नाटक गर्ने अर्काेतिर मिनि संसद्का रूपमा रहेको समितिमा सहभागी भएर जनतालाई भ्रम पार्न खोजेको देखियो”, प्रमुख सचेतक बर्ताैलाले भन्नुभयो,“वर्तमान सरकार गठनपछि आर्थिकलगायत क्षेत्रमा उल्लेख्य सुधार भएको छ । अर्थतन्त्र लयमा फर्किएको छ, यसले भ्रमको खेती गर्नेको मुख टालिएको छ ।”
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले केही दिनअघि भारतको उत्तराखण्डमा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यस घट्नामा नेपाली नागरिक पनि बेपत्ता भएकाले खोजीका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो । कैलाली कारागारमा भएको घटनामा सुरक्षाको कमजोरी रहेको उहाँले टिप्पणी गर्नुभयो ।
जनता समाजवादी पार्टी नेपालका सांसद उपेन्द्र यादवले समावेशी समानुपातिक सिद्धान्तअनुसार राज्यका सबै निकायमा नियुक्ति गर्न आग्रह गर्नुभयो । सांसद शेरबहादुर कुँवरले पनि भारतको उत्तराखण्डमा गएको पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यस घटनामा नेपाली नागरिक बेपत्ता भएकाले खोजीका लागि पहल गर्न माग गर्नुभयो ।
सांसदहरू रञ्जुकुमारी झा, अब्दुल खाँन, रामप्रकाश चौधरी, प्रेम सुवाल, प्रभु साह, योगेन्द्र मण्डललगायतले जनजीविकाका समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
- रासस