नेभिगेशन
नेपाल

कालीगण्डकी दोहन : मध्यरातमा बालुवा झिकिन्छ, प्रहरी–प्रशासन मौन

२७ साउन, गलकोट (बागलुङ) । बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधानलाई लत्याउँदै असारदेखि बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदी भइरहेको पाइएको छ । 

कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा क्रसर व्यवसायीले राती–राती बालुवा निकाल्ने गरेका छन् । गत शनिबार पनि राति ९ बजे सहस्रधारा क्षेत्रको भाटेखोला बगरमा कालीगण्डकीको दोहोन भइरहको थियो । एउटा स्काभेटरले कालीगण्डकीबाट बालुवा निकालिरहेको थियो भने पाँचवटा ट्रिपरले खोलाबाट झिकिएको बालुवा ओसार्दै थिए । रातारात खोलाबाट निकालेको बालुवा नदी छेउका ठाउँठाउँमा भण्डारण गरिएको देख्न सकिन्छ ।

बर्खाको समयमा उर्लेको कालीगण्डकीले ल्याउने बालुवा अबैद्ध रूपमा संकलन गरी हिउँदभरी उपभोक्तालाई चर्को मूल्यमा बिक्री हुने गरेको स्थानीय बताउँछन् । बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र भाटेखोला–१३ कालाखोला बगरलगायतका स्थानमा नदीजन्य पदार्थ दोहन भइरहेको कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरी बताउँछन् । अवैध दोहन रोक्न स्थानीय सरकारले कडा कदम चाल्नुपर्ने उनको माग छ ।

म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने कालीगण्डकी दोहोनले शालग्राम शिलासमेत संकटमा परेको उनी बताउँछन् । नदी बग्ने पर्वत खण्डमा नदीजन्य पदार्थको अधिक दोहोन भइरहेको छ भने बागलुङतर्फको सहस्रधारा पारीको भाटेखोला, खनियाघाट र दब्ल्याङ क्षेत्रमा पनि दोहन भइरहेको उनले जनाए । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानूनी व्यवस्था छ । मध्यबर्खाको यो समय नदीजन्य पदार्थ सञ्चित गर्ने बेला हो । अहिले कालीगण्डकी नदीको दोहन भइरहँदा स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समिति एकअर्कालाई दोषारोपण गरेर पन्छने गरेको गिरीले बताउँछन् । 

नदी दोहन रोक्न नागरिकस्तरबाट भइरहेका प्रयासलाई सरोकारवालले बेवास्ता गर्दै आएका छन् । प्रहरी प्रशासनको मिलेमतोबिना दोहन कसरी सम्भव होला र ? भन्ने स्थानीयको प्रश्न छ । प्रहरीको भनाइमा दोष स्थानीय तहकै हो ।

नदी दोहन रोक्न पटक–पटक नागरिकस्तरबाट भइरहेका प्रयासलाई सम्बन्धित निकायले बेवास्ता गरेको उनको भनाइ छ । प्रहरी प्रशासन र स्थानीय तहको मौनताका कारण दोहनले प्रश्रय पाइरहेको उनी बताउँछन् । “प्रहरी प्रशासनको मिलेमतोबिना दोहन सम्भव छैन । मालढुङ्गामा प्रहरी छ । नजिकै दोहान भइरहेको छ”, गिरीले भने । गण्डकी सभ्यता जोगाउन कालीगण्डकीलाई दोहनमुक्त बनाएर संरक्षणको सूचीमा राख्नुपर्ने उनले बताए । दोहनले प्रश्रय पाउँदा कालाखोला बगर कटान भइसकेको छ भने स्थानीय तहको राजस्व गुमिरहेको छ ।

नदीजन्य पदार्थको उत्खनन रोक्न प्रहरी परिचालन भए पनि दोहन रोक्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले स्वीकारे । स्थानीय तहले ठेक्का लगाउन नसक्ने, राजस्व गुम्ने डरलगायत कारणले दोहन नरोकिएको बताउँदै उनले नयाँ रणनीति बनाएर नदी दोहन भइरहेको स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने योजना बनाएको सुनाए ।

कालीगण्डकीको बीच भागबाट नदी दोहन भइरहँदासमेत बागलुङ र पर्वत जिल्लाका सरोकारवाला निकायले कुनै चासो नदिएको गिरीको आरोप छ । ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार नदी तथा खोला किनारबाट ५०० मिटर टाढा मात्रै ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्न पाइने व्यवस्था भए पनि नदीको बीच भागबाटै दोहन भइरहेको उनी बताउँछन् ।

सभ्यताको सूचक मानिने कालीगण्डकी नदी नासिनु मानव सभ्यता नासिनु सरह भएको जनाउँदै उनले पारिस्तिथिक प्रणाली खल्बलाउने र प्राकृतिक सम्पदा नास्ने अधिकार कसैलाई नभएको जिकिर गरे । नियमविपरीत नदी दोहन जारी राख्दा बागलुङ नगरपालिका–१ स्थित माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घर बाढीको उच्च जोखिममा पर्न थालेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्