काठमाडौं, ८ असोज - काठमाडौंका प्रमुख व्यापारिक केन्द्रहरू न्यूरोड, इन्द्रचोक, असन, भोटाहिटी क्षेत्रमा दशैंका लागि किनमेल गर्नेहरूको बाक्लो भीड छ । भीड हेर्दा दशैंले सबैलाई छपक्कै छोपेको छ । समान्य पसलदेखि ठूला मलहरूमा व्यापारीहरूले आकर्षक अफर दिई सामान बेच्ने प्रतिस्पर्धा गरेका छन् ।
बजारमा ७० प्रतिशतसम्म छुट हुने अफर पाउन सकिन्छ । यसबाहेक व्यापारीहरूले सामान खरिदमा कुपन दिएर बम्पर उपहार सहित विभिन्न गिफ्ट र विदेश घुम्ने अफर पनि दिइरहेका छन् ।
यस्तै, अनलाइन बजारदेखि अटोमोबाइल, टेलिकम सेवा तथा इलेक्ट्रोनिक्स क्षेत्रसम्मका कम्पनीहरूले पनि ग्राहकलाई आकर्षित गर्न विभिन्न अफरहरू सार्वजनिक गरेका छन् । उनीहरूका अफरका प्रस्ताव हेर्दा ग्राहकलाई आफ्नो सामान बिक्री गर्न छुट दिने विषयमा उच्च प्रतिस्पर्धा छ ।
सामसङ नेपालले दशैंका लागि फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड सिक्स र ग्यालेक्सी जेड फ्लिप सिक्सको मूल्य कटौती गरेको छ । सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले दशैंमा विशेष मूल्यसहित फोन उपलब्ध गराएको बताए । ग्यालेक्सी जेड फोल्ड सिक्स (१२ प्लस ५१२ जीबी) को अघिल्लो मूल्य दुई लाख २९ हजार ९९९ रुपैयाँबाट ५० हजार क्यासब्याक दिई एक लाख ७९ हजार ९९९ रुपैयाँ अफर मूल्य सार्वजनिक गरेको छ ।
ग्यालेक्सी जेड फोल्ड सिक्स (१२ प्लस २५६ जीबी) को अघिल्लो मूल्य २ लाख १४ हजार ९९९ रुपैयाँमा ५० हजार क्यासब्याक दिई नयाँ मूल्य एक लाख ६४ हजार ९९९ रुपैयाँ तोकेको छ । ग्यालेक्सी जेड फ्लिप सिक्स (१२ प्लस २५६ जीबी) को अघिल्लो मूल्य एक लाख ३९ हजार ९९९ रुपैयाँ रहेकोमा ४० हजार रुपैयाँ क्यासब्याक दिई अहिले ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।
सामसङले नेपालभरका आधिकारिक स्टोरहरूमार्फत ‘सामसङ इन्स्टा फाइनान्स सेवा’ पनि उपलब्ध गराएको छ । जसको ब्याजदर शून्य प्रतिशत मात्रै हुनेछ । यस्तै, १८ महिनासम्मको यन्त्र बीमा सुविधासमेत दिएको छ । नेपाल टेलिकमले चाडपर्वको अवसरमा ग्राहकलाई इन्टरनेट, भ्वाइस र एसएमएस सेवामा छुट तथा सहुलियत दरमा विभिन्न प्याकेज उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ ।
असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई पाँच सय रुपैयाँ जडान शुल्क छुट दिएको छ । जीएसएम सेवाका ग्राहकका लागि चार सय ९९ रुपैयाँमा पाँच जीबी फेस्टिभल अनलिमिटेड र छ सय ९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज दिएको छ ।
फेस्टिभल अनलिमिटेड प्याकेजमा प्रतिदिन पाँच जीबीसम्म उच्च गतिमा प्रयोग गर्न सकिनेछ भने सो भन्दा बढी प्रयोग गरेपछि बाँकी अवधिमा दुई एमबीपीएस गतिमा डाटा उपलब्ध हुनेछ । त्यस्तै, प्रिमियम प्याकेजमा प्रतिदिन १० जीबीसम्म उच्च गतिको सुविधा रहनेछ र सो खपत भइसकेपछि तीन एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
यसबाहेक, दुई सय ५० रुपैयाँमा एक हजार मिनेट अल–नेट भ्वाइस सुविधा समावेश ‘जोयफूल मिनेट्स’ प्याकेज र ९९ रुपैयाँमा एक हजार अन–नेट एसएमएस सुविधा रहेको ‘फेस्टिभ मेसेज’ प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी प्याकेज प्रिपेड ग्राहकका लागि २८ दिन र पोस्टपेड ग्राहकका लागि ३० दिनसम्म मान्य हुने टेलिकमले जनाएको छ । मोबाइल प्याकेजहरू असोज ६ देखि २० गतेसम्म र कात्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ ।
स्कोडा नेपालले चाडपर्वलाई लक्षित गरी गाडी खरिद गर्दा आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले ‘फास्ट एण्ड फियरलेस’ भन्ने थिमसहित सुरु गरिएको यो अभियानमा स्कोडाले साहस र एकताको भावना फैलाउँदै प्रिमियम ड्राइभिङ अनुभव प्राप्त गर्न अझ सजिलो बनाएको दाबी गरेको छ ।
अभियानअन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले २० प्रतिशत डाउनपेमेन्ट, चार लाख रुपैयाँसम्म नगद छुट र सबैभन्दा विशेष, कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।
चाडपर्वलाई अझ रमाइलो बनाउन स्कोडाले आकर्षक अफर र रोमाञ्चक पुरस्कारहरू पनि उपलब्ध गराएको जनाएको छ । जसले गर्दा ग्राहकले गाडी मात्र नभई अविस्मरणीय सम्झना पनि घर लैजान सक्ने कम्पनीले दाबी गरेको छ ।
स्कोडाका दमदार डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डले नेपाली अटोमोबाइल बजारलाई निरन्तररूपमा नयाँ परिभाषा दिइरहेको छ । कम्पनीले चाडपर्व अफरसहितको बुकिङ खुला नेपालभर रहेका सबै अधिकृत स्कोडा शोरूममा भइसकेको जनाएको छ ।
नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पनि दशैं–तिहारलाई लक्षित गरेर अफर ल्याएको छ । हुन्डाइले ‘दशैं–तिहार, १० गुणा उपहार’ नामक अफर ल्याएको हो ।
कम्पनीले दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्षाेल्लास बनाउन यो अफर ल्याएको जनाएको छ । ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट पाउन सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर पनि पाउनेछन् । यसका साथै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन् । प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुनेछ ।
हरेक हुन्डाइ गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पाउने कम्पनीले जनाएको छ । अन्य धेरै साना व्यवसायीहरूले पनि दशैंका लागि विशेष छुटसहित, उपहार कम्बो अफरलगायतका अफरहरू सार्वजनिक गरेका छन् । यद्यपि केही व्यापारीहरूले हालैको आन्दोलन, आयातका लागि चीन तर्फको यातायात खुल्न नसक्नुलगायतका कारण मागअनुसार व्यापार नहुनेमा चिन्तित देखिन्छन् ।
दशैं अफरहरू विविध र आकर्षक छन् । तर उपभोक्ताले ध्यान दिएर सामान खरिद नगरेमा कमसल वस्तु पर्न सक्ने जोखिम हुन्छ । यस्तै, आकर्षक अफर पाउने आशामा अनलाइन खरिद गर्दा ठगिन सक्ने भएकाले सावधानी भने अपनाउनुपर्छ ।