काठमाडौं, ८ असोज - शेयरबजारमा दशैंको असर देखिन थालेको छ । आगामी सोमबारदेखि दशैं बिदा हुने र बुधबार बिक्री गरेको शेयरको भुक्तानी आइतबारसम्म पाउने आशामा लगानीकर्ता छन् । तर खरिद गर्नेहरू न्यून देखिए । त्यसैले बुधबार जम्मा चार अर्ब १२ करोड ४८ लाख रुपैयाँको ९४ लाख आठ हजार ६६३ कित्ता शेयर किनबेच भयो ।
खरिदकर्ताको चाप बढ्न नसकेपछि नेप्से परिसूचक पनि घटेको छ । नेप्से २७.८९ अंकले ओरालो लागेर २,६५४.३५ विन्दुमा झरेको छ । कारोबार भएका २५१ कम्पनीको शेयरमध्ये १९३ वटाको मूल्य घटेको छ । बाँकीमध्ये ५३ वटाको बढेको छ भने पाँच वटाको स्थिर रहेको छ ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक १.०७ प्रतिशत घटेर ४५९.३८ विन्दुमा झरेको छ । यस्तै, साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक १.०६ प्रतिशत घटेर १८१.९८ विन्दुमा झरेको छ । सेन्सिटिभ फ्लोट सूचक पनि १.११ प्रतिशत घटेर १५६.५५ विन्दुमा झरेको छ ।
सूचीकृत १३ समूहमध्ये अन्य समूहका कम्पनीको शेयरमूल्यमा धेरै गिरावट आएको छ । यो समूह कुल २.१६ प्रतिशत घटेको छ । यो समूहमा कारोबार भएका आठ कम्पनीमध्ये सात वटाको मूल्य घट्यो भने पियोर इनर्जीको मात्रै बढेको छ । अन्य पछि सर्वाधिक घट्ने दोस्रो समूह लगानी समूह छ । जुन १.९० प्रतिशत घटेको छ ।
त्यसपछि व्यापार समूह १.६५ प्रतिशत, निर्जीवन बीमा १.४४, फाइनान्स १.३९, विकास बैंक १.१३, जलविद्युत ०.९६, लघुवित्त ०.८४, बैंकिङ ०.७३, जीवन बीमा ०.५२ र उत्पादन तथा प्रशोधन ०.११ प्रतिशत घटेका छन् । होटल तथा पर्यटन र म्यचुअल फण्ड समूह भने बढेका छन् । होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत र म्युचुअल फण्ड ०.०४ प्रतिशत बढेको छ ।
बजार घटेपनि यसदिन तीन कम्पनीको शेयरकारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी, सिटि होटलको शेयरमूल्य १० प्रतिशत बढेको छ भने हिमस्टार ऊर्जाको ९.९९ प्रतिशत बढेको छ । यस्तै, भिजन लुम्बिनी ऊर्जा कम्पनीको ७.९३ प्रतिशत र बाराही हाइड्रोपावर ५.४२ प्रतिशत बढेर सर्वाधिक मूल्य बढ्ने पाँच कम्पनीमा परेका छन् ।
सबैभन्दा धेरै मूल्य घट्नेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर छ । यो लघुवित्तको शेयरमूल्य ५.३८ प्रतिशत घटेको छ । सर्वाधिक मूल्य घट्ने पाँच कम्पनीमा उन्नति सहकार्यसँगै राप्ती हाइड्रो एण्ड जेनरल कन्स्ट्रक्सन ४.६३ प्रतिशत, बुटवल पावर कम्पनी चार प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक ३.९७ प्रतिशत र एशियन हाइड्रोपावर ३.९२ प्रतिशत छन् ।
युनियन हाइड्रोपावरको शेयर कारोबार सबैभन्दा धेरै २२ करोड १३ लाख रुपैयाँको भएको छ । यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको १७ करोड ३२ लाख, हिमालयन रिइन्स्योरेन्सको १३ दशमलव ३७, सीइडीबी होल्डिङ्सको १२ करोड ६० लाख र शिवम् सिमेन्ट्सको ११ करोड तीन लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन लगानीकर्ताको सम्पत्ति ४७ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब ३७ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरको बजार पुँजीकरण १६ अर्ब रुपैयाँ घटेर १५ खर्ब छ अर्ब रुपैयाँ कायम भएको छ ।