नेभिगेशन
नेपाल
राष्ट्रका नाममा प्रधानमन्त्रीको सन्तुलित सम्बोधन

‘यो सरकारले संविधान संशोधन गर्न सक्दैन’

काठमाडौं, ९ असोज - प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको ६ महिने अन्तरिम सरकारको मुख्य जिम्मेवारी निर्वाचन भएकाले सबैको सहयोगका लागि आह्वान गरेकी छन् । उनले बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै जेनजीले सडकबाट गरेका सबै माग वर्तमान सरकारले पूरा गर्न नसक्ने स्पष्ट पार्दै चुनावका लागि केन्द्रित हुन आग्रह गरिन् ।

‘नेपालको संविधान र शासकीय प्रणालीको संशोधनमा जेनजी पुस्ताले उठाएको विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले परिवर्तन पक्षधरलाई आगामी निर्वाचनमा सहभागी भै संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आग्रह गर्दछु,’ उनले भनिन् । चुनावबाट आएको नयाँ जनमतले नै संविधान संशोधन गर्नसक्ने उनले स्पष्ट पारेकी छन् ।

प्रधानमन्त्री कार्कीले चुनावी सरकारका क्षेत्राधिकारभित्र पर्ने काम इमानदारीका साथ गर्ने बताएकी छन् । सम्बोधनको क्रममा उनले सरकारले अहिलेसम्म गरेका कामको जानकारी पनि गराएकी थिइन् । 

सम्बोधनलाई फागुन २१ को निर्वाचनमै केन्द्रित गरेकी कार्कीले प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र योग्य जनप्रतिनिधिको चयनका लागि निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गरेकी छन् । सामाजिक न्याय र भ्रष्टाचारको अन्त्य साझा एजेण्डा भएकाले मनोबल कमजोर पार्ने खालका क्रियाकलाप नगर्न आग्रह गरिन् । 

स्वतन्त्र, भयरहित, निष्पक्ष निर्वाचनलाई सफल पार्न सबै सरोकारवालालाई आग्रह गरेकी छन् । भ्रष्टाचारका विषयमा अहिलेको सरकारले धेरै जानकारी पाइसकेको र छानबिन गरेर दोषीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले बताइन् ।

‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ,’ प्रधानमन्त्री कार्कीले भनिन् । 

जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा भेटिएको भनिएका जलेका नोटबारे छानबिन सुरु भएको दाबी उनले गरेकी छन् । ‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा स्वाभाविकरूपमा देखिएका नगद रकमका सन्दर्भमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ,’ उनले भनिन् । 

जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका घरमा आगजनी गरेका थिए । देउवा, दाहाललगायतका घरमा जलेका नोट भेटिएको बताइएको छ । ती विषयमा सम्पत्ति शुद्धीकरण विभागले नोट संकलन गरी अनुसन्धान सुरु गरेको छ ।

जेनजी आन्दोलनले उठाएको विषयलाई सबैले सहयोग गर्न प्रधानमन्त्रीको आग्रह छ । उनले चुनाव मुख्य विषय भएको स्पष्ट पार्दै देशबाहिर रहेका नेपालीलाई विदेशबाट मतदान गर्नसक्ने सम्भावनाबारे निर्वाचन आयोगसँग छलफल भइरहेको जानकारी गराएकी छन् ।

‘रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपाली नागरिकलाई विदेशसमेत मतदान गर्नसक्ने सम्भावनाका बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ,’ उनले भनिन् । उनले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी, हकहितको संरक्षण एवं गैरआवासीय नेपालीले उठाएका संविधानसम्मत मागप्रति सरकार सकारात्मक रहेको उनले सम्बोधनको क्रममा बताएकी छन् ।

सुरक्षा निकायका भवनलाई पुनर्निर्माणमा जुटिसकेको बताएकी छन् । सरकारी सेवामा सेवाग्राहीको काममा हुने ढिलासुस्ती, मोलमोलाइ, घुस मागेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सबै मन्त्रालयमा हटलाइनमा जानकारी गराउन भनेकी छन् ।

साथसाथै उद्योगी, व्यवसायीको मनोबल उच्च राख्न राहत कर, छुट सहुलियत एकीकृत व्यावसायिक पुनरुत्थान योजना ल्याएको सम्बोधनका क्रममा बताइन् । सरकार आन्दोलनका क्रममा क्षति हुन पुगेका सुरक्षा निकायका कार्यालय पुनर्निर्माणमा जुटिसकेको बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्