काठमाडौं, १० असोज - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरेको ‘सुपथ मूल्य पसल’मा आम सर्वसाधारणको घुइचो लागेको छ । उपत्यकासहित देशका अधिकांश जिल्लामा खाद्यले सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ ।
मूल्यवृद्धि र अनिश्चित बजार परिस्थितिका कारण व्यापारीहरूबाट ठगिने जोखिम हुने भएकाले त्यसबाट राहत दिन हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । जसबाट उपभोक्तालाई महँगो मूल्य तिरेर सामान किन्नुपर्ने बाध्यताबाट बच्न सजिलो भएको छ ।
राहत दिने उद्देश्य
प्रदेशिक कार्यालय प्रमुख धर्म कुमारी राजबंशीका अनुसार, सुपथ मूल्य पसलको मुख्य उद्देश्य चाडपर्वमा सहज मूल्यमा खाद्यान्न उपलब्ध गराउनु हो । ‘चाडपर्वमा कतिपय व्यापारीले मूल्य अस्वाभाविक रूपमा बढाउने गर्छन् । त्यसलाई सन्तुलनमा ल्याउँदै उपभोक्तालाई राहत दिने हाम्रो उद्देश्य हो,’ राजबंशीले बताइन् ।
यस वर्ष सुपथ मूल्य पसलमार्फत ५३ प्रकारका खाद्य तथा उपभोग्य वस्तु बिक्री भइरहेको छ । चामलमा प्रति किलो पाँच रुपैयाँ, तेलमा सात रुपैयाँ, मसालामा १० रुपैयाँ र रैथाने बालीमा १० रुपैयाँसम्म छुट दिइएको कम्पनीले जनाएको छ ।
उपभोक्ताको विश्वास बढ्दै
भाटभटेनीलगायत ठूला मार्टहरू पूर्ण रूपमा सञ्चालनमा नआएकाले उपभोक्ताको आकर्षण यस वर्ष सुपथ मूल्य पसलतर्फ बढेको राजबंशीले बताइन् । ‘बाहिरी बजारभन्दा यहाँ उपभोक्ताले बढी विश्वास गरेका छन् । दैनिक भीड पनि बढिरहेको छ,’ उनले भनिन् । कम्पनीका अनुसार अहिले सम्म ३३ हजार मेट्रिक टनभन्दा बढी खाद्यान्न भण्डारण गरिएको छ र अभाव देखिएको छैन ।
अनलाइन सेवा र विस्तार योजना
सुपथ मूल्य पसललाई अझ प्रभावकारी बनाउन अनलाइन पोर्टल र मोबाइल एपमार्फत खरिद गर्न सकिने सुविधा सुरु गरिएको छ । पाँच हजार रुपैयाँभन्दा बढीको खरिदमा निःशुल्क होम डेलिभरी उपलब्ध छ । हाल थापाथली, रामशाहपथ, नख्खु र दक्षिणकालीमा पसल सञ्चालन भइरहेका छन् भने, गोदावरीमा नयाँ शाखा सुरु भइसकेको छ । तिहारसम्म चाँगुनारायण र रसुवामा समेत पसल विस्तार गर्ने योजना रहेको उनले बताइन् ।
उपभोक्ताको अनुभव
सुपथ मूल्य पसलमा किनमेल गर्न आएका तूरंगबहादुर शाक्यले दैनिक आवश्यक वस्तु सहजै पाएको अनुभव सुनाए । ‘बाहिर बजारमा दाल १७० पर्छ भने यहाँ १६३ मात्रै छ । यस्तो पसलले दैनिक खर्चमा ठूलो राहत दिन्छ, वर्षभरि नै सञ्चालन हुनुपर्छ,’ उनले भने ।
त्यस्तै, उपभोक्ता कल्पना थापाले खाद्यको चामल सस्तो मात्र नभई स्वादिष्ट पनि भएको उल्लेख गर्दै भनिन्, ‘भीड व्यवस्थित छ, प्रोडक्टका विकल्प प्रशस्त छन् । यस्तो सुविधा वर्षभर भए गरीब वर्गलाई अझ सजिलो हुन्छ ।’
चाडपर्वको भीडभाडमा उपभोक्ता महँगीको चपेटामा पर्ने गरेको पाइन्छ । तर, यस वर्षको सुपथ मूल्य पसलले मूल्य सन्तुलन गर्दै उपभोक्तालाई राहत दिन सफल भएको छ । खाद्यले विस्तार गरेको अनलाइन सेवा र गुणस्तरमैत्री वितरणले उपभोक्ताको विश्वास थप मजबुत बनाएको छ । उपभोक्ताले चाहेजस्तै, यस्तो पहल वर्षभर निरन्तर सञ्चालन भए अझ प्रभावकारी हुनेछ ।