नेभिगेशन
प्रदेश

तलब नपाएपछि शिक्षक आन्दोलित

रौतहट, १० असोज - दशैं नजिकिँदा समेत तलब नपाएको भन्दै रौतहटको चन्द्रपुर नगरपालिकामा कार्यरत शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । तलब नआउँदा चाडबाडका लागि आवश्यक तयारी गर्न नसकेको गुनासो गर्दै उनीहरूले मंगलबार नगरपालिकामा धर्ना दिएका छन् ।

शिक्षकहरूले नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरूसँग भेट गरी तत्काल तलब उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमासिक तलब तथा चाडपर्व भत्ता तुरुन्त निकासा गर्नुपर्ने, कात्तिक महिनादेखि प्रत्येक महिनाको १५ गतेभित्र नियमित रूपमा तलब दिनुपर्ने, शिक्षक तथा विद्यालय कर्मचारीको तलब मागअनुसार छुट्याउनुपर्ने र शिक्षालाई नगरपालिकाको प्राथमिकतामा राख्नुपर्ने माग उल्लेख छन् । 

शिक्षक लक्ष्मण खनालले तलब नपाएर चाडबाड कसरी मनाउने भन्ने अन्योलमा परेको बताउँदै भने, ‘हाम्रो घरपरिवार, बालबच्चा सबै यही तलबको भरमा पालिन्छ । दशैंको मुखमा तलब नआउँदा मानसिक रूपमा निकै दबाबमा छौं ।’

प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहका अनुसार तलब वितरणमा ढिलाइ हुनुको मुख्य कारण नगरपालिका कार्यालयमा भएको क्षति हो । उनका अनुसार, भदौ २४ गतेको जनजीविका आन्दोलनको क्रममा आन्दोलनकारीहरूले नगरपालिकामा आगजनी गर्दा आवश्यक कागजात, कम्प्युटर र प्रणाली जलेर नष्ट भएपछि बजेट शिर्षक सुत्रमा दाखिला प्रक्रिया प्रभावित भएको हो । ‘केन्द्रीय सर्भरमा समस्या भएका कारण खाता सञ्चालनमा ढिलाइ भएको हो, भोलीसम्म सबै प्रक्रिया पुरा भई तलब वितरण सुरु हुने विश्वास लिएको छु,’ प्रशासकीय अधिकृत साहले बताए ।

नगरप्रमुख सञ्जय कुमार काफ्लेले तलब नदिँदा शिक्षकमाझ परेको समस्यालाई गम्भीरताका साथ लिएको जनाउँदै, ‘कार्यालय जलेको अवस्थामा पनि हामी जसरी हुन्छ आइतबारसम्म तलब उपलब्ध गराउने प्रयासमा छौं,’ भने । चन्द्रपुर नगरपालिकामा अहिले शिक्षकहरू त्रैमासिक रूपमा तलब पाउँदै आएका छन् । तर यसपालिको श्रावणदेखि अहिलेसम्मको तलब नआएपछि दशैं भत्ता समेत नपाउने अवस्था बनेको शिक्षक ध्रुव सिग्देलले बताए ।

‘चाडबाडको बेला घरपरिवारसँग बस्नुपर्ने बेलामा तलब माग्दै नगरपालिकाको धक्का खानुपर्ने बाध्यता छ,’ उनले भने । आइतबारसम्म पनि तलब नआए कडा आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए । कतिपय नगर स्वयमसेवक शिक्षकहरू एक वर्षदेखि तलब नपाएको जानकारी दिँदै उनले सबै तहका जनप्रतिनिधि र कर्मचारीहरू शिक्षकहरूको समस्याप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्