काठमाडौं । अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडक छ लेनमा विस्तार गर्ने कार्य ढिलो हुँदा दशैंको मुखमा सो सडक प्रयोग गर्ने यात्रुहरू धूलो, हिलो र जामको सास्तीमा परेका छन् । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक खण्ड दुई भागमा विभाजन गरी २०७९ पुस २४ बाट ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको भए पनि कार्य प्रगति अत्यन्त सुस्त देखिएको छ ।
सडक विस्तारका लागि सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर खण्डका लागि तीन अर्ब ८८ करोड ९३ लाख र साँगादेखि धुलिखेलसम्मको ८.४ किलोमिटर खण्डका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो ।
तर, आयोजना कार्यालयका अनुसार बजेट अभाव र भौगोलिक जटिलता विस्तार कार्य ढिलो हुनुका मुख्य कारण बनेका छन् । आयोजनाले यो खण्डमा मुख्य सडकसहित सर्भिस लेन पनि निर्माण गर्ने योजना ल्याए पनि कतिपय स्थानमा सर्भिस लेन निर्माण नै असम्भव देखिएको छ ।
विशेषगरी साँगाको करिब डेढदेखि दुई किलोमिटर क्षेत्र भूगोल कमजोर भएकाले यहाँ सर्भिस लेनको विकल्पमा मुख्य लेन मात्रै बनाइने र सुरुङ मार्गको योजना तत्कालका लागि रोकिएको छ ।
त्यस्तै, सडक विस्तारका क्रममा आवश्यक पर्ने १७ रोपनी जग्गाको मुआब्जा वितरणमा करिब एक अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै, विस्तारसँगै नयाँ पुलहरूको आवश्यकता पनि देखिएको छ, जसमा तीनवटा २०–२० मिटरका पुल निर्माण गर्न झन्डै एक अर्ब रुपैयाँ खर्च लाग्ने देखाइएको छ ।
वि.सं. २०१७ मा निर्माण गरिएको यो राजमार्गमा सडकको दायाँबायाँ २५–२५ गज अर्थात् २२.८६ मिटर क्षेत्र छुट्याइएको थियो । त्यसपछि वि.सं. २०२१ मा सरकारद्वारा कानुनमार्फत यही मापदण्डलाई यथावत् राखिएको हो । त्यसैले सडकको दायरा विस्तार गर्न सरकारले थप कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था देखिएको छ ।
यो राजमार्ग संघीय राजधानी काठमाडौंलाई कोशी र मधेस प्रदेशसँग मात्र नभई मध्यपहाडी राजमार्ग हुँदै पूर्वी नेपालसँग जोड्ने मुख्य मार्ग पनि हो । अहिले यो सडक खण्डमा दैनिक हजारौं सवारी साधन गुड्ने गरेका छन् । दशैंको समयमा यात्रुको चाप दोब्बर हुने हुँदा अहिलेको सडक अवस्था यात्रुका लागि झनै कष्टप्रद बनेको छ । लगातारको धूलो, पानी पर्दा हिलो र ट्राफिक जामका कारण यात्रु तथा स्थानीयवासी असन्तुष्ट बनेका छन् ।
यो विस्तार आयोजना ढिलाइ हुनुमा बजेट अभाव, डिजाइनमा परिवर्तन, भूगोलीय जटिलता र निर्माण कम्पनीको सुस्त कार्यशैलीले भूमिका खेलेको देखिन्छ । यदि समयमै निर्माण कार्य सम्पन्न गर्न सकिएन भने आगामी वर्षहरूमा अझ ठूलो जनसंख्या र सवारी चाप झेल्नुपर्नेछ । यसको प्रत्यक्ष असर राष्ट्रिय अर्थतन्त्र, पर्यटन र नागरिक सुरक्षामासमेत पर्ने देखिन्छ ।