काठमाडौं, ९ असोज - शेयरबजार बिहीबार सामान्य अंकले घटेको छ । कारोबार मापक नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ विन्दुमा झरेको छ । यसदिन शेयर कारोबार पनि घटेको छ । ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ रुपैयाँ बराबरको ७९ लाख ५३ हजार ७४० कित्ता शेयर किनबेच भएको छ ।
जेनजी आन्दोलनअघि दैनिक औसत कारोबार ५ अर्ब रुपैयाँ भन्दा बढी थियो । अहिले दशैंका लागि पैसाको जोहो गर्नुपर्दा लगानीकर्ताले शेयर कारोबार घटाएको विश्लेषकहरू बताउँछन् । यहीकारण कारोबार रकम घटेको हो ।
आगामी सोमबारदेखि दशैंका लागि विदा हुने र अब शेयर बिक्री गर्दा दशैंअघि पैसा प्राप्त नहुने नभएकाले बजारमा शेयर बिक्री गर्नेहरू कम छन् । यस्तै शेयर किन्दा दशैंको पैसा जोहो गर्न मुस्किल हुने भएकाले पनि खरिद गर्नेहरू न्यून देखिन्छन् ।
मूल सूचकबाहेक समूहगत सूचकहरू पनि घटेका छन् । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ०.०२ प्रतिशत घटेर ४५९.२८ विन्दुमा कायम भएको छ । यस्तै साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक ०.११ प्रतिशत घटेर १८१.७८ विन्दु र सेन्सिटिभ फ्लोट सूचक ०.०२ प्रतिशत घटेर १५६.५१ विन्दुमा झरेको छ ।
कारोबारमा आएका २५१ कम्पनीमध्ये १३९ वटाको शेयरमूल्य घटेको छ । बजार घटे पनि १०७ कम्पनीका शेयरधनीले कमाएका छन् । बाँकी पाँचवटा कम्पनीको शेयरमूल्य भने स्थिर छ ।
सूचीकृत १३ समूहमध्ये बैंकिङ, लगानी, व्यापार र म्युचुअल फण्ड समूह बढेका छन् । बाँकी ९ वटा समूह घटेका छन् । सबैभन्दा धेरै व्यापार समूह १.३६ प्रतिशत बढेको छ । त्यसपछि म्युचुअल फण्ड ०.५०, लगानी ०.२१ र बैंकिङ ०.१२ प्रतिशत बढेका छन् ।
सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा गिरावट आएको छ । यो समूह १.४९ प्रतिशत घटेर ६,५१७.६७ विन्दुमा झरेको छ । त्यसपछि उत्पादन तथा प्रशोधन समूह ०.७३ प्रतित, फाइनान्स ०.५०, अन्य ०.४९, विकास बैंक ०.४४, निर्जीवन बीमा ०.३९, लघुवित्त ०.०९ र जलविद्युत ०.०४ प्रतिशत घटेका छन् ।
हिमस्टार उर्जा कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।त्यसपछि कालिका पावर कम्पनीको शेयरमूल्य ६.७२ प्रतिशत, गुराँस लघुत्ति वित्तीय संस्थाको ६.२९, ग्रीन लाइफ हाइड्रोपावरको ५.६२ र छ्याङदी हाइड्रोपावरको ३.२९ प्रतिशत बढेर सर्वाधिक मूल्य बढेका पाँच कम्पनीभित्र अटाएका छन् ।
सर्वाधिक शेयरमूल्य सिटी होटलको ७.५५ प्रतिशत घटेको छ । सबैभन्दा धेरै शेयरमूल्य घट्ने पाँच कम्पनीमा सिटी होटलसँगै नारायणी डेभलपमेन्ट बैंक ५.८५ प्रतिशत, समता घरेलु लघुवित्त ४.७४, सयपत्री हाइड्रोपावर ४.११ र सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ३.९५ प्रतिशत घटेको छ ।
सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सको ३० करोड ९ लाख र युनियन हाइड्रोको १८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसपछि हिमालयन रिइन्स्योरेन्सको ११ करोड ३८ लाख, कालिका पावर कम्पनीको ७ करोड ३४ लाख र लुम्बिनी विकास बैंकको ६ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार सामान्य घटेकाले यसदिन लगानीकर्ताको सम्पत्ति पनि जम्मा ४ अर्ब रुपैयाँ मात्रै घटेको छ । बजार पुँजीकरण ४४ खर्ब ३३ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण दुई अर्ब रुपैयाँ घटेर १५ खर्ब ४ अर्ब रुपैयाँ कायम भएको छ ।