नेभिगेशन
विश्व

फ्रिडा काह्लोका दुर्लभ चित्रसहित संग्रहालय खुल्यो

संसारमा नै चित्रकलाको दुनियाँमा फ्रिडा काह्लोको नाम अमर छ । उनका चित्र र व्यक्तिगत संकलनका सामग्रीहरू हेर्न सर्वसाधारणको सधैँ भिड लाग्ने गर्छ । यतिबेला मेक्सिकोमा रहेको काह्लो परिवारका अन्य सदस्यहरूसँगै फ्रिडाका सरसामग्रीहरू राखिएको संग्रहालय खुला गरिने भएको छ । कासा काह्लो संग्रहालय नाम राखिएको यो संग्रहालयको उद्घाटन आउँदो साता हुने भएको हो ।

यद्यपि यो संग्रहालय कोयोआकानको ऐतिहासिक केन्द्रमा रहेको चर्चित कासा अझुल (नीलो घर) नजिकै छ । कासा काह्लो भने फरक हो तर इतिहासले गहिरो सम्बन्ध बाँधेको छ। यो घर फ्रिडा काह्लोका आमाबाबुको थियो। उनले फ्रिडालाई बिहेमा उपहारस्वरूप कासा अझुल दिएका थिए। त्यहाँ उनका प्रेमी डिएगो रिवेरासँग बसेकी थिइन्।

कासा काह्लोमा पनि फ्रिडा काह्लोका प्रशंसकहरूलाई चिनेका तत्त्वहरू परम्परागत भान्छा र बगैँचा देखिन्छन्। यसले उनका घनिष्ट परिवारबारे अन्तरंग विवरण उजागर गर्छ । यही घरमा उनका फोटोग्राफर पिता गुइलेर्मो र फ्रिडालाई हेरचाह गर्ने बहिनी क्रिस्टिनाका सामग्रीहरू पनि राखिएका छन् ।

’तपाईंले यहाँ उनको जीवनकथालाई बढी मानवीय दृष्टिले देख्नुहुनेछ,’ संग्रहालयका निर्देशक आदान गार्सियाले भने, ’ती महान् कलाकारको पछाडि बालापन थियो जसले पोलियोसँग संघर्ष गरिन् र बाबुआमा दुवैसँग गहिरो लगाव राखिन् ।’

फ्रिडा स्वयं पनि केही समय यो घरमा बसेकी थिइन्। दुई वर्षअघि मात्र उनका नातेदारहरूले यो घर छाडेपछि संग्रहालय बनाउने बाटो खुलेको हो । संग्रहालयमा फ्रिडाले आधिकारिक रूपमा चित्रित गरेको एक मात्र भित्तेचित्र पनि देख्न सकिन्छ।

बाल्यकालमा फ्रिडा काह्लोलाई कीरा जम्मा गर्न र सूक्ष्मदर्शक यन्त्रमार्फत तिनका प्वाँख हेर्न मन पर्थ्यो । त्यो सूक्ष्मदर्शक आज पनि कासा काह्लोको घरमा सुरक्षित छ। यो कोठा उनको लागि धेरै विशेष थियो। डिएगो रिवेरासँग विवाह गरेपछि जब उनीसँग वादविवाद हुन्थ्यो, फ्रिडा यहीँ आश्रय लिन आउँथिन्।

‘यो घर उनी शान्तिका आउँथिन्,’ नातामा नातिनी पर्ने मारा रोमियो काह्लोले भनिन् । उनले चित्रित गरेका वोटिभ पेन्टिङ र सान फ्रान्सिस्को भ्रमणमा किनेका एशियाली गुडियाहरूको संग्रह पनि राखिएको छ ।

रोमियो काह्लोले भान्छामा फुल र फलका रूखका भित्तेचित्र बीचमा बसेर खाजा खाएको सम्झना गरिन्। यी चित्रहरू फ्रिडाले बगैँचामा पाइने बिरुवाबाट प्रेरित भएर बनाएकी थिइन्। भान्छाको आधुनिकीकरण गर्दा यी चित्रहरू ढाकिएका थिए, जसले अनौपचारिक रूपमा तिनलाई सुरक्षित राख्यो। संरक्षणपछि अहिले तिनीहरू पूर्ण रूपमै देख्न सकिन्छ।

भित्तेचित्रमा एउटा शिलालेख छः ’द इन अफ द स्प्यारोज’ । यो स्पेनी शब्द नबोलाई आएका पाहुना र भँगेराहरू बीचको शब्दखेल हो । ‘जो कोही आए पनि, चाहे बोलाइएका वा नभएका, यसै टेबलमा ठाउँ पाउँथे,’ गार्सियाले भने । यहाँ आउने अवलोकनकर्ताले फ्रिडाका पिताको फोटोग्राफी स्टुडियो पनि हेर्न सक्छन् । यहाँ एउटा इन्टरएक्टिभ क्यामेराले कालो–सेतो तस्बिर खिच्छ र कागजमा कसरी विकसित गरिन्थ्यो भन्ने देखाउँछ ।

संग्रहालयमा युवा गुइलेर्मो काह्लोका तस्वीरहरू देख्न पाइन्छ । उनी कसरी जर्मनीबाट मेक्सिको आए भन्ने कथासमेत भेटिन्छ। उनले पहिलो विवाह, दुई छोरी र फ्रिडाकी आमा मातिल्दे काल्डेरोनलाई भेटेको विवरण पनि राखिएको छ । गुइलेर्मो मेक्सिकन राष्ट्रपति पोरफिरियो दिआजका आधिकारिक फोटोग्राफर समेत थिए । 

फ्रिडाको जवानी अवस्थामा फ्रिडाले थुप्रै शल्यक्रिया सहनु परेको थियो। त्यो बेला उनको हेरचाह गर्ने उनकी कान्छी बहिनी क्रिस्टिना । ‘उनले बहिनीलाई आफ्नो हृदयको अर्को आधा भन्थिन्,’ गार्सियाले बताए। क्रिस्टिनाले एकल आमाहरूलाई सहयोग गर्न च्यारिटी संस्था स्थापना गरेकी थिइन्। ‘हरेक शनिबार, यहाँको गेट खोलिन्थ्यो र पाँच सयभन्दा बढी एकल महिलालाई आधारभूत खाद्य सामग्री वितरण गरिन्थ्यो,’ रोमियो काह्लो सम्झन्छिन्।

संग्रहालयले फ्रिडाको आमासँगको सम्बन्धलाई पनि उजागर गर्छ, जुन प्रायः उनका पिताले छायामा पारेका थिए। ‘फ्रिडाका बुवाआमाको सम्बन्ध निकै नजिकको थियो,’ रोमियोले भनिन्। उनका अनुसार, फ्रिडाकी आमा मातिल्दे कपालमा फूल लगाउने गर्थिन् । त्यसैलाई फ्रिडाले निरन्तरता दिएकी थिइन् । पछि फ्रिडाको पहिचान नै कपालमा फूल लगाउने चित्रकारका रूपमा जोडियो ।

परिवारले यो घर रातो रङमा रंगाउने गर्थ्यो । त्यसैले अहिले पनि यो घरलाई रातो रङमै राखिँदै आएको छ किनभने यो रङ ‘काह्लो परिवारको हृदय’को प्रतीक हो । संग्रहालयमा परिवारका बीच त्यो बेला लेखिएका चिठ्ठीहरू पनि राखिएको छ । फ्रिडाले मेक्सिकन गुलाबी लिपस्टिकको चुम्बन गरी पठाएका चिठीहरू पनि संग्रहित छन् । ‘यी पत्रहरूले संग्रहालयमा देखाइने अनेकौं घटनाक्रम लेख्न मार्गनिर्देशन दिएका छन्,’ क्युरेटर एड्रिआना मिरान्डा भन्छिन् ।

पर्यटकहरूले सुन्दर कढाइ भएका (एम्ब्रोएडरी) लुगा र प्रि–हिस्पानिक गहनाहरू पनि देख्न सक्छन् । ती लुगा फ्रिडाले प्रायः तस्बिरमा लगाएको देख्न सकिन्थ्यो । स्नानगृह अझै पनि मौलिक अवस्थामा छ, जसले फ्रिडाको सन् १९३८ को चित्र ह्वाट द वाटर गेम मीलाई सम्झाउँछ । संग्रहालय मेक्सिको सिटीको कोयोआकानस्थित कार्मेन गल्लीको आगुएयो ५४ मा अवस्थित छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्