‘ह्यारी पोटर’बाट रातारात चर्चामा आएकी अभिनेत्री एमा वाट्सनले आफ्नो लामो अभिनय विश्रामपछि हलिउडबाट रातारात हराउनुको कारण खुलासा गरेकी छन् । ‘ह्यारी पोटर’मा उनलाई हर्माइनी ग्रेन्जरका रूपमा दर्शकले चिनिरहेका थिए । उनको पछिल्लो फिल्म चाहिँ सन् २०१८ मा ग्रेटा गर्विग निर्देशित ‘लिटल वुमन’ थियो ।
हलिउडबाट टाढिएपछि आफू निकै खुसी भएको हलिउड अथेन्टिक म्यागेजिनलाई बताएकी छन् । उनले भनिन्, ‘सायद म जीवनमै अहिलेसम्मकै सबैभन्दा खुसी र स्वस्थ अवस्थामा छु।’ अभिनयमा सक्रिय रहँदा उनले निरन्तर सार्वजनिक जीवनको दबाब र आत्म–पहिचानको संघर्ष भोग्नुपर्यो ।
‘अभिनेता हुनुको अर्थ भूमिका निर्वाह गर्नु मात्र होइन, बरु निरन्तर एउटा सार्वजनिक छवि निर्माण गर्ने काम पनि हो । त्यो छविलाई बनाइराख्न, सजाउन र आकर्षक देखाउन धेरै ऊर्जा खर्च हुन्छ,’ उनले भनेकी छन् ।
ती ‘अनेकौं पहिचान’ हटाएर आफूलाई साधारण मानिसजस्तै जिउन पाउँदा, उनी अझ राम्रो छोरी, बहिनी, साथी, नातिनी र कलाकार बनेको बताएकी छन् ।
वाट्सनले हलिउड उद्योगको व्यावसायिक पक्षलाई निकै आलोचना गरिन् । ‘कलालाई भन्दा बढी बेच्ने र प्रमोट गर्ने प्रक्रियालाई महत्व दिने संस्कृतिले सन्तुलन बिगार्छ,’ उनको भनाइ छ ।
‘साँचो कुरा भन्नुपर्दा, मलाई व्यापारिक पक्ष मन परेन,’ तर अभिनय गर्न नपाउँदा भने फिल्मको सेट मिस भएको उनले बताइन् । ‘फिल्म बेच्नु कहिलेकाहीं आत्मा नष्ट गर्ने काम लाग्थ्यो तर अहिले मलाई अभिनयकै मोह छ, कलाकै मोह छ,’ उनले भनेकी छन् ।
अभिनयप्रति आफ्नो गहिरो मोहलाई उनले ध्यानसँग तुलना गरिन् । ‘जब म क्यामेरा अगाडि उभिन्छु, अभिनयको तयारी गर्छु, त्यो क्षण अत्यन्त गहिरो ध्यानजस्तै हुन्छ । त्यो बेला तपाईं अरू कतै हुनुहुन्न । त्यो स्वतन्त्रता हो । म त्यो स्वतन्त्रता मिस गरिरहेकी छु, तर असाध्यै ठूलो दबाब चाहिँ महसुस गरेकी छैन,’ उनको भनाइ छ ।
वाट्सनका लागि जीवनको असली आधार भनेको परिवार र साथी हुन् । उनले जोड दिँदै भनिन्, ‘घर, साथी र परिवार नै जीवनको जग हो । लामो समयसम्म निरन्तर काम गर्दा मैले जीवन एकप्रकारले ‘तल्लो स्तर’मा पुगेको महसुस गरेकी थिएँ ।’ यसै कारण उनले अभिनयबाट टाढा बस्दै आफ्नै जीवनलाई पुनः व्यवस्थित गर्ने अवसर लिन चाहिन् ।
सन् २०२३ मा फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा पनि उनले अभिनयप्रति असन्तोष व्यक्त गरेकी थिइन् । ‘म अभिनयबाट कहिल्यै पूर्ण सन्तुष्ट थिइनँ । कतिपय समय मलाई कैदमा परेको जस्तो लाग्थ्यो,’ उनले भनाइ थियो ।
वाट्सनको अभिनय यात्रा हर्माइनी ग्रेन्जरको रूपमा सुरु भए पनि उनले त्यसपछि पनि थुप्रै सफल फिल्ममा काम गरिन् । ‘नोआ’, ‘द ब्लिङ रिङ’, ‘द सर्कल’ र ‘ब्यूटी एण्ड द बीस्ट’जस्ता फिल्महरूले उनको स्टारडमलाई थप मजबुत बनाए ।
तर, ‘लिटल वुमन’पछि उनले अभिनय रोकिन् र सन् २०२२ मा ‘ह्यारी पोटर’को २० औं वर्ष पुगेको अवसरमा बनाइएको टिभीको विशेष कार्यक्रममा मात्र देखिइन् ।
हालै उनले अक्सफोर्ड विश्वविद्यालयमा क्रिएटिभ राइटिङमा स्नातकोत्तर अध्ययन गरिरहेकी छिन् । यसलाई धेरैले उनको करियरको नयाँ अध्यायका रूपमा लिएका छन् । लेखनमार्फत उनले आफूभित्रको सिर्जनात्मक पक्षलाई उजागर गर्न चाहेको अनुमान गरिएको छ ।
एमा वाट्सनको अनुभव हलिउडकै होइन, सम्पूर्ण मनोरञ्जन उद्योगकै एउटा प्रतिरूप हो । स्टारडमले दिएको ख्याति र अवसरसँगै व्यक्तिगत स्वतन्त्रता गुम्ने, निरन्तर दबाबमा बस्नुपर्ने र आफैंलाई खोसिँदै गएको महसूस हुने स्थिति धेरै कलाकारले भोग्ने गरेका छन् ।
वाट्सनले साहसपूर्वक यो विषय उजागर मात्र गरिनन्, आफ्नो जीवनलाई पुनः सन्तुलनमा ल्याउन अभिनयलाई केही समयका लागि ‘पज’ गर्ने निर्णय समेत गरिन् ।
आजकी एमा हर्माइनीभन्दा फरक व्यक्तित्व हुन् । उनी अब अभिनेत्री मात्र होइनन्, उनी अक्सफोर्डकी विद्यार्थी, लेखिका, परिवारप्रेमी र जीवनमा स्वतन्त्रता खोज्ने महिला हुन् । उनको अनुभवले हलिउड उद्योगमा काम गर्ने धेरै कलाकारलाई प्रश्न सोध्न प्रेरित गर्नेछ, ‘के स्टारडमले पाएको मूल्य व्यक्तिगत जीवन र आत्म–सन्तुष्टिभन्दा ठूलो छ ?’