नेभिगेशन
प्रदेश

चाडपर्वले बुटवल बजारमा चहलपहल तर व्यापार मन्दीमा

बुटवल, ११ असोज - दशैं–तिहार नजिकिएसँगै बुटवल बजारमा चहलपहल त बढेको छ, तर व्यापार भने अपेक्षितरूपमा उकासिन सकेको छैन । बजारमा उपभोक्ताको भीड देखिए पनि व्यापारीहरू भने ‘हेर्ने धेरै, किन्ने थोरै’ को भीड भएको गुनासो गरिरहेका छन् ।

रुपन्देहीको प्रमुख व्यापारिक केन्द्र बुटवल बजार चाडपर्वमा अझ बढी भीडभाड हुने स्थल हो । पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रोल्पा, प्यूठान, पर्वत लगायतका जिल्लाका उपभोक्ताले चाडपर्वको सामान किनमेलका लागि बुटवल बजार रोज्ने गर्छन् । तर, व्यापारीहरूका अनुसार यसपालिको दशैं–तिहारमा व्यापार सुस्त रहेको छ ।

जेनजी आन्दोलनपछि बजार नियन्त्रणका संरचना भत्किएर थला परेपछि बजारमा मूल्य नियन्त्रण नभएको व्यापारीहरूको गुनासो छ । बजार अनुगमन गर्ने निकायहरूको सक्रियता घटेकाले व्यापारीहरूले ‘कुहिरोको काग’ झैँ व्यापार गरिरहेका छन् ।

व्यापारी केशव सापकोटा भन्छन्, ‘मानिसको चहलपहल त देखिन्छ, तर व्यापार पहिले जस्तो छैन । किनमेल गर्नेभन्दा घुम्ने बढी छन् ।’ साना व्यापारीहरू पनि यही समस्याबाट गुज्रिरहेका छन् । व्यापारी सुनिता दाहालको भनाइ छ, ‘सामानको मुल्य बढेको छ । ग्राहकले पनि चाडपर्वमा नचाहेर पनि महँगोमा सामान किन्नुपरेको छ । व्यापारमा चहलपहल देखिए पनि बिक्री त्यो अनुसार छैन ।’ 

बजार अनुगमन नहुँदा मूल्य अस्वाभाविक रूपमा बढेको उपभोक्ताहरू बताउँछन् । उपभोक्ता भूपाल शर्मा भन्छन्, ‘मन पर्ने सामान भए पनि महँगो भएर किन्न गाह्रो छ । मुल्य हेरेर नकिनी सुख छैन, चाडपर्व भएकोले बाध्यतामा किनिरहेका छौँ ।’

बुटवल मात्र होइन, जिल्लाका अन्य साना बजारहरूमा समेत चाडपर्व नजिकिएसँगै मूल्यवृद्धिको असर समान रूपमा परेको छ । अनुगमन गर्ने सरकारी निकायको कार्यालय नै आगजनीपछि नचलेको हुँदा कालोबजारी तथा कृत्रिम मूल्यवृद्धि हुने अवस्था देखिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्