काठमाडौं, ११ असोज - बुटवल पावर कम्पनी (बिपिसी) ले ६० मेगावाटको खिम्ती–१ जलविद्युत् केन्द्रको स्वामित्व लिने भएको छ । बिपिसीले खिम्ती–१ को प्रवर्द्धक हिमाल पावर लिमिटेडको सम्पूर्ण शेयर खरिद गरी स्वामित्व लिने भएको हो ।
बिपिसीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले हिमाल पावरको कुल एक करोड ७६ लाख ४१ हजार ४३९ कित्ता शेयर खरिद गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिपिसीले हिमाल पावरमा शेयर स्वामित्व रहेका स्टाटक्राफ्ट होल्डिङ सिंगापुर प्रालि (सिंगापुर)को नाममा रहेको एक करोड ६८ हजार १७६ कित्ता तथा इभिनी एएस (नर्वे) को नाममा रहेको ४५ लाख ९४ हजार ६११ कित्ता शेयर खरिद गरी खिम्तीको स्वामित्व लिनेछ ।
खिम्तीमा भएको स्टाटक्राफ्टको शेयर स्वामित्व ५७ प्रतिशत हो भने इभिनीको २६ प्रतिशत हो । खिम्तीमा बिपिसीको पनि १७ प्रतिशत शेयर स्वामित्व छ ।
स्टाटक्राफ्ट र इभिनीले खिम्तीमा रहेको आफ्नो शेयर स्वामित्व बिपिसीलाई बिक्री गर्ने प्रस्ताव गरेपछि नै सञ्चालक समितिबाट खरिद गर्ने निर्णय भएको श्रेष्ठले बताए । बिपिसी पब्लिक कम्पनी भएकाले सञ्चालक समितिबाट खिम्तीको सम्पूर्ण स्वामित्व लिन भएको निर्णयबारे नेपाल स्टक एक्सचेन्सलाई पनि जानकारी गराएको उनले बताए ।
‘बिपिसी नेप्सेमा सूचीकृत कम्पनी भएकाले हामीले सञ्चालक समितिबाट भएको निर्णयपछि औपचारिक पत्र बढाएका छौं,’ उनले भने, ‘अब सम्पूर्ण प्रक्रिया पूरा भएपछि खिम्तीको सम्पूर्ण स्वामित्व कानूनी रूमा बिपिसीमा आउनेछ ।’
अहिले खिम्तीको स्वामित्व लिने निर्णय भएको बताएका श्रेष्ठले कति पैसा तिरेर शेयर खरिद गर्न लागेको भन्नेबारे भने खुलाएनन् । खिम्तीको शेयर खरिद–बिक्रीको नियामकीय स्वीकृति प्राप्त गरी शेयर दाखिलाको प्रक्रिया सम्पन्न गरिने बिपिसीले नेप्सेलाई लेखेको पत्रमा जनाइएको छ ।
खिम्ती निजी लगानीमा बनेको पहिलो जलविद्युत केन्द्र हो । रामेछापको खिम्ती नदीमा बनेको यो जलविद्युत केन्द्रले सन् २००० देखि विद्युत् उत्पादन गर्दै आएको छ ।
यो नै नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भएको जलविद्युत् केन्द्र पनि हो । सञ्चालनमा आएको २५ वर्षको अवधिमा खिम्तीले ९ हजार गिगावाट घन्टाभन्दा बढी विद्युत् उत्पादन गरिसकेको छ ।