नेभिगेशन
नेपाल

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायप्रति सरकार दृढ : प्रधानमन्त्री कार्की

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र सामाजिक न्याय सुनिश्चित गर्न सरकार दृढ प्रतिबद्ध रहेको बताएकी छन् ।

आज सिंहदरबारबाट राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारी निकायमा ढिलासुस्ती, भ्रष्टाचार वा झन्झटपूर्ण कार्य भएमा नागरिकले प्रत्यक्ष उजुरी गर्न सक्ने व्यवस्था स्वरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित तीनै तहका सम्बन्धित निकायमा ‘हटलाइन’ सञ्चालन गरिएको जानकारी दिइन् ।

संविधान संशोधनसम्बन्धी विषय संसद्बाटै सम्बोधन हुनुपर्नेमा जोड दिँदै उनले जेनजी समूहको आन्दोलनको मर्मअनुरूप सरकार सञ्चालन भइरहेको उल्लेख गरिन् । चालु आर्थिक वर्षमा स्रोत सुनिश्चित नभएका टुक्रे योजनाका बजेट खारेज गरिएको र भौतिक संरचना पुनःनिर्माणका लागि विशेष कोष स्थापना गरिएको पनि उनले जानकारी दिइन् ।

राष्ट्रसेवक कर्मचारीलाई रुपान्तरित भएर सेवाप्रवाहमा दक्षता देखाउन आग्रह गर्दै उनले “मनोबल गिराउने कार्य नगरी नागरिकमैत्री ढंगले काम गर्न” अपिल गरिन् ।

साथै, प्रधानमन्त्री कार्कीले नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा रूपान्तरण गर्ने तथा छ महिनाभित्र निर्वाचन सम्पन्न गराउने आफ्नो दायित्व स्पष्ट पारिन् । गत भदौ २७ गते गठन भएको आन्तरिक सरकारको नेतृत्व लिएपछि आज सिंहदरबारबाट गरिएको यो सम्बोधनमा उनले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने उपायबारे पनि सरकार अध्ययनरत रहेको बताइन् । युवापुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्दै योग्य नेतृत्व चयनका लागि उत्साहपूर्वक मतदान गर्न उनले सबैलाई आह्वान गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्