सिन्धुपाल्चोक, १० असोज - कुनै समय सामान्य उपचारका लागि समेत राजधानी धाउनु पर्ने बाध्यता बोकेको सिन्धुपाल्चोकको चौतारा अस्पताल आज ‘रेफर सेन्टर’ होइन, भरपर्दो सेवा केन्द्रको रूपमा उभिन थालेको छ । सेवा विस्तार, जनशक्ति थप र अत्याधुनिक उपकरणको प्रयोगसँगै चौतारा अस्पताल अहिले जिल्लावासी मात्र नभई आसपासका जिल्लाका बिरामीका लागि पनि सहज र भरपर्दो स्वास्थ्यस्थल बन्न पुगेको छ ।
अस्पतालमा हाल दैनिक ३ सयभन्दा बढी बिरामीको चाप रहेको छ । अस्पताल प्रशासनका अनुसार पछिल्लो ३ महिनामा मात्र ३० भन्दा बढी हाडजोर्नीसम्बन्धी शल्यक्रिया सम्पन्न भएका छन् भने ४० बढी सामान्य शल्यक्रिया पनि चौतारामै सम्पन्न भएका छन् ।
विगतमा सामान्य ज्वरो वा हात खुट्टा भाँचिएपछि पनि धुलिखेल वा काठमाडौं धाउनु पर्ने बाध्यता थियो । अहिले अधिकांश उपचार चौतारामै सम्भव भएको भन्दै स्थानिय खुशी भएका छन् । सेवाग्राही साईली गिरी भन्छिन्, ‘पहिला सामान्य उपचारका लागि पनि धुलिखेल जान्थ्यौं, अहिले यहीँ सेवा पाउँदा निकै राहत भएको छ ।’
यस्तै, अर्का सेवाग्राही प्रेम सागर यादव भन्छन्, ‘हामीले सोचेकै थिएनौं चौतारामै अप्रेसन हुन्छ भनेर, अब अस्पतालप्रति हाम्रो विश्वास बढेको छ ।’ जिल्लामा पहिलोपटक हाडजोर्नी विशेषज्ञसहित चार जना चिकित्सकको स्थायी रूपमा नियुक्तिपछि यस्तो सम्भव भएको हो । साथै, अस्पतालमा सी–आर्म मेसिन, डिजिटल एक्स–रे जस्ता उपकरणको प्रयोगसँगै शल्यक्रिया थप सहज बनेका छन् ।
मनोसामाजिक स्वास्थ्यलाई ध्यानमा राख्दै चौतारा अस्पतालले २४ सै घण्टा मनोरोग सेवा सुरु गरेको छ । आत्महत्याको उच्च दर रहेको जिल्लामा यो सेवा निकै महत्वपूर्ण मानिएको छ । पहिले मृगौला डायलासिसका लागि काठमाडौं धाउनुपर्ने बाध्यता थियो ।
अहिले चौतारामै डायलासिस सेवा सुरु भएपछि नियमित ४ जना बिरामी यहाँ सेवा लिइरहेका छन् । सेवाग्राही पूर्णबहादुर नेपाली भन्छन्, ‘अब महिनौंको खर्च र दुःखबाट मुक्ति पाएका छौं, यही अस्पतालमै डायलासिस सेवा पाउँदा हामीलाई धेरै राहत मिलेको छ ।
हाल अस्पतालमा १६ जना चिकित्सक, २ जना दन्त चिकित्सक, र करिब ११६ जना स्वास्थ्यकर्मी कार्यरत छन् । तर बिरामीको चाप बढेसँगै जनशक्ति र उपकरणको अभाव अझै चुनौतीको रूपमा देखिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्धमणी भण्डारीका अनुसार, ‘पित्तथैलीको शल्यक्रिया, मृगौलाको पत्थरी जस्ता उपचारका लागि अझै डन्डोस्कोपी, भिडियो एक्सरे, इको जस्ता उपकरण आवश्यक छन् । यी भएमा अधिकांश रेफर केस यहीँमै समाधान हुन्छ ।’ चौतारा अस्पतालले अब जिल्लाका बासिन्दा मात्र होइन, सिन्धुली, रामेछाप, दोलखा लगायतका नजिकका जिल्लाका लागि पनि सेवाको केन्द्र बनाउने लक्ष्य लिएको छ ।