काठमाडौँ, १० असोज - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा भएका नागरिक हत्या, बल प्रयोग, दमन र देशव्यापी आगजनी तथा लुटपाटका घटनाहरूको गहन छानबिन र उचित कारबाही आवश्यक रहेको बताएकी छन् ।
मदन भण्डारी मेमोरियल कलेजमा आयोजित अन्तरक्रिया तथा राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले आन्दोलनका मागहरू न्यायोचित रहेको र शान्तिपूर्ण बाटोबाट समाधान खोजिनुपर्नेमा जोड दिँदै कतिपय क्षेत्रमा भएको बल प्रयोग र मानिसहरूको ज्यान गुम्नु दुर्भाग्यपूर्ण र अस्वीकार्य रहेको बताइन् ।
भण्डारीले भनिन्, ‘जेनजी आन्दोलनको भोलिपल्ट भएको विध्वंस, आगजनी र लुटपाटले अनेक प्रश्न खडा गरेको छ । यी घटनाहरू एउटै श्रृंखलामा पर्ने वा सम्बन्धित छन् कि छैनन्, त्यसको छानबिन छुट्टै र बृहद् स्तरमा गर्नुपर्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले मुलुक संकटमा परेको अवस्थामा यसलाई सधैँ रहन नसक्ने भन्दै तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्य गर्नुपर्छ भनेकी छन् । उनले सबै तहका व्यक्तिलाई राजनीतिक दलहरूलाई सुझाव दिन सक्रिय हुन आग्रह गर्दै भनिन्, ‘दलहरूले जनताको बीचमा गएर मुलुकलाई निकास दिन ढिलाइ गर्नुहुँदैन ।’
भण्डारीले थपिन्, ‘शक्तिका स्रोत जनता हुन् । दलहरूले आफ्नो दर्शन, सिद्धान्त, नीति र विचार अनुसार कार्यक्रम गरे कि गरेनन् ? त्यसका लागि दलहरूले जनताको बीचमा जानुपर्छ । दलहरूले बढी भूमिका खेल्नुपर्ने म ठान्छु । हामी सबैले आफ्नो–आफ्नो ठाउँबाट भूमिका खेलौं । नयाँ पुस्ताको मनोभावना र मागलाई राज्यले कसरी सम्बोधन गर्न सक्छ, त्यसलाई सबैले बुझ्नुपर्छ ।’
भण्डारीले मुलुकमा अस्थिरता रोक्न राजनीतिक दलहरूको जिम्मेवारी र सक्रियता अपरिहार्य भएको बताइन् । उनले भनिन्, ‘राजनीतिक दलहरूले जनताको भावना बुझेर सहमति र संवादको माध्यमबाट देशलाई निकास दिनुपर्छ । ढिलाइ गर्दा स्थिति अझ जटिल हुन्छ ।’ पूर्वराष्ट्रपतिले राष्ट्रिय एकता, सहमति र लोकतान्त्रिक मूल्यको रक्षा आवश्यक ठान्दै सबै दल, समुदाय र तहलाई गम्भीर भएर भूमिका खेल्न आग्रह गरेकी छिन् । यसले राजनीतिक स्थायित्व मात्र होइन, आर्थिक र सामाजिक विकासको मार्ग पनि स्पष्ट गर्ने बताइन्छ ।
भण्डारीले समाजमा बढ्दो विखण्डन र शान्तिपूर्ण आन्दोलनको भावना कमजोर भएकोमा पनि चिन्ता व्यक्त गरेकी छिन् । उनका अनुसार नयाँ पुस्ताको मनोभावना र मागलाई बुझेर राज्यले त्यसको समाधान गर्नुपर्छ । यदि युवा वर्गको आवाज र माग सम्बोधन नगरियो भने भविष्यमा यस्ता अस्थिर घटनाहरू पुनः दोहोरिन सक्छन् ।
कार्यक्रममा करिब दुई सयभन्दा बढी राजनीतिज्ञ, सामाजिक संगठनका प्रतिनिधि, बुद्धिजीवी र समुदायका अगुवाहरू सहभागी थिए । सहभागीहरूले पनि बल प्रयोग र दमनको विरुद्धमा आवाज उठाएका थिए । अधिकांश वक्ताले राष्ट्रिय एकता र निर्वाचनको वातावरण तयार पार्नुपर्नेमा जोड दिएका थिए ।