नेभिगेशन
शिक्षा

दशैं छुट्टीका लागि पुस्तक

काठमाडौंमा इञ्जिनियरिङ अध्ययन गरिरहेका विराटनगरका सुजल गुप्ताले दशैं बिदामा घर जानुअघि केही किताब बटुले । लामो बिदालाई सदुपयोग गर्न उनले रोजेका केही किताबमा बीपी कोइरालको ‘जेल जर्नेल’, ध्रवचन्द्र गौतमको ‘अलिखित’ र दक्षिण अफ्रिकी उपन्यासकार जे.एम. कोट् जीको ‘लाइफ एन्ड टाइम अफ माइकेल के’ थिए । 

नेपाली राजनीतिको आन्तर्य केलाउन बीपी, मधेशी जनजीवन र सामाजिक मानेविज्ञान केलाउन गौतमको उपन्यास र मानवीय जीवनको अस्तित्वमाथिको प्रश्नमाथि कोट्जीको मानक उपन्यास पढ्ने उनको योजना रहेको गुप्ताले सुनाए । 

वर्षको लामो बिदा र आनन्दमय पर्व दशैंलाई पाठक र प्रकाशक दुवैले एउटा अवसरका रूपमा लिने गरेका छन् । प्रकाशकहरू दशैंको छेको पारेर नयाँ किताब प्रकाशन गर्ने गर्छन् भने पाठकहरू पनि दशैंको किनमेलमा पुस्तकलाई पनि समावेश गर्ने गर्छन् । दशैं खर्च गर्ने चाड हो । मान्छेहरूले आफ्नो खर्चको सूचीमा पुस्तकलाई पनि समावेश गर्ने गरेका छन् । 

अलि लामो बिदा हुने भएकाले मानिसहरूसँग पढ्नका लागि अलि बढी समय हुने, खर्च गर्न सक्ने पैसा अलि बढी हुने र गाउँठाउँको घरमा फर्कंदा साथीभाइ इष्टमित्रले मगाएको किताब किनेर लगिदिने हुँदा दशैंमा किताब अलि बढी बिक्री हुने गरेको प्रकाशक संस्था फाइनप्रिन्टका अजित बराल बताउँछन् । ‘दशैंमा अलि बढी किताब बिक्री हुने गरेको छ,’ बराल भन्छन् । त्यसमाथि पुस्तक पसलेहरूले दशैं छुट दिने गरेकाले पनि किताब अलि बढी बिक्री हुन्छन् । 

तर, यो वर्ष जेनजी विद्रोहले गर्दा देशको अवस्था असमान्य बनेको हुँदा पुस्तक प्रकाशनको गति पनि प्रभावमा छ । यद्यपि, पुराना राम्रा पुस्तकले पनि दशैंको बजारलाई धान्ने आशा गरिएको छ । दशैंको माहोल लागे पनि पुस्तक बिक्री भने विगतकोजस्तो नभएको बिक्रेताहरू बताउँछन् ।

यद्यपि अहिले बजारमा मदन पुरस्कार विजेता छुदेन काविमोको ‘उरमाल’, पद् मश्री पुरस्कार विजेता रमेश भुसालको ‘छालबाटो’को चर्चा चुलिएको छ । त्यसबाहेक कुमारी लामाको ‘दज्र्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरूपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ र तीर्थ गुरुङको ‘हिउँको गीत’को पनि चर्चा सुनिएको छ । 

त्यसबाहेक शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’, रमेश क्षितिजको कथासंग्रह ‘एउटा मायी नगरमा’, भवानी खतिवडाको नियात्रा ‘प्रणाम सगरमाथा’, पञ्चम अधिकारीको आख्यान ‘प्रवासीको देश हुन्न’, हरिप्रसाद उप्रेतीको नियात्रा ‘अलोहा’ र दिनेश अधिकारीको कविता संग्रह ‘पानीको परेड’को पनि चर्चा सुनिएको छ । 

यसबाहेक उपन्यास विधामा टंक चौलागाईंको ‘रुदाने’, सरस्वती प्रतीक्षाको ‘स्व’, श्रीधर खनालको ‘सावर्णि’, वसन्त बस्नेतको ‘सिमसारा’ पनि चासोका साथ हेरिएको किताब हुन् । 

देशकै पुरानो पुस्तक प्रकाशक तथा बिक्रेता रत्न पुस्तक भण्डारअन्तर्गतको रत्न बुकका प्रोपराइटर रोशन श्रेष्ठ अहिले विगतमा जस्तो दशैंलाई नै भनेर पाठकहरूले पुस्तक किन्न नकुर्ने बताउँछन् । अहिलेको पुस्ता प्रविधिमा अभ्यस्त भएसँगै अनलाइनमार्फत किताब मगाउने गरेको उनी सुनाउँछन् । 

‘त्यसकारण पनि पहिलाजस्तो दशैंमै भनेर पुस्तक किन्ने चलन अहिले छैन,’ श्रेष्ठ भन्छन्, ‘तर पनि लामो बिदा हुने भएकाले पाठकहरूले यो बेला अलिअलि किताब किन्ने गरेका छन् ।’ रत्नको अनलाइन व्यापार हेर्ने सुरेश श्रेष्ठ हालको जेनजी विद्रोहले समग्र व्यापारमा परेको प्रभाव पुस्तकमा पनि परेको बताउँछन् ।

‘अब एक दुई दिनमा चाडको माहोल आएपछि बिक्रीमा सुधार आउला,’ उनले भने । अनलाइनमा युवापुस्ताले पढ्ने खालका किताबहरूको बढी अर्डर आउने उनले बताए । युवापुस्ताले कुलिन हुभर, ताहिर माफी, खालेदी हुसेनीलगायतका किताबहरू बढी रुचाएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्