काठमाडौंमा सार्वजनिक सवारीसाधनमा हुने अत्यधिक भीडभाडको नियमन र नियन्त्रण हुनुपर्ने देखिन्छ । दैनिक यात्रुहरू बाध्य भएर भेडाबाख्राझैं बस, माइक्रोबस र टेम्पोमा कोचिनु परेको छ । सवारीसाधनको संख्या अपर्याप्त छ, भाडा महँगो छ र मानिसहरूलाई आफ्नो कर्म थालो विद्यालय वा अन्य काममा छिटो पुग्नुपर्ने हुन्छ । यसले नागरिकलाई आफ्नो सुरक्षा त्यागेर यात्रा गर्न बाध्य बनाएको छ । यसबाहेक, केही यातायात सञ्चालकहरू नाफाको लोभमा सवारीसाधनमा बढी यात्रु बोक्ने गरेको छन । जसले यात्रुलाई जोखिममा पारेको छ ।
प्रभावकारी नीति र पूर्वाधारको अभावका कारण काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणाली अत्यन्तै विभाजित छ । यहाँ अनेकौं सञ्चालक भए तापनि कुनै केन्द्रीय संयोजन छैन । यस विभाजनले अनियमित तालिका तथा पहुँचको समस्या ल्याउँछ, जसका कारण यात्रुहरू हरेक पटक भीडमा यात्रा गर्न बाध्य छन् ।
यद्यपि प्रस्तावित काठमाडौं मेट्रो परियोजना आशाजनक देखिन्छ तर यसमा ठूला चुनौतीहरू छन् । करिब १९२.५ किलोमिटर लम्बाइको यो रेल योजनाले उपत्यकाका महत्वपूर्ण क्षेत्रहरूलाई जोडेर यातायात र प्रदूषण कम गर्ने उद्देश्य राखेको छ । तर, राजनीतिक अस्थिरता, सरकारी निकायबीचको असमन्वयता र वित्तीय चुनौतीका कारण यो परियोजना लामो समयदेखि ढिलाइमा परेको छ ।
फलस्वरूप, मेट्रो योजना अहिले उपत्यकावासीहरूको सपना मात्र बनेको छ । भीडभाड सबैका लागि अत्यन्तै असुरक्षित हो । क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको सम्भावना बढ्छ र रोगहरू फैलिने जोखिम पनि हुन्छ । त्यसमाथि, यसले हाम्रो सार्वजनिक यातायात प्रणालीलाई यात्रुको सुरक्षा, कार्यक्षमता र मर्यादाभन्दा बढी नाफालाई प्राथमिकता दिने प्रणालीका रूपमा प्रस्तुत गरेको छ ।

यस समस्याको समाधानका लागि सरकारले व्यस्त रुटमा सार्वजनिक सवारीसाधनको संख्या बढाउनुपर्छ, सिण्डिकेट प्रणालीलाई अन्त्य गरी सार्वजनिक यातायातलाई सरकारी व्यवस्थापनअन्तर्गत ल्याउँदा कार्यक्षमता बढ्नेछ, र यात्रुको सुरक्षालाई नाफाभन्दा प्राथमिकता दिने व्यवस्था लागू हुनेछ ।
साथै, सरकारले यात्रुहरूलाई आफ्नो सुरक्षा अधिकारबारे सचेत पार्ने जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ, जसले उनीहरूलाई समस्या परेमा रिपोर्ट गर्ने हिम्मत दिन्छ । सरकारको पहलमा केन्द्रीय तालिका र टिकट प्रणाली लागू भएमा व्यस्त समयमा हुने अव्यवस्था कम हुनेछ र यात्रुहरूका लागि यात्रा व्यवस्थित र सजिलो हुनेछ ।
साथै, मोबाइल एपमार्फत सवारीको आगमन समय र त्यसमा रहेका यात्रुको संख्या थाहा हुने व्यवस्था गरिएमा यात्रुहरूले भीड भएको सवारी छाडेर अर्काे विकलप रोज्न सक्ने छन् ।
सुरक्षित, भरपर्दाे र सम्मानजनक सार्वजनिक यातायात प्रत्येक नागरिकको आधारभूत अधिकार हो । यस समस्यालाई बेवास्ता गर्नु भनेको केवल नागरिकको जीवनलाई खतरामा पार्नु हो, शहरी विकास र जनविश्वासलाई पनि कमजोर बनाउनु हो । सम्बन्धित निकायले यो समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न तत्काल कदम चालोस् ।
- मिमांसक नेपाल